४ चैत्र २०८१, मंगलवार

व्हिलचियर बनाउँदै, बितरण गर्दै

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
व्हिलचियर बनाउँदै, बितरण गर्दै
0 Shares

सुर्खेत ।

सुर्खेतका ६ पालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई हिंडडुल गर्न र सामान्य जीवनमा फर्कन व्हिलचियर बनाउँदै बितरण गरिएको छ । अमेरिकी संस्था जोनी एण्ड फ्रेण्डको सहयोग तथा काठमाडौंको सुन्दर ढोका साथी सेवा र सुर्खेतको साइनिङ अस्पताल, आईएनएफको समन्वयमा यहाँका अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिलचियरलगायतका सामग्री बनाउँदै निःशुल्क बितरण गरिएको हो ।


गत आइतबारदेखि आईएनएफ सुर्खेतमै रहेको सहायता सामग्री निर्माण केन्द्रमा व्हिलचियरलगायतका सामग्रीहरु बनाएर बितरण गरिएको छ । मङ्गलवारसम्म २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई ती सामग्री बितरण गरिएको आईएनएफ नेपाल सुर्खेतका टिम लिडर ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले सुर्खेतका बीरेन्द्रनगर, पञ्चपुरी, गुर्भाकोट र भेरीगंगा नगरपालिका तथा सिम्ता र बराहताल गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिलचियर बनाउँदै बितरण गरिएको बताउनुभयो । उहाँका अनुसार उनीहरुको अपाङ्गताको अवस्था हेरी नाप लिएर व्हिलचियर बनाएर बितरण गरिएको छ । व्हिलचियरसँगै हिंड्न सघाउने वाकर, पुस अफ बारलगायतका सामग्री पनि दिइएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई झण्डै एक लाख मूल्य बराबरका व्हिलचियर सामग्रीहरु निःशुल्क बितरण गरिएको छ ।
उनीहरुलाई व्हिलचियरसँगै त्यसमा बस्न तथा नियमित कामकाज गर्न र परामर्शसमेत दिने गरिएको छ । आईएनएफ सुर्खेतका अकुपेसनल थेरापिस्ट कृष्टि घर्ती मगरले अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिलचियरसँगै यसमा कसरी बस्ने, कसरी चलाउनजस्ता सीप तथा परामर्शहरु सिकाएर पठाउने गरिएको बताउनुभयो ।
यस्तै जोनी एण्ड फ्रेण्डका नेपाल प्रतिनिधि बिजया लुईटेलले यस वर्ष २५० वटा व्हिलचियरहरु वितरण गरिसकेको बताउनुभयो । उहाँले कर्णालीका रुकुम पश्चिम र सुर्खेतलगायत काठमाडौंका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता र मागको आधारमा बितरण गरिएको जानकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले निःशुल्क व्हिलचियरको सहायताले अपाङ्गता भएका व्यक्तिहरुलाई सहज जीवनयापनमा सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा पनि यस्तै सहकार्य र समन्वयका साथ अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री निर्माण गर्दै वितरणको कार्यमा सघाइनेछ ।
आईएनएफ नेपाल सुर्खेतका लोकराज गौतमले स्थानीय तहसँगको सहकार्य र सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्रीहरु बितरण गरिरहेको जानकारी दिनुभयो । संस्थाको आफ्नै अपाङ्गता सहायता सामग्री निर्माण केन्द्रसमेत भएकोले निर्माण गर्दै बितरण गरिएको उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap