३ जेष्ठ २०८१, बिहीबार

प्रतिनिधिसभा – उपयुक्त योजनाका साथ कोभिड –१९ नियन्त्रणमा लाग्न आग्रह

समाचार
प्रतिनिधिसभा – उपयुक्त योजनाका साथ कोभिड –१९ नियन्त्रणमा लाग्न आग्रह
0 Shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्याङ्क हेर्दा जोखिम बढ्दो रहेकाले उपयुक्त योजनाका साथ दायरा फराकिलो पारी नियन्त्रणका उपाय अपनाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले कोरोना सङ्क्रमणको दर वृद्धि भइरहेका अवस्थामा परीक्षण र व्यवस्थापनमा उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद अमृतादेवी अग्रहरीले तराइका विभिन्न जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उल्लेख गर्दै अझै पनि सरकारले आइसोलेसन वार्डको उचित व्यवस्था गर्न नसकेको भनी चिन्ता व्यक्त गर्नुभयो । उहाँले खाने, बस्ने स्थानका साथै शौचालयको पनि उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमृता थापाले कोरोना सङ्क्रमणबाट सम्भावित क्षति रोक्न आवश्यक कार्ययोजनासहित अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उमाकान्त चौधरीले अव्यवस्थित र मापदण्ड विपरीतका संरचनाका कारण कोरोना उत्पादन गर्ने क्षेत्रके रुपमा क्वारेन्टिन देखिएकाले राहत, उद्धार र परीक्षणमा ध्यान नदिने हो भने कोरोनाका साथै रोक र भोकले भयावह स्थिति आउन सक्ने देखिएको बताउनुभयो । सांसद उमा रेग्मीले कोभिड–१९ को सङ्क्रमण ह्वात्तै बढ्दै गएको र उपचारका लागि अस्पताल पुगेका गर्भवतीले पिसिआर रिपोर्ट नल्याएसम्म उपचार गराउन नसक्ने अवस्था सिर्जना भएकामा दुख प्रकट गर्नुभयो ।

सबै अस्पतालबाट नियमित सेवा उपलव्ध गराउने व्यवस्था मिलाउन उहाँले सभामुखमार्फत सरकारलाई आग्रह गर्नुभयो । सांसद डा अमरेशकुमार सिंहले विपद् व्यवस्थापनमा सरकारले नेपाली सेना परिचालन गर्न खोज्नु संविधानविरुद्ध भएको भनी आपत्ति जनाउनुभयो । सांसद कल्याणीकुमारी खड्काले भारतबाट असुरक्षित आगमन भएका कारण प्रदेश नं २ को स्थिति खतरापूर्ण बन्दै गएकाले सीमा नाकामै पिसिआर परीक्षण गरेर मात्रै मानिसलाई प्रवेशन गराउने व्यवस्था गर्न तथा आइसोलेशन र क्वारेन्टिनको क्षमता बढाउन माग गर्नुभयो ।

रुकुम घटनाका दोषीलाई कारवाही माग

सांसदले रुकुममा भएको घटनाको छानबिन गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्णभक्त पोखरेलले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो मानवताविरुद्धको अपराध हो, विसं २०२० बाट जातभातको अन्त्य गर्ने अभियान शुरु भएको अवस्थामा अझै पनि यस्ता घटना आउनु दुःखद् हो, त्रुटिपूर्ण सामाजिक मान्यता अन्त्य गर्नुपर्छ ।” उहाँले यस्ता घटनाका दोषीलाई अधिकतम दण्ड र सबैलाई कानूनको दायरामा ल्याउने गरी अघि बढ्न जरुरी रहेको औँल्याउनुभयो । सोही दलका खगराज अधिकारीले रुकुम घटनाका दोषीलाई कारवाही हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपाकै इन्दुकुमारी शर्माले रुकुमको घटनामा नवराज विकलगायत उनका साथीको हत्या भएको जिकिर गर्दै दोषीलाई कडा कारवाही गर्न माग गर्नुभयो । उहाँले उक्त घटनाबाट शिक्षा लिएर दोहोरिन नदिन सबै सचेत हुनुपर्छ भन्नुभयो । सोही दलका कमला रोकाले नवराज विकहरुले न्याय पाउने कुरामा सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका गगनकुमार थापाले संविधानमा दलितको हकको स्पष्ट व्यवस्था भए पनि रुकुम(पश्चिम)को घटनाले नेपालीको अनुहारमा कालो पोतेको विचार राख्नुभयो । उहाँले बन्दाबन्दी अवधिमा मात्रै ३२ जनाको हत्या भएको जिकिर गर्दै घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो । सांसदले बाँकेमा भएको सवारी दुर्घटनामा परी १२ जनाको निधन भएको प्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap