१४ बैशाख २०८१, शुक्रबार

बन्दाबन्दीमा पनि धमाधम पदमार्गको काम

कर्णाली मुख्य समाचार समाचार
बन्दाबन्दीमा पनि धमाधम पदमार्गको काम
0 Shares

सुर्खेत । कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै सरकारले दुई महिनादेखि बन्दाबन्दी लगाएको छ । तर यही बन्दाबन्दीको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ मा पदमार्ग निर्माणको काम धमाधम भइरहेको छ ।

वडा नं. ४ को खोर्केदेखि वीरेन्द्रनगर १४ को गढीसम्मको कूल करिव चार किमी पदमार्गको पहिलो चरणको काम धमाधम भइरहेको छ । पहिलो चरणमा करिव ८०० मिटर लामो सिंढीसहितको पदमार्ग बन्नेछ । कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ६८ लाख र स्थानीयको श्रमदान १७ लाख गरी कूल ८५ लाखको लागतमा तयार हुनेछ । डिभिजन बन कार्यालयमार्फत हुने उक्त पदमार्गको प्राविधिक काम वीरेन्द्रनगर नगरपालिकाले गर्दैछ ।

पदमार्ग निर्माण समितिका सचिव अमरबहादुर कार्कीले सुर्खेतको पुरानो सदरमुकाम गढी पुग्ने छोटो बाटोलाई पैदलमार्ग बनाउन लागिएको बताउनुभयो । दैलेख जाने नयाँ बाटो बनेपछि सो बाटो ओझेलमा परेको थियो । जेठको पहिलो सातादेखि पदमार्ग बनाउने काम सुरु भइसकेको छ ।

पदमार्ग निर्माणको कामको उद्योग पर्यटन वन तथा वातारण मन्त्री नन्दसिंह बुढा, पूर्व मन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेललगायतले अवलोकन गर्नुभएको छ । अहिलेसम्म गरेको कामप्रति सन्तुष्ट भएको भन्दै उहाँहरुले पदमार्गलाई पूर्णता दिन बजेटको कमी नहुने आश्वासन दिनुभयो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले दोस्रो चरणको कामको लागि बजेट प्राप्तिको प्रक्रिया सुरु गर्न सुझाव दिनुभयो । उहाँले वडातहबाट प्रक्रिया पूरा गरेर दोस्रो चरणको कामको लागि मन्त्रालयमा कागजात पेश गर्न भन्नुभयो ।

पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य यामलाल कँडेलले बन्दाबन्दीमा पनि सामाजिक दुरी अपनाएर पदमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पदमार्गलाई तीन चरणमा विभाजन गरी सम्पन्न गर्न निर्माण समितिलाई सुझाव दिनुभयो ।

जिल्लाको पुरानो बाटोलाई पदमार्गको रुपमा विकास गरी पर्यटन, स्वास्थ्यका दृष्टिले टेवा पुग्ने विश्वास उहाँको छ । उक्त पदमार्ग पूरा गर्न करिव चार करोड लाग्ने अनुमान गरिएको छ । एक महिनाभित्र पदमार्ग सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

६० जनालाई रोजगारी

पदमार्ग निर्माणमा वडा नं. ४ का ६० जनाले रोजगारी पाएका छन् । सीप अनुसारको ज्याला पाएका उनीहरुलाई तीन वटा छुट्टाछुट्टै समयमा विभाजन गरी काम लगाइएको छ । मजदुरहरुले मास्क लगाएका छन्भने एक एक मीटरको सामाजिक दुरी अपनाएर काम गरिरहेको निर्माण समितिका सचिव अमरबहादुर कार्कीले जनाउनुभयो ।

प्रदेशसभा सदस्य यामलाल कँडेलले बन्दाबन्दीको अवधिमा राहतको सट्टा रोजगार दिएमा विकास निर्माणका साथै मजदुरहरुको कल्याण हुने बताउनुभयो । बन्दाबन्दीमा पनि पदमार्ग निर्माणको काम भइरहेकोमा यसबाट पाठ लिनुपर्ने उहाँको भनाइ छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap