१७ बैशाख २०८१, सोमबार

अब भरतपुर विमानस्थल प्रदेशस्तरको हुने

वागमती
अब भरतपुर विमानस्थल प्रदेशस्तरको हुने
0 Shares

चितवन । भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा प्र्रस्तुत गर्नुभएकोे आगामी वर्षको बजेटमा सो विमानस्थलाई प्रदेशस्तरीय बनाइने उल्लेख छ ।

विमानस्थलको धावनमार्ग छोटो हुँदा र अतिक्रमण बढेपछि जहाज उडान र अवतरण निकै जोखिम पूर्ण बन्दै गएको जनाइएको छ । विमानस्थल जोखिमपूर्ण भएपछि भरतपुर महानगरपालिकाको आयोजनामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सरोकारवालाको छलफलसमेत गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले विमानस्थल बिस्तार हुन लागेको जानकारी दिनुभयो । महानगरपालिकाले सेनाको गण र सो केन्द्रका लागि वैकल्पिक स्थान दिइसकेको छ । महानगर प्रमुख रेनु दाहालले विमानस्थल बिस्तारको काम अघि बढेको बताउनुभयो । महानगरले सेनालाई चार वटा ठाउँ विकल्पका रुपमा दिएको छ । ठाउँको विस्तृत विवरणसमेत मन्त्रालयमा पठाइसकिएको छ ।

मन्त्री भट्टराईले महानगरमा छलफलपछि विमानस्थल बिस्तार सम्बन्धमा अध्ययन गर्न सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलको प्रतिवेदनमा छलफल भइसकेको छ । महानगर प्रमुख दाहालले भन्नुभयो, “सरोकारवाला सबै सकारात्मक भएपछि विमानस्थल बिस्तारको काम अघि बढेको छ ।” विमानस्थल प्रदेशस्तरको बन्ने हुँदा छिमेकी जिल्लावासी पनि लाभान्वित हुने उहाँले बताउनुभयो ।

विमानस्थलबाट १५० किलोमिटर हाराहारीमा काठमाडौँ, पोखरा, भैरहवा र निजगढ विमानस्थल पर्दछ । विमानस्थल बिस्तारभएपछि श्री एयरलायन्सको ८० सिटे जहाज, बुद्ध र यतीको एटिआर ७२, श्रीकै सि आर जे ५० र ७० सिटे जहाज अवतरण तथा नेपाल एयरलायन्सको ६० सिटे जहाज एमए ६० पनि उडान गर्न सक्नेछ । ६२ बिघामा रहेको विमानस्थल बिस्तार गर्दा ७२ बिघा थप हुनेछ ।

हालको एक हजार २०० मिटर लामो धावनमार्गमा ४५० मिटर थप गर्न सकिने प्राधिकरणका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । विस्तारसँगै रात्रिकालीन उडान, जहाज राख्ने र तेल भर्ने व्यवस्था यही हुनेछ । भौतिक संरचना निर्माण गरेर आकर्षक विमानस्थल बन्ने उहाँको भनाइ छ । टर्मिनल भवन छुट्टै बन्ने छ । पर्यटनमन्त्री भट्टराईले यहीँबाट माउन्टेनसहितका विभिन्न जिल्लामा उडान गर्न सक्नेगरी विमानस्थल बिस्तार गर्ने जनाउँदै आउनुभएको छ ।

हाल यहाँबाट दिनको समयमा मात्र काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । धावनमार्ग विस्तार गर्दै गर्दा अतिक्रमण गरी मापदण्ड मिचेर बनाइएका संचना भत्काएर व्यवस्थित गर्नुपर्ने प्रमुख गौतमको भनाइ छ । हाल प्रदेशस्तरका नेपालगञ्ज, विराटनगर, पोखरा र भौरहवा विमानस्थल छन् ।

त्यही स्तरको विमानस्थल भरतपुरमा बिस्तार गर्न लागिएको हो । यस विमानस्थलले वाग्मती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्ला, नवलपरासी, तनहुँलगायतका बासिन्दालाई समेत सेवा दिँदै आएको छ । साना जहाज मात्र उड्ने भएकाले भाडा बढी तिर्न यात्रु बाध्य छन् । बिस्तार भएसँगै जहाजको भाडादर कम हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap