सुर्खेत ।
सुर्खेतका एक सय बढी युवायुवतीहरु लोप हुन लागेको कला संस्कृतिको संरक्षणमा जुटेका छन् । सुर्खेतका पुराना बाजा, भाका, लयका गीत तथा नृत्यलाई युवाहरुले सिकेर विभिन्न कार्यक्रममा प्रस्तुतसमेत गरेका छन् । अक्सफामको सहयोगमा युवालय र वाईजी इन्टरटेन्मेटले संचालन गरेको युवासँग हाम्रो सहायात्रा परियोजनाको दुई वर्षे कार्यक्रमबाट उनीहरुले लोप हुन थालेका संस्कृति संरक्षण गर्न अग्रसर भएका हुन् ।
लोप हुन थालेका कला संस्कृतिवारे युवाहरुलाई सिकाउने र संरक्षणमा सघाउने उद्देश्य यो कार्यक्रमको रहेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १, ४, ८ र ११ का १२० जना युवायुवतीहरुलाई लोपोन्मुख कला संस्कृतिवारे सिकाउने र कम्प्यूटरको ज्ञानसमेत दिइएको छ । सुर्खेतस्थित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका कलाकारहरुले ती युवाहरुलाई करिव डेढ महिना नृत्य तथा संगीत सिकाउने काम गरेको थियो ।
वीरेन्द्रनगर नगरपालिका—४ की कक्षा ९ मा अध्ययनरत रेश्मा जैसीले लोप हुने अवस्थामा रहेका संस्कृतिहरु सिकेर विभिन्न कार्यक्रममा प्रदर्शन गरिएको बताउनुभयो । आफूले मारुनी र झ्याउरे नृत्य बढी मन पर्ने र त्यही सिकेको जनाउनुभयो । नयाँ संस्कृति राम्रो भएपनि आफूलाई पुरानै संस्कृति बढी मन पर्ने भएकोले आफूले सिकेर विभिन्न कार्यक्रममा प्रदर्शन गरेको उहाँको भनाइ छ । नयाँ पुस्तालाई पुराना कला संस्कृतिहरु थाहा नभएकोले सवैले सिकाउनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै बीरेन्द्रनगर—१ का सानु परियारले पनि लोपोन्मुख संस्कृति सिक्न पाएकोमा खुसी व्यक्त गर्दै परियोजनाले कलामा लाग्न प्रेरित गरेको जनाउनुभयो । उहाँले नृत्यसँगै कम्प्यूटर सिकेर इडिटिङ गर्न पनि सिकेको जानकारी उहाँले दिनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र मन्दिरले युवाहरुलाई लोपोन्मुख संस्कृति सिकाउन पाउँदा आनन्द लागेको बताउनुभयो । उहाँले पछिल्लो समय पुराना संस्कृतिहरु लोप हुन थालेको भन्दै यसलाई विकास साझेदारका साथै स्थानीय तहहरुले पनि संरक्षण गर्न पहल गर्नुपर्ने जनाउनुभयो । केही युवाहरुले पुराना कला संस्कृति सिक्न खोजेको र केहीले नयाँ आधुनिक संस्कृति खोजेको भन्दै उहाँले तर स्थानीय सरकारहरुले लोप हुने अवस्थामा रहेका कला संस्कृतिलाई जोगाउन प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
बीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष खिमलाल देवकोटाले कला संस्कृतिको जगेर्नामा वडा र नगरपालिकाले ध्यान दिएको जिकिर गर्नुभयो । उहाँले युवा पुस्तालाई कला संस्कृतिवारे जानकारी दिइ संरक्षणमा टेवा दिनु उत्तम भएको जनाउनुभयो । उहाँले आगामी वर्षदेखि वडामा लोपोन्मुख कला संस्कृति जोगाउन बजेट छुट्याइ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयको महिला विकास शाखाका अधिकृत अनिता ज्ञवालीले युवा अवस्थाबाटै संस्कृति जोगाउन लाग्नु अरुका लागि प्रेरणा भएको बताउनुभयो । उहाँले कुलतमा फस्न सक्ने युवाहरुलाई कला संस्कृतिमा लगाएर योग्य बनाउन खोजिएकोप्रति सह्राना व्यक्त गर्दै यस्ता काममा सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
परियोजनाका मिडिया अफिसर सिर्जना बुढाथोकीले सुर्खेतसहित दैलेख र कैलालीका चार वटा पालिकाका दुई सय भन्दा बढी युवाहरुलाई कला संस्कृति जोगाउन प्रेरित गरिएको बताउनुभयो । हराउन र बिर्सन थालेका संस्कृतिलाई जगेर्ना गर्दै युवाहरुलाई सिकाउनु परियोजनाको उद्देश्य रहेको उहाँको भनाइ छ । नयाँ पुस्ताले पनि पुरानो कला संस्कृतिको संरक्षण गर्नुपर्ने भावना विकास गराउने प्रयास भइरहेको उहाँको भनाइ छ । यसैविच युवाहरुलाई सिकाउन प्रयोग रिएका बाजाहरु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । ती बाजामा झ्याली, दमाहा, कर्नाल, सहनाईलगायत छन् ।