१७ बैशाख २०८२, बुधबार

सुविधाको आशमा चार हजार बढीले गरे बसाईँसराईँ

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुविधाको आशमा चार हजार बढीले गरे बसाईँसराईँ
0 Shares

सुर्खेत ।

सरकारी सेवा सुविधा तथा विकास नभएको भन्दै कर्णालीमा एक वर्षमा चार हजार बढीले बसाईँसराई गरेका छन् । खानेपानी, शिक्षा, वातावरणलगायत अत्यावश्यकीय सेवा सुविधाको अभाव भएपछि त्यसमा सहज पहुँचको आशमा चार हजार ४३७ जनाले एक जिल्लाबाट अर्को जिल्ला बसाईँसराई गरेका हुन् ।

इन्सेक कर्णाली प्रदेशले सन् २०२४ मा गरेको सर्वे अनुसार नेपालमा विभिन्न जिल्लाबाट बसाई सर्नेहरुको संख्या एक लाख ५० जार ८४५ जना रहेकोम कर्णाली प्रदेशमा चार हजार ४३७ जनाले बसाईसराई गरेका छन् । बसाईसराई गर्ने प्रमुख कारणमा हिमाल र पहाडबाट तराई तिर वा राजधानीतिर झरेको पाइएको इन्सेक कर्णाली प्रदेशले जनाएको छ । खाद्यान्न अभाव, विकास र सेवा सुविधाको चाहना, आफ्ना सन्तानहरुको उज्ज्वल भविष्यको रुचीले गर्दा पहाडबाट तराई र सदरमुकामतिर बसाई सर्ने क्रम बढेको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।
कर्णाली प्रदेशमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट जिल्लामा बढी बसाईँसराई भएको छ । इन्सेकको तथ्यांक अनुसार सुर्खेतमा एक हजार २४०, दैलेखमा एक हजार, सल्यानमा ७१६, जाजरकोटमा ५१०, कालीकोटमा २९३, रुकुम पश्चिममा २८४, जुम्लामा २३९, मुगु ११८, हुम्लामा २२ र डोल्पामा १५ जनाले बसाईसराईँ गरेका छन् । उचित शिक्षा पाउन, खाद्यको अधिकार पाउनबाट बञ्चित भएपछि मानिसहरु आफ्नो जन्म थाततलो छोडेर बसाई सर्नुपर्ने बाध्यता कर्णालीमा रहेको संयोजक सुवेदीले बताउनुभयो । उहाँका अनुसार इन्सेकले यसवर्षदेखि पहिलो पटक बसाईसराईँलगायतलाई पनि वातावरणीय अधिकारमा राखेर सर्वे गरेको थियो । यसरी बसाई सर्नुपनि मानवअधिकारको उल्लंघन भएको उहाँको भनाइ छ । वातावरणीय अधिकारमा बसाईँसराई, बायु प्रदूषण, खानेपानी, सार्वजनिक शौचालयजस्ता विषयहरु उल्लेख छ ।
कर्णालीमा बायु प्रदुषण अन्तर्गत इट्टाभट्टामा ६ र सिमेन्ट उद्योगमा दुई, खानेपानीको पहुँच ५२ प्रतिशत र सार्वजनिक शौचालय १०१ वटा रहेका छन् । कर्णालीको सुर्खेतमा मात्र इट्टाभट्टा भएको र सिमेन्ट उद्योग निर्माणका लागि लाइसेन्स मात्र लिएकोले तथ्यांकमा थोरै उल्लेख छ । यस्तै खानेपानीको पहुँच ५२ प्रतिशत होभने शुद्ध खानेपानीको पहुँच करिब तीन प्रतिशतमात्रै छ । यस्तै सार्वजनिक शौचालयको संख्या प्रदेशभर केवल ११० वटामात्र रहेको छ । इन्सेक कर्णाली प्रदेश संयोजक सुवेदीले झण्डै आधा प्रतिशत जनसंख्या खानेपानीको पहुँचको अभावमा रहेको र सार्वजनिक शौचालयको उपभोग गर्नपनि धेरै बञ्चित रहेको पाइएकोले यो पनि वातावरणीय अधिकारको समस्याका रुपमा रहेको जिकिर गर्नुभयो ।
उता पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—५ को रेक्चामा पाँच वर्षको अवधिमा करिव तीन दजर्न बढी घरपरिवारको खानेपानीको अभावमा अन्य पालिका तथा सदरमुकामतिर बसाई सरेका छन् । त्यहाँ रहेको इनारमा गर्मी याम लागेपछि पालो लगाएर दैनिक पाँचदेखि १० लिटर मात्र पानी लाने गरिएको छ । अग्लो स्थानमा बस्ती भएको र पानीको स्रोत नहुँदा यसरी पालो लगाएर पानी लिनुपर्ने बाध्यता रहेको रेक्चाका स्थानीय तपेन्द्र क्षेत्री बताउनुहुन्छ । उहाँका अनुसार पानीको दुःखका कारण तीन दर्जन बढी घरपरिवार अन्यत्रै बसाई सरिसकेका छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap