सुर्खेत ।
वीरेन्द्रनगरका दलित तथा जनजातिहरुका लागि सरकारले छुट्याउने बजेट अपर्याप्त भएको सरोकारवालाहरुले गुनासो गरेका छन् । उनीहरुले बजेट अपर्याप्त हुँदा कार्यक्रमहरु गर्न नसकिएको हुँदा यी बर्गका लागि पर्याप्त मात्रामा बजेट छुट्याउनुपर्ने माग गरेका छन् ।
दलित महिला संघ सुर्खेतले सोमवार सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले दलित, जनजाति, महिला तथा अपांगता भएकाहरुको नाममा बजेट न्यून भएकोले बढाउनुपर्ने जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका अधिकृत मानबहादुर कार्कीले दलित तथा जनजातिलाई संविधानले अधिकार सुनिश्चित गरेपनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो । उहाँले दलित, महिला, जनजाति भएका कारणले बजेट छुट्याउनुपर्ने नभइ उनीहरुको अधिकारका लागि छुट्याउनुपर्ने सुझाव दिनुभयो । दलित, अपांगतालगायत कसैलाई पनि विभेद गर्न नहुने भन्दै उहाँले राज्यले नै अधिकार प्रत्याभूति गर्नुपर्ने उल्लेख गर्नुभयो ।
वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य एवं सामाजिक विकास समितिका संयोजक टिका घलेले दलित तथा जनजातिका क्षेत्रमा बजेट अपर्याप्त भएको बताउनुभयो । उहाँले दलित, जनजाति महिलाका नाममा थोरै रकम दिने र त्यसबाट झारो टार्ने काम भइरहेको हुँदा चाहे जति काम पनि गर्न नसकिएको स्वीकार्नुभयो । पछिल्लो समय नगरपालिका तथा वडाले धेरै बजेट फोहोर व्यवस्थापन लगायत अन्य शीर्षकमा छुट्याएको र दलित तथा जनजाति महिलाका क्षेत्रमा थोरै हुँदा काम पनि फलदायी हुने नसकेको उहाँको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाकक —६ का वडा सदस्य कमला नेपालीले दलितका अधिकारका कुरा संविधानले सुनिश्चित गरेपनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो । दलित, महिला लगायतले अव सीपमूलक र आयआर्जनमा संलग्न गराउनुपर्ने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने उहाँले जनाउनुभयो । गैरसरकारी संस्थाका अध्यक्ष प्रकाश सारुले दलित महिला संघले दलित महिलाका मात्र नभई दलित र जनजाति भित्र अपागङता भएका बालबालिकाका मुद्दालाई पनि समेट्नु पर्ने सुझाव दिनुभयो । दलित र जनजाति महिलामा हुने लैंगिक हिंसा कम गर्न पहिला महिलालाई सचेतना जगाउन जरुरी रहेको उहाँको भनाई छ ।
सुर्खेतमा कुल जनसंख्या मध्ये २६ प्रतिशत दलितको बसोबास रहेकोले जातीय छुवाछूत, लैगिङ्ग हिसा, बालबिवाह, घरेलु हिसा बहुविवाह छाउपडी प्रथा अझै कायम नै रहेको दलित महिला संघ सुर्खेतले जनाएको छ । यस्तै सबैभन्दा धेरै दलित महिलाले नागरिकता नपाउने समस्या पनि भोगेको जनाइएको छ । जिल्लाका ८० जना सहभागीले कानुनी सचेतना शिविर मार्फत बालबिवाह, बहुविबाह, घरेलु हिंसा, लागूपदार्थ दुब्र्यसन जस्ता सामाजिक अपराधका बारेमा जानकारी पाई समुदाय स्तरमा हानिकारक अभ्यास न्यूनीकरण समेत गरेको दलित महिला संघ सुर्खेतले जनाएको छ । दलित महिला संघ सुर्खेतका सचिव खगिसरा वलीले संस्थाले नेपालमा दलित महिला र किशोरीको मानब अधिकार प्रबद्र्धन परियोजनामार्फत वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका विभिन्न महिला र किशोरीहरुलाई आयमूलक तथा सचेतना शिक्षा दिएर हानिकारक प्रथा न्यूनीकरणमा सघाइरहेको जानकारी दिनुभयो ।