९ बैशाख २०८२, मंगलवार

मदन भण्डारी राजमार्गको पूर्वी खण्ड ९० प्रतिशत कालोपत्रे

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
मदन भण्डारी राजमार्गको पूर्वी खण्ड ९० प्रतिशत कालोपत्रे
0 Shares

सुर्खेत ।

मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेतमा पर्ने खण्डको कालोपत्रे गर्ने काम करिब करिब अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाविटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ९० प्रतिशत सडक कालोपत्रे भइसकेको छ । अब १० प्रतिशतमात्र कालोपत्रे हुन बाँकी छ ।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार पूर्वी सुर्खेतमा पर्ने ३५ किमी सडकमध्ये २९ किमी कालोपत्रे भइसकेको छ । कार्यालयका इन्जिनियर रेशम वलीले हालसम्म २९ किलोमिटर सडक कालोपत्रे भइसकेको र बाँकी रहेको ६ किलोमिटर सडकमा पनि कालोपत्रेको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार यो खण्डमा पर्ने पुलहरुको काम पनि सम्पन्न भइ नियमित यातायात संचालन भइरहेका छन् ।
इन्जिनियर वलीले मदन भण्डारी राजमार्गको पूर्वी खण्डको काम अब अन्तिम चरणमा रहेको बताउनुभयो । यो खण्डमा निर्माण गर्नुपर्ने अधिकांश पुल निर्माण भइसके, अब एउटा पुल मात्र ढलान गर्न बाँकी छ । वीरेन्द्रनगर, लेकबेसी, गुर्भाकोट भेडाबारीसम्म जोडिने यो सडक निर्माण गर्न २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । २०८१ पुस २६ गतेसम्मका लागि म्याद थपिएको थियो ।
उक्त मितिमा काम नसकिएपछि पुनः म्याद थपिएको छ । अन्तिम पटक २०८२ भदौ २९ सम्म म्याद थप गरिएको छ । योजनाले १२ वटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य लिएपनि हालसम्म ११ वटा पुलको काम पूरा भएको छ । सातवटा पुल निर्माण गर्ने जिम्मेवारी पाएको हिम सगरमाथा कन्स्ट्रक्सन कम्पनी चितवनले सातवटै पुलको काम पूरा गरेको छ । कम्पनीले उक्त पुल बनाउन २६ करोड ५६ लाखमा सम्झौता गरेको थियो ।


पूर्व तिर कालोपत्रे भएर गाडी गुड्न थालेपछि त्यस क्षेत्रका बासिन्दाहरुको जनजीवन सहज हुन थालेको छ । पहिले सदरमुकाम बीरेन्द्रनगर आउन तीन÷चार घन्टा लाग्ने गरेकोमा अहिले बढीमा एक घन्टामा सरर आउन पाएको स्थानीयहरु बताउँछन् । लेकबेसी नगरपालिका—७ का वडाअध्यक्ष रुद्रबहादुर नेपालीले अहिले सडक कालोपत्रे भएपछि काठमाडौं जाने रात्री बसपनि यही सडक भएर जाने गरेको बताउनुभयो । उहाँले सडक कच्ची हुँदा फाट्टफुट्ट आउने गाडीमोटर अहिले कालोपत्रे भएपछि नियमित आउने गरेको जानकारी दिनुभयो । यस क्षेत्रमा उत्पादन हुने बस्तुहरु सदरमुकाम पु¥याउन र अन्य काम गर्नपनि निकै सहज र छिटो भएको उहाँको भनाइ छ ।
सुरुमा भेडाबारी धुलियाविट सडक नामाकरणका झण्डै तीन दशकसम्म स्तरोन्नति हुन नसकेकोमा मदन भण्डारी राजमार्ग जोडिएपछि स्तरोन्नति भएको स्थानीयहरुको भनाइ छ । मदन भण्डारी राजमार्गको पूर्वी खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेपनि पश्चिम क्षेत्रमा भने विवादले ढिलाई भएको छ । चौकुने गाउँपालिकाको गुटु–बल्दे खण्डको विजौरामा स्थानीयले अवरोध गरेपछि काम रोकएिको बताइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap