१५ बैशाख २०८१, शनिबार

चार वर्षमा तीन सय सुत्केरीको उद्धार

अर्थ कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
चार वर्षमा तीन सय सुत्केरीको उद्धार
0 Shares

सुर्खेत ।

भौगोलिक कठिनाईका कारण स्वास्थ्य संस्थाहरुमा सहज पहुँच नपुग्न नसकेका कर्णालीका गर्भवती तथा सुत्केरी महिलाका लागि सरकारले संचालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम निकै प्रभावकारी सावित भएको छ । गर्भवती तथा सुत्केरीहरुको स्वास्थ्य अवस्था जोखिममा पुग्न थालेपछि तत्काल हेलिकप्टरबाट सुविधासम्पन्न अस्पतालमा उद्धार गरी ज्यान बचाउने गरिन्छ ।


२०७६ सालदेखि सुरु भएको यो कार्यक्रमबाट हालसम्म कर्णालीमा ३०५ जना सुत्केरीहरुको ज्यान बचेको छ । नेपाली सेनाको उत्तर पश्चिम पृतनाका अनुसार सुर्खेतमा रहेको सेनाको एयर बेसमा रहेको हेलिकप्टरबाट गर्भवती तथा सुत्केरीको ज्यानमा कुनै जटिलता आएको खबर पाएलगत्तै हेलिकप्टरबाट उद्धार गर्ने गरिन्छ । उत्तर पश्चिम पृतनाका महासेनानी सुवास खड्काले कार्यक्रम संचालन भएको २०७६ देखि हालसम्म ३०५ जना सुत्केरी तथा गर्भवतीको उद्धार गरी ज्यान बचेको बताउनुभयो । चालु आर्थिक वर्षको साउन यता मात्रै ३८ जना सुत्केरीको उद्धार भएको छ । धेरैजसोलाई सुर्खेतस्थित प्रादेशिक अस्पताल ल्याउने गरिएको छ ।
चालु आर्थिक वर्षमा सवैभन्दा धेरै डोल्पाबाट ११ जना सुत्केरीको उद्धार गरिएको छ । त्यसपछि बाजुराका नौ जना, कालीकोटका चार जना, जाजरकोटका तीन जना, हुम्ला, अछाम र रुकुम पश्चिमका दुई÷दुई जना तथा बझाङ र डोटीका एक÷एक जना सुत्केरीको उद्धार गरिएको जानकारी महासेनानी खड्काले दिनुभयो । भौगोलिक कठिनाई भएका कारण सुत्केरी तथा गर्भवतीको ज्यान जोखिममा परेपछि उनीहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गर्ने गरिन्छ । कर्णालीका लागि यो कार्यक्रम निकै प्रभावकारीसमेत भएको उहाँको भनाइ छ ।
यसैगरी प्रदेशमा भएका विपद्मा पनि नेपाली सेना खटिएर सर्वसाधारणसभाको ज्यान बचाउने काम गरेको छ । कर्णालीका विभिन्न जिल्लाका २१ ठाउँमा भएका आगलागीका घटनामा १९४ जना सेनाहरु खटिएर उद्धार गरेका छन् । यस्तै गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा एक हजार १४ जना सेना खटिएका थिए । पृतनाका महासेनानी सुवास खड्काले भूकम्प पछिको राहत, उद्धार र उपचारमा एक हजार १४ जना सेना खटिएको बताउनुभयो । सेनाले १०१ जनाको शव निकालेको, १५८ जना घाइतेहरुको उद्धार गरेको, ३३ जनालाई सेनाकै हेलिकप्टरबाट थप उपचारका लागि उद्धार गरेको, ५९ हजार ३८४ किलो राहत ढुवानी गरेको जानकारी उहाँले दिनुभयो ।
यस्तै दैलेख, बाँके, सुर्खेत र जुम्लामा सेनाले स्वास्थ्य शिविर संचालन गरी दुई हजार ९६ जना सर्वसाधारणलाई स्वास्थ्य सेवा दिएको जनाएको छभने रगत नपाएका सर्वसाधारणका लागि २९ जना सेनाले रक्तदान गरेर ज्यान बनाउन सघाएका छन् । साथै हुम्ला, कालीकोट, डोल्पा र मुगुमा हेलिप्याड निर्माण गरी सम्बन्धित स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको छ ।
उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी कृष्णदेव भट्टले कर्णालीमा नेपाली सेना उद्धार तथा राहत, प्रकृति संरक्षण, विकास निर्माणलगायतमा सक्रिय रहेको बताउनुभयो । उहाँले नेपाली सेनालाई संचारमाध्यमबाट निकै ठूलो सहयोग प्राप्त भएको स्मरण गर्दै यो सम्वन्ध अझ प्रगाढ बनाइने जनाउनुभयो ।
एकताका लागि दौड
यसैवीच उत्तर पश्चिम पृतनाले यही फागुन १२ गते प्रदेश राजधानी सुर्खेतमा एकताका लागि दौड प्रतियोगिताको आयोजना गर्दैछ । पाँच किलोमीटर, १० किलोमिटर र २१ किलोमीटरको हाफ म्याराथुन दौड प्रतियोगिताको आयोजना गर्न लागेको हो । कर्णालीको पहिचानका लागि लामो दौडको विकास गर्न, राष्ट्रिय एकताको भावना जागृत गराउन, खेलाडीहरुलाई हौसला प्रदान गर्न दौड प्रतियोगिताको आयोजना गर्न लागिएको उत्तर पश्चिम पृतनाका पृतनापति उपथरी भट्टले बताउनुभयो । यो दौड विगत तीन वर्षदेखि संचालन हुँदै आएको छ । दौडका विजेताहरुलाई पुरस्कृत गरिने जनाइएको छ । साथै सो अवसरमा नेपाली सेना सैन्य सामग्री तथा फोटो प्रदर्शनीसमेत गरिने जनाइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap