१६ बैशाख २०८१, आईतवार

सुर्खेतका व्यापारीहरूद्वारा चरणवद्ध आन्दोलनको घोषणा

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
सुर्खेतका व्यापारीहरूद्वारा चरणवद्ध आन्दोलनको घोषणा
6 Shares

सुर्खेत ।
सुर्खेतका अटोमोबाइल व्यवसायी लक्ष्मण कँडेललाई सरकारले लकडाउन केही खुल्ला बनाएदेखि बैंकबाट लिएको ऋणको किस्ता तिर्न तारन्तार फोन आइरहेको छ । दैनिक २० देखि ३० पटकसम्म बैंकबाट फोन आइरहेको छ । सुर्खेत उद्योग बाणिज्य संघका महासचिवसमेत रहनुभएका कँडेलले भन्नुभयो, लकडाउनका कारण व्यवसाय ठप्प छ, बैंकले किस्ता तिर्न फोन हानिरहेको छ, यस्तो बेला कसरी तिर्ने ?
अर्का व्यवसायी हर्षविक्रम खड्काले व्यापार व्यवसाय ठप्प भएको बेला बैंकहरुले किस्ता तिर्न फोन गरिरहँदा तनाव झेल्नुपरेको गुनासो गर्नुभयो । उहाँले अरु बेला बैंकलाई समयमा किस्ता तिरिरहेपनि लकडाउनमा व्यवसाय व्यापार ठप्प हुँदा कसरी तिर्ने भन्ने चिन्ता लागेको बताउनुभयो । सुर्खेत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उहाँले व्यवसायीहरुलाई कम्तीमा पाँच÷छ महिनाको समय दिनुपर्ने माग गर्नुभयो ।
कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय नै ठप्प भएको बेला न्यूनतम मानवीयताको समेत ख्याल नगरी बैंकले व्याज र किस्ता बुझाउन बारम्बार दवाव दिनुले व्यवसायीहरु दुःखी भएको उहाँको भनाइ छ । उहाँले निजी क्षेत्रको मागहरुलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ । व्यवसायीहरुलाई परेको समस्यावारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग बाणिज्य संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेको छ ।
समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । जस अनुसार आज आइतवार दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाइ एक घन्टा धर्ना दिइनेछ । संयोजक बस्नेतले त्यसपछि थप अर्को चरणको आन्दोलन घोषणा गर्ने बताउनुभयो । सरकारले निजी क्षेत्रलाई राहतका प्याकेज दिनुपर्नेमा उल्टै निचोरेको आरोप लगाउँदै उहाँले व्यवसायीहरुको माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap