१९ बैशाख २०८१, बुधबार

७० थान बहुपयोगी शय्या प्रदान, १० ठाउँमा सेन्सरयुक्त धारा ट्याङ्की जडान

वागमती समाचार
७० थान बहुपयोगी शय्या प्रदान, १० ठाउँमा सेन्सरयुक्त धारा ट्याङ्की जडान
0 Shares

भक्तपुर । विदेशबाट फर्काएका नेपालीलाई राख्न व्यवस्थापन गरिएका भक्तपुरका दुई होल्डिङ सेन्टरमा प्रयोग गर्न चुची फाउण्डेशनले ७० थान श्यया (बेड) प्रदान गरेको छ ।

जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गणका गणपति शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्व भट्टराईको संयुक्त टोलीलाई बेड हस्तान्तरण गरिएको हो ।

चुची फाउण्डेशन भक्तपुरका प्रतिनिधि एलिसा अवालवासी र सञ्जय अवालले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । बस्नका लागि दुई जनासम्मलाई कुर्सीको रूपमा र सुत्न परेमा बेडको रुपमा प्रयोग गर्न सकिने, आवश्यकता पर्दा सजिलै पट्याएर अन्य ठाउँमा लैजान सकिने बहुपयोगी उक्त बेड होल्डिङ सेन्टरलाई प्रदान गरिएको हो । प्राप्त ७० थान बेडमध्ये ५० नेपाली सेना र २० नेपाल प्रहरीले प्रयोगमा ल्याएका छन् । जिल्लामा कुनै पनि विपद्का बेलामा प्रयोगमा ल्याउने गरी यी बेडहरु विपद् व्यवस्थापन समितिमातहत रहनेछन् ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी भक्तपुरले जिल्लाका १० ठाउँमा सेन्सरयुक्त हात धुने धारासहितको पानी ट्याङ्की जडान गर्ने कार्य शुरु गरेको छ । कूल रु पाँच लाखको लागतमा एक हजार लिटरको पानी ट्याङ्की, पाइप, हातधुने झोल साबुन र सेन्सरयुक्त धारा जडान गरिएको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।

रेडक्रसले अहिलेसम्म भक्तपुरको दुई होल्डिङ सेन्टर, मध्यपुरथिमि नगरपालिकाको गेट अगाडि, मध्यपुरथिमि शङ्खधर चोक, आदर्श मावि लायकू, भक्तपुर नगरपालिकाको दूधपाटीस्थित बसपार्कमा जडान गरिएको उहाँले जानकारी दिनुभयो । केही दिनभित्रै बाँकी चार ठाउँमा पनि जडान गरिने बताउँदै उहाँले कोरोना सङ्क्रमण रोक्न सर्वसाधारणले कुनै पनि सामानलाई नछोई हात धुन सक्ने गरी व्यवस्थापन गरिएको सभापति थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap