१० बैशाख २०८२, बुधबार

बयलकाँडा गढीमा बीरेन्द्रनगरको प्रगति समीक्षा

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
बयलकाँडा गढीमा बीरेन्द्रनगरको प्रगति समीक्षा
0 Shares

सुर्खेत ।

सुर्खेतको ऐतिहासिक तथा पुरातात्विक स्थल बयलकाँडा गढीमा वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा भए गरेका कामहरुको प्रगति समीक्षा सार्वजनिक गरेको छ । वीरेन्द्रनगर नगरपालिका—१४ को गढीमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाले पूर्वाधार, सामाजिक विकास, सुशासन र पारदर्शितालगायत अन्य विविध पक्षमा भए गरेका प्रगतिहरु सार्वजनिक गरेको हो ।

वि.स १८४०—५० तिर निर्माण भएको उक्त गढी अहिले भत्किएर भग्नावशेषमा परिणत भएको छ । नगरपालिकाभित्रै परेको पर्यटकीय र ऐतिहासिक स्थल भएर पनि पुनर्निर्माण नहुँदा ओझेलमा परेको भन्दै नगरपालिकाले पत्रकार महासंघ सुर्खेतको समन्वयमा आफ्नो प्रगति समीक्षा गढीमै सार्वजनिक गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले नगरपालिकाले विशेषगरी पूर्वाधार, हरित नगर र शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिइ त्यसमा लगानी गरेको जानकारी दिनुभयो । यसका साथै सुर्खेत उपत्यकाको खानेपानीको संकट टार्नका लागि भेरी लिफ्ट खानेपानीलाई पनि प्राथमिकतामा दिइएको उहाँको भनाइ छ । नगरपालिकाले सात किमी सडक कालोपत्रे, ७२ किमी कच्ची सडक र १६ किमी सडक ग्राभेल गरेको छ । यस्तै ४९ वटा विद्यालय भवनहरुको मर्मत गरिएको, ८८३ वटा नयाँ घर नक्सा दिइएको, ७१२ वटा डिप बोरिङ खनिएको छ । नगरपालिकाले कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम तयार गरी पढाई थालिएको र १२ वटा वडामा सामुदायिक विद्यालयमा स्थानीय दिवा खाजाका मेगा किचन कार्यक्रम संचालन गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत बास्कोटाले दिनुभयो ।
यसैगरी नगरभित्रका दुई हजार ७५३ जना गर्भवती तथा सुत्केरीलाई निःशुल्क सेवा दिइएको, सिकलसेल विरामी उपचारका लागि प्रदेश अस्पताललाई मेसिन हस्तान्तरण गरिएको, गर्भवतीहरुको निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको, क वर्गका अपाङ्गता भएकाहरुलाई घरमै पुगेर नागरिकता तथा परिचपत्र प्रदान गरिएको उहाँले बताउनुभयो । उज्यालो नगर बनाउनका लागि सुब्बाकुनादेखि बाँगेसिमल र मंगलगढीदेखि लाटिकोइलीसम्म सडक बत्ती जडान गरिने, हरित नगर बनाउन हरियाली प्रवद्र्धन गरिने छ ।
यति हुँदा पनि नगरपालिकामा कर्णालीकै १० वटै जिल्लाका बासिन्दाहरु बसोबास गर्ने भएकोले पर्याप्त सेवा प्रदानमा कठिनाइ भोग्नुपरेको छ । बजेटको सीमितता, गुरुयोजना अनुसार सडक लगत कट्टा नभएको, फोहोर व्यवस्थापनका लागि ल्याडफिल्डसाइटलाई पूर्णरुपमा संचालनमा ल्याउन नसकिएको, प्रमुख प्रशासकीय अधिकृतहरु छिटो छिटो सरुवा हुने, जग्गा प्राप्तिमा कठिनाइ र भूमि समस्याले गर्दा नगरपालिकाले सोच अनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सुशासन र पारदर्शितालाई नगरपालिकाले प्राथमिकतामा राख्दै काम गरेको दावी गर्नुभयो । उहाँले नगरपालिकालाई व्यवस्थित गराउनका लागि प्रयास धेरै गरिएको र विगतको तुलनामा अहिले धेरै परिवर्तन भएको जिकिर गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ऐतिहासिक बयलकाँडा गढीको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले पत्रकार महासंघसँग समन्वय गरी आफ्नो प्रगति समीक्षा गढीमा आयोजना गरेको बताउनुभयो । उहाँले पूर्वाधार, सामाजिक विकास, शिक्षा, स्वास्थ्य र स्वरोजगारमा बढी लगानी गरेको जानकारी दिनुभयो । प्रदेश राजधानीको नगरपालिका भएकोले यहाँको जनसंख्या बढ्दै गएको, फोहोर व्यवस्थापनमा कठिनाइ भोग्नुपरेको र सीमित बजेटले धेरै जनसंख्यालाई सेवा दिनुपरेको उहाँले जनाउनुभयो । साथै अव नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्नका लागि विभिन्न सूचकहरु पूरा गर्ने कामपनि जारी रहेको नगर प्रमुख ढकालको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap