३२ जेष्ठ २०८२, शनिबार

स्वास्थ्य शिविरमा जाँच गराउन लठ्ठी टेकेर दुई घन्टा पैदल

अर्थ कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
स्वास्थ्य शिविरमा जाँच गराउन लठ्ठी टेकेर दुई घन्टा पैदल
0 Shares

सुर्खेत ।

सिम्ता गाउँपालिका—८ माल्पाका ८० वर्षीय ज्येष्ठ नागरिक दलबीर खड्का हातलमा लठ्ठी टेक्दै घरदेखि दुई घन्टा समय लगाएर स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आउनुभयो । शिविरमा उहाँले आफ्नो हात खुट्टा, डाँट र दाँत जाँच गराउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँमै शिविर चलेको सुनेर आएँ, हामी जस्ता बुढालाई धेरै सजिलो भयो, बीरेन्द्रनगरका डाक्टरसँग गाउँमा जाँच गराउन पाइयो ।’ उहाँले बेला बेलामा शिविरहरु गाउँ गाउँमा चलाउनुपर्ने माग समेत गर्नुभयो ।


यसैगरी ७५ वर्षीय खड्कबहादुर खत्रीले पनि लठ्ठी टेक्दै शिविरमा आफूलाई जचाउन आउनुभयो । पौने दुई घन्टाको बाटो हिँडेर उहाँ शिविरमा उपचारका लागि श्रीमतीसहित आउनुभयो । करिव एक घन्टाभित्रमा उहाँले स्वास्थ्य जाँच गर्नुभयो । खुट्टा दुख्ने, छाती दुख्ने पीडा रहेछ उहाँलाई । डाक्टर जाँच गरेर औषधि दिएर खुसी हुँदै उहाँले सहरका डाक्टर गाउँमै आएको बेला निःशुल्क उपचार गराउन पाएको बताउनुभयो । सहर गएर डाक्टरसँग जाँच गर्न पाँच सय बढी रुपियाँ लाग्ने भन्दै उहाँले गाउँमा शिविरमा आउँदै सित्तैमा जाँच्न पाएको उहाँले जनाउनुभयो ।
खड्का र खत्रीसँगै शनिवार सिम्ता गाउँपालिका —८ डाँडाखालीमा ८ नम्बर वडा कार्यालय र नेपाल प्रेस युनियन सुर्खेतको आयोजना, सिम्ता गाउँपालिकाको समन्वय तथा स्वास्थ्य पत्रकार समाज कर्णालीको सहकार्य र सुर्खेत उद्योग बाणिज्य संघ तथा नेपाल औषधि व्यवसायी संघ कर्णालीको प्राविधिक सहयोगमा आयोजना गरिएको विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरमा तीन सय भन्दा बढी नागरिकले सेवा लिएका छन् । सेवा लिन आएका मध्ये धेरैजसो महिला र ज्येष्ठ नागरिकहरु थिए ।


शिविरमा नाक कान घाँटीको रोग, हाड जोर्नी, प्रसुति तथा स्त्रीरोगको जाँच गरिएको थियो । ६७ वर्षीया गौरी खत्रीले महिला डाक्टरसँग पेट सम्वन्धी रोगको जाँच गराएको बताउनुभयो । सात जनाको डाक्टरहरु आफ्नो गाउँमै आयोजना गरेको शिविरमा आएको थाहा पाएपछि डेढ घन्टा हिँडेर जाँच गराउन आएको उहाँले बताउनुभयो । बेला बेलामा डाक्टरहरु गाउँमै आएर आफुहरुजस्ता ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्न गर्न उहाँले माग गर्नुभयो ।
शिविरमा सात जना डाक्टरहरुको सहभागिता रहेको थियो । बरिष्ठ नाक, कान घाँटी रोग विशेषज्ञ डा. पारस पौडेल, बरिष्ठ हाडजोनी तथा नसा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञद्वय डा. नम्रता भट्टराई र डा.कृतिका थापा, मेडिकल अधिकृतद्वय डा. दिलिपकुमार साह र डा. अमृत कर्ण तथा फिजियोथेरापिष्ट डा. कैलाश सिराले शिविरमा स्वास्थ्य जाँच गर्नुभएको थियो ।


डा. शुभ श्रेष्ठले शिविरमा धेरैजसो ज्येष्ठ नागरिक र महिलाहरु जाँच गराउन आएको र उनीहरुमा पेट, हात खुट्टाको समस्या रहेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा शिविरको आयोजना गरी ज्येष्ठ नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा दिन जरुरी रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा स्थानीय तहलगायत सरोकारवाला पक्षहरुले गाउँ बस्तीमा स्वास्थ्य शिविरहरु गराउनतर्फ ध्यान केन्द्रीत गराउन सुझाव दिनुभयो ।
सिम्ता गाउँपालिका —८ नम्बर वडाका वडाअध्यक्ष चेतबहादुर रेग्मीले पहिलो पटक गाउँमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले युवाहरु कोही सदरमुकाम त कोही कमाईका लागि बाहिर गएकोले शिविरमा महिला तथा ज्येष्ठ नागरिकहरुको उपस्थिति धेरै रहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्तै शिविरको आयोजना गर्ने बताउनुभयो ।


सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले विशेषज्ञ स्वास्थ्य शिविरबाट गाउँमै विशेषज्ञ डाक्टरहरुबाट सेवाग्राहीले उत्कृष्ट सेवा पाएको बताउनुभयो । उहाँले पालिकाले आफ्ना पालिकाबासीका लागि शिविर संचालन गर्न बजेट बिनियोजनसमेत गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap