१७ बैशाख २०८२, बुधबार

दलित अगुवाको सानो प्रयासबाट ठूलो प्रभाव

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
दलित अगुवाको सानो प्रयासबाट ठूलो प्रभाव
0 Shares

सुर्खेत ।

करिव एक वर्ष अगाडिसम्म बीरेन्द्रनगर नगरपालिका—११ झुप्रा बस्तीमा दिनहुँजसो परिवारमा घरझगडा हुने गर्दथ्यो । श्रीमान श्रीमतीको झगडाले गर्दा साना बालबच्चाको बिजोग हुने गर्दथ्यो । त्यतिमात्र होइन, बालुवा छान्ने खोलाको साँध मिचेको भन्दै पनि छिमेकमा विवाद भइरहन्थ्यो । तर अहिले सो बस्तीमा घर तथा छिमेकविच झगडा हुन छोडेको छ । वातावरण पनि शान्त छ । दुःखको काम भएपनि गरेर शान्तिपूर्वक बसेर एक अर्कालाई सहयोग गरिरहेका छन् ।


दलित अगुवा अभियन्ता धनसरा बादीका अनुसार महिला समूहले बस्तीमा हुने विवाद झैंझगडा मिलाउने गरेको छ । विवाद गरेवापत सय रुपियाँ जरिवाना लिने गरिएको छ । दुवै पक्षलाई मिलाउने, गल्ती जसको हो, उसले माफी माग्ने र सय रुपियाँ जरिवाना लिएर आगामी दिनमा झगडा गर्दिन भन्ने प्रतिवद्धता गराएपछि सो बस्तीमा अहिले झैंझगडा नभएको उहाँले बताउनुभयो । उहाँले करिव एक वर्षको अवधिमा १० वटा त्यस्ता झगडा र विवाद मिलाउन सफल भएको जानकारी दिनुभयो । बस्तीमा मिल्न नसकेपछि प्रहरीकोमा उक्त विवाद पु¥याउने गरिएको छ ।
यस्तै बीरेन्द्रनगर नगरपालिका—१३ का कौशिला विकले आफ्नो गाउँमा हुन लागेको चार वटा बालविवाह रोक्नुभएको छ । उहाँले उमेर नपुग्दै बालविवाह हुन लागेको थाहा पाएपछि रोकेर दुर्घटना हुनबाट जोगाएको बताउनुभयो । उनीहरुले अहिले पुनः पढाई सुरु गरेका छन् । यसका साथै गाउँमा हुने गरेका साना झैंझगडाहरु पनि उहाँ अगाडि सरेर समाधान गरेको अनुभव सुनाउनुभयो ।
बीरेन्द्रनगर नगरपालिका—४ की कमलौ पौडेल गैरले १० जना पढाई छोडेका बालबालिकालाई विद्यालयमा भर्ना गर्नुभएको छ । हिंसाका घरमा प्रभावमा परेका बालबालिकाले पढाई छोडेका कारण उनीहरुको अवस्था बुझेर आर्थिक अवस्था कमजोर भएको पाइएपछि वडा कार्यालयसँग सम्पर्क गरेर विद्यालयमा भर्ना गरिएको उहाँले बताउनुभयो । यस्तै छिमेकमा हुने गरेका कुटपिट, झैंझगडाहरु मिलाएर बस्तीलाई शान्त बनाउने काम गरेको उहाँको भनाइ छ ।
उहाँहरुजस्तै बीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकामा ३० जनालाई दलित अगुवा अभियन्ता छनोट गरिएको छ । दलित महिला संघले उनीहरुलाई दलित अगुवा अभियन्ता छनोट गरी आफ्नो समाजमा हुने विभिन्न कुरीतिका विरुद्ध आवाज उठाउने, न्याय प्राप्तिमा सहजीकरण गर्ने काम गर्न भनेको छ । त्यही अनुसार ती दलित अगुवा अभियन्ताहरुले साना तिना विवादहरु मिलाउने, मध्यस्थता गर्ने र न्याय प्राप्तिमा सहजीकरण गर्ने काम गरेको छ ।
दलित महिला संघ सुर्खेतले नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवद्र्धन परियोजनामार्फत अहिले सुर्खेतको बीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा ३० जना दलित अगुवा अभियन्ता छनोट गरिएको र यसपछि सो संख्या विस्तार गर्ने लक्ष्य रहेको परियोजना अधिकृत खगिसरा वलीले बताउनुभयो । दलित अगुवा अभियन्ताले काम सुरु गरेपछि गाउँबस्तीको अवस्थामा सुधार आएको दावी उहाँले गर्नुभयो ।
दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले दलित अगुवा अभियन्ताले गरेको सानो कामले बस्तीमा ठूलो र सकारात्मक प्रभाव परेको बताउनुभयो । उहाँले समाजमा अझै पनि जातीय विभेद, घरेलु हिंसा व्याप्त रहेकोले अगुवा अभियन्ताहरुले यसको अन्त्यका लागि थप मेहेनत गर्न सुझाव दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap