२२ बैशाख २०८१, शनिबार

पश्चिम सुर्खेतमा सडकको दुर्दशाः यात्रु, बिरामी सवैलाइ सास्ती

कर्णाली प्रदेश मुख्य समाचार समाचार
पश्चिम सुर्खेतमा सडकको दुर्दशाः यात्रु, बिरामी सवैलाइ सास्ती
0 Shares

सुर्खेत ।
पञ्चपुरी नगरपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र सालकोट पलैंटेका एम्बुलेन्स चालक लक्ष्मीप्रसाद कँडेलले गत विहीवार राती दमका एक विरामीलाई वीरेन्द्रनगर प्रदेश अस्पताल ल्याउनका लागि एम्बुलेन्स कुदाउनुभयो । बराहताल गाउँपालिकाको रेन्जरमारे डाँडा नजिक आउन लाग्दा एम्बुलेन्स हिलोमा फस्यो । करिव दुई घन्टासम्म प्रयास गर्दा राती ११ बजिसक्यो । तर एम्बुलेन्स सडकको हिलोबाट उत्रन सकेन ।
त्यतिबेला पंचपुरी विरामी पु¥याउन आएको अर्को एम्बुलेन्ससँग विरामी साटेर कँडेल पुन आफ्नै ठाउँ फर्कनुभयो भने उताबाट आएको एम्बुलेन्स ती दमका विरामीलाई लिएर प्रदेश अस्पताल आयो । बेलुका ६ बजेतिर पलैंटेबाट आउनुभएको विरामी सदरमुकामस्थित प्रदेश अस्पतालमा राती १२ बजे आउनुभयो । अरु बेला बढीमा दुई घन्टा लाग्ने सो बाटोमा अहिले कम्तीमा चार पाँच घन्टा लाग्ने गरेको छ ।
यस्तै गरी सोही स्थानका तिलकराम अधिकारी मोटरसाइकलमा करिव चार घन्टा लगाएर गाउँको घर पुग्नुभयो । अन्य बेला मोटरसाइकलमा बढीमा डेढ घन्टामा पुग्नुहुने उहाँ सडकको दुरावस्थाका कारण आजकल कम्तीमा चार घन्टा लगाएको बताउनुहुन्छ । बाटोको अवस्था विजोग छ, गाडी नै गुड्दैनन्, उहाँहरुको भनाइ छ ।
बराहतालको रेन्जरमारे डाँडाको दुई ठाउँ, व्युरेनीमा हरेक बर्ष बर्षा याममा यात्रुले निकै दुःख पाउने गरेका छन् । विरामी बोकेका एम्बुलेन्सहरु समेत फस्ने गरेपछि अरुको त कुरै छोडौं, एम्बुलेन्स चालक कँडेल बताउनुहुन्छ । विभिन्न ठाउँमा गरी करिव एक किमी सडकमा हिलो मात्रै छ ।
बड्डिचौरदेखि सुरु हुने सो बाटो कालोपत्रे हुने भनिएपनि अहिलेसम्म हुन सकेको छैन । गुटु बेनीघाट हुँदै दिपालयसम्म जोड्ने बाटो यही हो । यही बाटोलाई कालोपत्रे गर्छौं भनेर हरेक निर्वाचनमा मतदाताताहरुलाई नेताहरुले फकाइरहेका छन् तर जनता भने समयमै घर पुग्न पाउँदैनन् । अझैपनि हिंड्नुपर्ने बाध्यता छ । पंचपुरी नगरपालिकाको क्षेत्रभित्र पर्ने सडकका खाल्डाखुल्डी नगरपालिकाले मर्मत गरिसकेको छ । तर बराहताल गाउँपालिका क्षेत्रभित्र पर्ने सडकको अवस्था भने दयनीय छ । मर्मत सुधारका लागि गाउँपालिकाले अहिलेसम्म चासो नदिएको कँडेल बताउनुहुन्छ ।
तर यता गाउँपालिकाले भने मर्मतका लागि इष्टिमेट तयार भइ काम सुरु भइसकेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बाटो मर्मतका लागि करिव साढे ३ लाखको इष्टिमेट तयार भएको र सोमवारबारदेखि काम सुरु भइसकेको बताउनुभयो । उक्त सडकको मर्मतको काम प्रदेश सरकार वा संघले गर्ने हो कि भनेर आफूहरु पनि अन्यौलमा परेको तर बासिन्दाले बढी दुःख पाउन थालेपछि गाउँपालिकाले आफ्नै पहलमा बिग्रे भत्केका ठाउँमा मर्मत सम्भार गर्न लागेको उहाँको भनाइ छ । अवको एक साताभित्र मर्मतको काम सकिने र यात्रु तथा गाडीलाई कुनै समस्या नपर्ने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap