९ बैशाख २०८२, मंगलवार

बाह्र वर्षसम्म पनि बनेन रानीघाट भेरीको पुल

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
बाह्र वर्षसम्म पनि बनेन रानीघाट भेरीको पुल
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको बर्दिया जोड्ने भुरीगाउँ तेलपानी सडकमा पर्ने रानीघाटको भेरी नदी माथिको पुल १२ वर्ष बित्दासमेत बन्न सकेको छैन । पुलको डिजाइनमा केही प्राविधिक त्रुटि भएको र ठेकेदारले अदालतमा हालेको मुद्दाको किनारा नलाग्दा सो पुल १२ वर्षसम्म पनि अलपत्र परेको हो ।


२०६९ साल असार २९ गते पप्पु मल्ल जेभीसँग ४३ महिना अर्थात २०७२ साल पुस २९ गतेभित्र सक्ने गरी सो पुलको निर्माण सम्झौता भएको थियो । त्यसबेलाको लागत १४ करोड २९ लाख ८९ हजार रुपियाँ रहेको थियो । निर्माण कम्पनीले काम पनि सुरुवात ग¥यो । भेरी नदीमा दुई वटा पिल्लर राख्ने कामको सुरुवात पनि भयो । तर विचको पिल्लरको डिजाइनमा त्रुटि भएर केही बाँगिएपछि पुल निर्माणको काम रोकियो । डिजाइनमा प्राविधिक गल्ती भएपछि निर्माण कम्पनीले अदालतमा मुद्दा हालेको छ । पुल निर्माण हेर्ने सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार अदालतमा मुद्दा परेको र नटुंगिएकोले पुलको काम हुन सकेको छैन । कार्यालयका इन्जिनियर बर्खबहादुर शाहीका अनुसार निर्माण कम्पनीले चार करोड ३८ लाख २२ हजार ९८३ रुपियाँ पेश्की लगिसकेको छ । निर्माण कम्पनीले काम अलपत्र पारेपछि कार्यालयले २०७९ असार २० गते ठेक्का सम्झौता तोडेको थियो । सो क्रममा ८९ लाख ७९ हजार बैंक बैंक ग्यारेन्टीसमेत जफत गरिएको थियो ।
कार्यालयका इन्जिनियर शाहीले मुद्दाको किनारा नलागेकोले नयाँ ठेक्का प्रक्रिया पनि सुरु हुन नसकेको बताउनुभयो । मुद्दाको टुंगो लागिसकेपछि पुलको नयाँ ठेक्का प्रक्रिया सुरु गरिनेछ । यसका साथै पुल सम्पन्न गर्नका लागि अर्थ मन्त्रालयसँग रकम सुनिश्चितताको सहमति पनि माग गरिएको उहाँले बताउनुभयो ।
१२ वर्षपछि पुल निर्माणको काम अलपत्र भएपछि रानीघाटबाट पारि जान ट्युव प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यहाँ रहेको झोलुंगे पुल पनि २०७१ का बाढीले बगाएपछि वारपार गर्न असहज छ । पुल तर्न अहिले करिव आधा घन्टा टाढा पुग्नुपर्ने अवस्था रहेको स्थानीय मानकुमारी सार्कीले बताउनुभयो । पुरानो पुल बगायो, नयाँ पुल बनेको छैन, पारि जान आधा घन्टा हिंडेर जानुपरेको छ भन्दै उहाँले जीवन चलाउन गाह्रो भएको जनाउनुभयो ।
बीरेन्द्रनगर नगरपालिका—२ र बराहताल गाउँपालिका—१, २ जोड्ने सो पुल निर्माण भएको भए बर्दियाको भुरीगाउँ पुग्न छोटो हुने अर्का स्थानीय लिलाराम बिले बताउनुभयो । पुल छिटो बनाउन धेरै ठाउँमा निवेदन दिएको, डेलिगेशन भएको भन्दै उहाँले कसैले सुनुवाई नगरेको दुखेसो उहाँले सुनाउनुभयो । पुल निर्माण भएको भए ५४ किमीको दुरीमा बर्दियाको भुरीगाउँ पुग्न सकिन्छ । प्रत्येक निर्वाचनमा भुरीगाउँ तेलपानी सडक निर्माण गर्ने, रानीघाट पुल बनाउने भनेर घोषणा गरेपनि हालसम्म बनाउने पहल नभएको स्थानीयको आरोप छ ।
यता कर्णाली प्रदेश सरकारले पनि दुई प्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखेको जनाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेतको तेलपानीदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडकलाई प्राथमिकतामा राखेको र पुल निर्माणको कामलाई पनि दवाव दिइरहेको बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap