१० असार २०८१, आईतवार

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

वागमती समाचार
कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल
0 Shares

चितवन । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ ।

नेपाल सरकारले कोभिड–१९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल र यसको मातहतमा रहेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई तोकेको छ । भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा सन्तोष गुरुङका अनुसार एक जना सङ्क्रमितको डायलासिस अस्पतालले गरिरहेको छ ।

ती बिरामी हेटाैँडा उपमहानगरपालिका–५ का ३३ वर्षीय पुरुष हुन् । साउदीबाट फर्किएका उनको तेस्रो पटक आज भरतपुर अस्पतालमा डायलासिस गरिएको छ । गुरुङका अनुसार यसअघि असार १८ र १९ गते उनको भरतपुर अस्पतालमा डायलासिस गरिएको थियो । साउदीमा करिब २० पटक उनको डायलासिस भई सकेको उहाँले जानकारी दिनुभयो । अस्पतालले अन्य बिरामीका लागि दुई दिन डायलासिस नगर्ने गरी व्यवस्थापन मिलाएर डायलासिस गरिरहेको उहाँको भनाइ छ ।

बुधबार राति १२ बजेबाट डायलासिस कक्ष अन्य बिरामीका लागि बन्द गरिएको छ । ती बिरामीको डायलासिस गरिएपछि त्यहाँको पूर्णरुपमा निर्मलीकरण थालिएको छ । शुक्रबार बिहान ६ वजेबाट अन्य बिरामीको डायलासिस शुरु गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार डायलासिस गर्ने प्राविधिकहरुले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको निर्देशिकालाई पूर्णरुपमा पालना गरी उच्च सतर्कताका साथ काम गरिरहेका छन् ।

हाल अस्पतालमा हरेक साता, सातामा दुई पटक र महिनाको एक पटक डायलासिस गर्ने १०६ जना बिरामी रहेका छन् । उहाँले अस्पतालमा उपचार गर्न आउने सङ्क्रमितलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम भएकै कारण छिमेकी जिल्लाबाट पनि बिरामी आउने गरेको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पहिलो र दोस्रो तहका बिरामी हेर्ने जिम्मा भरतपुर अस्पताललाई दिइएको भए पनि तेस्रो तहका बिरामी पनि हेर्न बाध्य भएको बताउनुभयो ।

जिल्लाका अन्य अस्पतालमा सङ्क्रमण देखिएर जटिल भएका बिरामी पनि भरतपुर पठाइने गरेको उहाँले बताउनुभयो । यहाँका दुई मेडिकल कलेजलाई पनि कोभिड उपचारमा सहभागी गराएमा बिरामी थप भएको अवस्थामा उपचारमा सहजता हुने उहाँको भनाइ छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा ३७ जना कोरोना सङ्क्रमितले उपचार गराइ रहेका छन् । यसै अस्पतालमा ३८ जना उपचारपछि निको भएर फर्किएको उहाँले जानकारी दिनुभयो । दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap