सुर्खेत ।
कर्णाली प्रदेशमा पाँच हजार बढी शिक्षकहरु अपुग रहेका छन् । कर्णालीमा प्राथमिक तह, निम्न माध्यमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तहमा गरी कूल पाँच हजार ५४९ जना शिक्षकहरु अपुग रहेका हुन् । विद्यार्थीको अनुपातमा शिक्षकहरु अपुग भएपछि कर्णालीको साक्षरता दरसमेत कमजोर रहेको छ ।
कर्णालीको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै निम्न माध्यमिक तहका शिक्षक अपुग रहेको छ । यसमा दुई हजार ६९९ जना शिक्षक अपुग छन् । कर्णालीमा कूल दुई हजार ९३१ सामुदायिक विद्यालयमा ११ हजार ८६५ दरबन्दीमा मात्र शिक्षक छन् । हुनुपर्ने संख्या १७ हजार ३८४ हो । मन्त्रालयका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बलबीर सुनारले कर्णालीमा अझै पाँच हजार ५४९ जना शिक्षक अपुग रहेको बताउनुभयो ।
९२७ प्राविमा ६४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार ७९३ होभने अहिले आठ हजार १४९ मात्र छन् । यस्तै एक हजार १४० निम्न माध्यमिक विद्यालयमा दुई हजार ६९९ जना शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार ५६० शिक्षक हुन्भने अहिले एक हजार ८६१ जना कार्यरत छन् । यसैगरी ६०५ माविमा एक हजार ७४९ जना शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ जना शिक्षक हुन्भने अहिले एक हजार २७६ जना शिक्षक छन् ।
२५९ उच्च माविमा ४५७ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने एक हजार ३६ जना शिक्षक हुन्भने अहिले ५७९ जना कार्यरत रहेको शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञानका शिक्षकहरुको अभाव छ । कानुन अनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन वटा, निमावि तहमा चार वटा, मावि तहमा पाँच वटा र उच्च मावि तहमा चार वटा हुनुपर्दछ ।
कर्णाालीमा शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षकहरु नियुक्त गरिएका छन् । निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र संघीय सहयोगबाट शिक्षकहरु नियुक्त गरेर पढाउनुपरेको उहाँले बताउनुभयो । कर्णालीमा बालविकासदेखि उच्च मावि तहसम्म ६ लाख बढी विद्यार्थी अध्ययनरत छन्भने कर्णालीको साक्षरता दरव ७६.१ प्रतिशत हो । शिक्षकहरु अपुग भएपछि गुणस्तरीय शिक्षामा चुनौती थपिएको छ ।
शैक्षिक प्रावधान अनुसार हिमालमा एक शिक्षक बराबर ४० विद्यार्थी, पहाडमा ४५ बिद्यार्थी र तराईमा ५० बिद्यार्थी लाई पढाउनुपर्ने हुन्छ । तर शिक्षक अभाव भएपछि समस्या थपिएको छ । हिमालतिरका विद्यार्थीहरु पहाड तथा तराईमा झर्दा शिक्षक उता बढी भएको र विद्यार्थी कम भएका छन् । तराईमा विद्यार्थी बढी तर शिक्षक कम देखिएका छन् । शिक्षक दरबन्दी मिलान गर्न सकिएमा अपुग शिक्षकको समस्या ५० प्रतिशत कम गर्न सकिने बरिष्ठ शिक्षा अधिकृत सुनारले दावी गर्नुभयो । तर शिक्षक पेशागत संघसंगठनहरुका कारण शिक्षक दरबन्दी मिलान हुन सकेको छैन । कर्णालीमा शिक्षक व्यवस्थापन नै प्रमुख समस्या भएको उहाँको भनाइ छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले पनि शिक्षक दरवन्दी मिलान गर्न सकिने शिक्षक अपुगको समस्या केही कम हुने बताउनुहुन्छ । वीरेन्द्रनगरस्थित जन नमूना माविका अध्यक्ष कोइरालाले शिक्षक अपुग हुँदा गुणस्तरीय शिक्षा प्रदानमा चुनौती भएको जनाउनुभयो । उहाँले कर्णालीका एक हजार दुई सय बढी बिद्यालयमा सरकारको शिक्षक अनुदान नै नदिएको जानकारी दिदैं विद्यार्थी संख्या धेरै हुने तर शिक्षक अपुग हुने समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । शिक्षा ऐन, दरवन्दी मिलान जस्ता काम सरकारले गर्न सके धेरै हदसम्म शिक्षकको समस्या समाधान हुने उहाँको भनाइ छ ।