२३ बैशाख २०८१, आईतवार

कर्णालीमा दोहोरो अंकमा बढ्दै कोरोना सङ्क्रमित, १९८ पुग्यो

कर्णाली मुख्य समाचार समाचार
कर्णालीमा दोहोरो अंकमा बढ्दै कोरोना सङ्क्रमित, १९८ पुग्यो
3 Shares

सुर्खेत । कर्णालीमा दैनिक दोहोरो अंकमा कोरोना सङ्क्रमितहरु बढ्दै गएका छन् । जेठ ५ गतेदेखि कर्णालीमा कोरोना सङ्क्रमित पुष्टि भएकोसँगै जेठ १९ गते सोमवारसम्म बढेर १९८ जना पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला तथा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमाधम भइरहेको पिसिआर परीक्षणमा दैनिक दोहोरो अंकमा कोरोना सङ्क्रमितहरु बढ्दै गएका छन् ।

आइतवारसम्म १२३ जनामा कोरोना पुष्टि भएकोमा सोमवार विहान ११ बजेसम्म नयाँ ७५ जना थपिएपछि कूल १९८ जना पुगेको हो । सामाजिक विकास मन्त्रालयले प्रत्येक दिन जारी गर्ने सूचनामा दोहोरो अंकको दरमा कोरोना सङ्क्रमित बढ्दै गएको छ ।

सोमवार विहान ११ बजे मन्त्रालयले प्रकाशित गरेको सूचनामा नयाँ ७५ जना सङ्क्रमित थपिएका छन् । सुर्खेतको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जना र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखमा थप ४१ जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि जुम्लामा १८ जनामा कोरोना पुष्टि भएको छ । दुई प्रहरीमा पनि कोरोना पुष्टि भएको जनाइएको छ । जुम्लाको हिमा गाउँपालिकाका आठ र सिंजा गाउँपालिकाका नौ जनामा संक्रमण देखिएको छ ।

यसैगरी सल्यानमा १० र सुर्खेतमा थप पाँच जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोमवारदेखि कर्णालीको जुम्लामा पनि सङ्क्रमण फैलिएको छ । हुम्ला, डोल्पा, जाजरकोट र रुकुमपश्चिममा भने कोरोना सङ्क्रमण देखिएको छैन ।

सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा कूल ८९ जना, सल्यानमा ३५ जना, सुर्खेतमा ३४ जना, जुम्लामा १९ जना, कालीकोटमा १८ जना, मुगुमा एक जना र बाजुरा तथा बझाङका गरी दुई जना गरी कूल १९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक रहेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap