१६ बैशाख २०८१, आईतवार

लकडाउनको मौकामा विद्युत र खानेपानीमा चर्को महशुल

कर्णाली प्रदेश मुख्य समाचार समाचार
लकडाउनको मौकामा विद्युत र खानेपानीमा चर्को महशुल
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगर ३ का आशा नेपालीले साउनको महिना वत्ती नै नबालेको घरको विद्युत महसुल २६० रुपियाँ तिर्नुपर्ने । बत्ती नै नबाल्दा उहाँले असारमा १८० रुपियाँ र जेठमा १४० रुपियाँ तिर्नुभएको थियो । यसलाई स्वभाविक रुपमा लिएपनि साउनमा २६० रुपियाँ तिर्नुपर्दा उहाँ आक्रोशित हुनुभयो । ताल्चा लगाएको घरमा बत्ती नै नबाल्दा पनि २६० रुपियाँ लिएको विद्युत प्राधिकरणले लकडाउनको मौका छोपेर चर्को महसुल असुलेको आरोप लगाउनुभयो ।
वीरेन्द्रनगर ६ की रामकुमारी खत्रीले खानेपानीको महशुल मासिक एक हजारको हाराहारीमा तिर्दै आउनुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैतको दोस्रो सातादेखि लकडाउन गरेपनि उहाँले चैत, बैशाख, जेठ महिनाको महशुल तिरिरहनुभयो । तर, खानेपानी कार्यालयले भने, अहिले लकडाउन अवधिसहितको भन्दै ११ हजार रुपियाभन्दा बढी महशुल बुझाउन ताकेता गरेपछि उहाँले आक्रोश पोख्नुभएको छ । प्रत्येक महिना महसुल बुझाएको तर खानेपानी संस्थाले तीन महिनाको एकैपटक ११ हजार रुपियाँ बुझाउन ताकेदा गर्दा उहाँले आक्रोश पोख्नुभयो ।
वीरेन्द्रनगर ८ का दीर्घ रानाले पनि नियमति बुझाउने विद्युतको महशुलभन्दा असारमा बढी तिर्नुभयो । उहाँले विगतमा तीन महिनाको पाँच सय रुपियाँ महसुल तिर्ने गरेकोमा अहिले एकै महिनाको पाँच सय तिर्नुपर्ने भएपछि विद्युतले मनपरी गरेको आरोप लगाउनुभयो । उहाँले लकडाउनले गर्दा उपभोक्ताहरुलाई विद्युत र खानेपानीले लट्न लागेको टिप्पणी गर्नुभयो ।
हिजोआज विद्युत कार्यालय र खानेपानी कार्यालयमा महसुल बुझाउन जाने उपभोक्ताहरुले कार्यालयले लकडाउनको मौकामा उपभोक्ताहरुबाट चर्को महसुल असुलेको गुनासो गर्दै आएका छन् । महसुल बुझाउन जाँदा रकम नपुगेपछि उपभोक्ताहरु तनावमा समेत पर्ने गरेका छन् । उपभोक्ताहरुले किन बढी असुल गरिएको भन्ने कारणपनि सम्बन्धित कार्यालयहरुबाट पाउन सकेका छैनन् जसले गर्दा ती कार्यालयप्रति उपभोक्ताहरुको आक्रोश बढ्दै गएको छ । लकडाउन अवधिमा अनुमान गर्दै महशुल लिने र पछिल्लो समय मिटर रिडिङ गरेर नियमित रकमभन्दा दोब्बर तेब्बर तिर्न लगाउँदा उपभोक्ताहरु मर्कामा परेका छन् ।
सुर्खेतमा अहिले विद्युतका झण्डै ५० हजार उपभोक्ता छन्भने तीन वटा स्थायी काउण्टरबाट महशुल बुझाउँदै आएका छन् । यस्तै झण्डै १९ हजार बढी खानेपानीका ग्राहक छन् । खानेपानी संस्थामा आठ युनिटसम्मको न्यूनतम एक सय तिर्नुपर्छ भने त्यसभन्दा माथिको महशुलको दर बढाउँदै लगेको छ ।
विद्युत प्राधिकरण र खानेपानी कार्यालयले अघिल्लो तीन महिनाको भुक्तानीलाई आधार मान्दै लकडाउन अवधि चैत, बैशाख र जेठ महिनाको महशुल असुलेको छभने पछिल्लो समय मिटर रिडिङ गर्दै नियमति तिर्दै आएको महशुल भन्दा बढी तिर्न लगाएको छ । विद्युत प्राधिकरण सुर्खेतका प्रमुख टंकराज गिरीले कोरोनाको कारणले पहिले मिटिङ रिडिङ गर्न नसकिएकोले अहिले एकैपटक तिर्दा केही उतार चढाव भएको बताउनुहुन्छ । उहाँले पहिले अनुमान गरिएको युनिटको रकम र अहिले रिडिङ गरेको रकम जोडिँदा खपत रकम बढी देखिएको तर यसलाई समायोजन गरिने जानकारी दिनुभयो ।
यस्तै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पनि बढी लकडाउनको अवधिको खपतलाई तीनले भाग गरेर आएको महसुल उपभोक्ताबाट लिने गरेको जनाएको छ । संस्थाका कार्यालय प्रमुख डम्बर गौतमले चैत, बैशाख र जेठ महिनाको खपतलाई तीनले भाग गरेर आएको रकम संस्थाले लिएको बताउनुभयो । तर उपभोक्ताहरुले भने कार्यालयहरुले अनुमानको भरमा महसुल लिएको आरोप लगाएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap