२१ बैशाख २०८१, शुक्रबार

बिहानको सिफ्टमा कार्यालयहरु सुनसान

कर्णाली प्रदेश मुख्य समाचार समाचार
बिहानको सिफ्टमा कार्यालयहरु सुनसान
0 Shares

सुर्खेत ।

सोमवार विहान करिव साढे ८ बजे सुर्खेतस्थित यातायात व्यवस्था कार्यालय पुग्दा सुनसान थियो । कार्यालय प्रमुखसहित अन्य दुई जना कर्मचारी भित्र कोठामा बस्नुभएको थियो तर बाहिर सेवाग्राही एक जना पनि थिएनन् । दैनिक सेवाग्राहीको अत्यधिक चाप हुने कार्यालय सुनसान थियो ।
कोरोना भाइरसबाट ठप्प रहेका सरकारी कार्यालयहरुलाई सरकारले असार १ गतेदेखि दुई सिफ्टमा संचालन गर्ने निर्णय ग¥यो । विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि साँझ ६ बजेसम्म कार्यालय खुल्ला गर्ने भनिएको छ । सेवाग्राहीको भीड बढी हुने भएपछि सरकारले दुई सिफ्टमा कार्यालय संचालन गरी सेवाग्राहीलाई सेवा दिने निर्णय गरेको हो ।
तर, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका सरकारी कार्यालयहरु विहानको सिफ्टमा सुनसान छन् । सेवाग्राही नै नआउने भएपछि कार्यालय साविक झैं १० बजेपछि मात्रै सेवाग्राहीहरु आउने गरेका छन् । सवैभन्दा बढी सेवाग्राहीको भीड हुने कार्यालयहरु मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालयलगायतहरु विहानको सिफ्टमा सुनसान छन् । यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख आनन्द चपाईले सरकारको निर्देशन अनुसार असार १ गतेदेखि विहान ८ बजेदेखि कार्यालय खुल्ला गरिएपनि सेवाग्राहीहरु नआएको बताउनुहुन्छ ।
विगतमा दैनिक सयौं सेवाग्राही आउने गरेको स्मरण गर्दै उहाँले विहानको सिफ्टमा सेवाग्राही नआउने र आए १० बजेपछि मात्रै आउने गरेको जानकारी दिनुभयो । सेवाग्राहीहरु नआउँदा कार्यालयहरुलाई पनि अफ्ठेरो परेको छ । कर्मचारी अभावको बेला दुई सिफ्टमा कार्यालय संचालन गर्दा कर्मचारीलाई सास्ती भएको छ । थोरै कर्मचारीले विहान ८ देखि बेलुका ६ बजेसम्म कार्यालय संचालन गर्दा समस्या बढेको निमित्त प्रमुख चपाईंको अनुभव छ । कार्यालय नजिक घर भएका कर्मचारीलाई विहानको सिफ्टमा बोलाएर काम गराइएको भन्दै उहाँले अरु कर्मचारीहरु साविकझैं १० बजे आउने गरेको उल्लेख गर्नुभयो ।
मालपोत कार्यालयमा आउने सेवाग्राहीको भीड पनि बिहानको सिफ्टमा कम छ । सेवाग्राही खाना खाएर १० बजे आउने भएकोले विहान ८ बजे नै नआएको हुनसक्ने सम्बन्धित कार्यालयहरुले जनाएका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहानको सिफ्टमा सेवाग्राहीहरु नै नआएको बताउनुहुन्छ । उहाँले दुई सिफ्टमै कार्यालय संचालन भएपनि बढी भीड हुने कार्यालयमा व्ययवहार मिलाएर काम गर्न भनिएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap