२८ बैशाख २०८१, शुक्रबार

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारमा मुआब्जा चुनौती

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारमा मुआब्जा चुनौती
66 Shares

सुर्खेत ।

गत बिहीवार कर्णाली प्रदेश सरकार र संघीय सरकारवीच सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्ने सम्झौता भएको छ । हालको धावनमार्गलाई कम्तीमा एक हजार पाँच सय मीटर बनाइने सम्झौतापत्रमा उल्लेख छ । अहिले धावनमार्गको लम्बाई एक हजार २५५ मीटर छ । थप २५० मीटर बढाउनका लागि जग्गा अधिग्रहण गर्नुपर्नेछ ।
दक्षिणतर्फ राजमार्ग भएकोले विस्तार असम्भव छ । उत्तरतर्फ विस्तार गर्दा निकै चुनौती छ । धेरैको घरजग्गा, विद्यालय पर्ने भएकोले त्यसको उचित मुआब्जा नपाएसम्म अधिग्रहण गर्न कठिनाइ छ । जसका कारण यदि मुआब्जा उचित भएन भने धावनमार्ग विस्तारको कार्यमा ढिलाइ हुने पक्का छ । तर प्रदेश तथा केन्द्र सरकारको योजना भएकोले सरकारले नै अग्रसर लिएमा असम्भव भने नभएको सम्बद्ध निकायहरु बताउँछन् ।
विमानस्थल रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले धावनमार्ग विस्तार गर्दा गरिने घरजग्गा, विद्यालयको मुआब्जा उचित हुनुपर्ने बताउनुभयो । उहाँले धावन मार्ग विस्तार गर्दा अमरज्योति माविलाई पनि स्थानान्तरण गर्नुपर्ने र धेरैको घरजग्गासमेत पर्ने भएकोले समयसापेक्ष मुआब्जा दिइनुपर्ने बताउनुहुन्छ । यदि मुआब्जा उचित भएन भने काममा ढिलाई हुने उहाँको भनाइ छ । सुर्खेतमा जग्गाको कारोबार मिटरमा भएको र मूल्य कठ्ठामा रहेकोले यसले समस्या निम्त्याउने हुँदा प्रदेश सरकार, संघीय सरकार, राजनीतिक दललगायत सवैले उचित मूल्यांकन गर्नुपर्ने उहाँको भनाइ छ ।
विमानस्थल विस्तार तथा स्तरोन्नतिको बारम्बार माग उठाउँदै आएको निजी क्षेत्रले पनि मुआब्जालाई सहजरुपमा सल्याउने होभने काम छिटो हुने जनाएको छ । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले सरकारको इच्छाशक्ति भए मुआब्जाको बिषय छिटै सल्टिने बताउनुभयो । उहाँले मुआब्जाका लागि करिव सात—आठ अर्ब र धावनमार्ग विस्तारमा पनि झण्डै उति नै लाग्ने एक प्रारम्भिक अनुमान गरिएको उल्लेख गर्नुभयो । यसमा मुआब्जा नै सवैभन्दा ठूलो चुनौती भएकोले निजी क्षेत्रले पनि समन्वय गर्न सक्ने उहाँको भनाइ छ ।
नेपाल नागरिक उडड्यन कार्यालय सुर्खेतले प्राविधिक अध्ययन गरेपछि सम्झौता गरेको भए राम्रो हुने बताएको छ । कार्यालय प्रमुख उमेशकुमार पन्थीले धावनमार्ग विस्तारको सम्झौताले काम हुनेमा ढुक्क भएको बताउँदै सम्झौता अघि प्राविधिक अध्ययन गरेको भए थप राम्रो हुने जनाउनुभयो । अहिले धावनमार्गको लम्बाई एक हजार २५५ मिटर भएकोले दक्षिण भन्दा उत्तरतर्फ नै विस्तार गर्नुपर्ने र त्यसका लागि कम्तीमा अढाई सयदेखि तीन सय मिटर थप्नुपर्ने बताउनुभयो । विमानस्थलको दायाँबायाँ तिरपनि करिव २५ मीटर थप गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले धावनमार्ग विस्तारभन्दा अगाडि यसको अध्ययन गर्नुपर्ने बताउँछन् । अहिलेको भन्दा ठूलो ७२ सिटे जहाज अवतरण गर्न, आकस्मिक उडान तथा अवतरण गर्न, पूर्ण क्षमताको भार बहन गर्न सक्छ कि सक्दैन भन्ने विषय ठूलो हुनेभएकोले सर्वप्रथम यसको अध्ययन गर्नुपर्ने सुझाव उहाँको छ । उत्तरतर्फ विस्तार गर्दा धेरै घरजग्गा, विद्यालय पर्ने भएकोले उनीहरुलाई उचित मुआब्जा दिएर काम थाल्नुपर्ने प्रमुख पन्थीले बताउनुभयो । सवैभन्दा पहिला प्राविधि टोली खटिएर अध्ययन गर्नुपर्ने र त्यसपछि अन्य विषयको निक्यौल हुने उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap