१७ बैशाख २०८२, बुधबार

जग्गा भाडामा लिएर विपन्न महिला तरकारीबाट आत्मनिर्भर

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
जग्गा भाडामा लिएर विपन्न महिला तरकारीबाट आत्मनिर्भर
0 Shares

सुर्खेत ।

भेरीगंगा नगरपालिका—१२ छिन्चुकी पूर्णकला सुनारसँग आफ्नो जग्गा छैन । आफ्नो जग्गा नभएपनि अरुको जग्गा भाडामा लिएर उहाँले तरकारी खेती गर्नुभएको छ । त्यही तरकारी खेतीबाट उहाँको घरासयी खर्च चल्नुका साथै केही रकम बचत पनि गर्नुभएको छ । सानो कामका लागि पनि श्रीमानसँग पैसा माग्नुपर्ने अवस्थाबाट उहाँ आफैले श्रीमानलाई उल्टै रकम दिने गर्नुहुन्छ ।


विगतमा श्रीमानसँग रकम माग्नुपर्दा अपमान सहनुपरेको तर अहिले आफै तरकारी खेतीमा संलग्न भइ आम्दानी गर्न सफल भएपछि पैसा माग्नुपर्ने अपमानबाट छुटकरा मिलेको अनुभव उहाँले सुनाउनुभयो । उहाँका अनुसार अहिले आफूहरुको गोजीमा दुई चार पैसाको अभाव छैन । पहिले २० रुपियाँ बचत गर्ने गरेकोमा अहिले तरकारी बेचेर ५० रुपियाँ बनाइएको छ । आफ्नो जग्गा नभएपनि अरुको जग्गा भाडामा लिएर तरकारी खेती गर्दा स्वस्थ तरकारी खान पाइएको र बिक्री गरी दुई चार रुपियाँ बचत गर्न सकिएको उहाँको भनाइ छ ।
सोही स्थानी गौमाया बोहरा पनि भाडाकै जग्गामा लगाएको तरकारी बेचेर छोरालाई भेटेरीनरी जेटिए र छोरीलाई १२ कक्षा पढाउँदै हुनुहुन्छ । उहाँले तरकारी बेचेर सिजनमा कम्तीमा एक लाख रुपियाँको दावी गर्नुहुन्छ । कामबिहीन भएका श्रीमानलाई समेत उहाँले तरकारी खेतीमा संलग्न गराएर परिवार आत्मनिर्भर बनेको बताउनुभयो । जग्गामा बजारमा बढी खपत हुने आलु, टमाटर, बन्दा, धनियाँ, काउलीजस्ता तरकारीहरु उत्पादन हुने गरेको छ ।
छिन्चुका करिव १५ जना महिलाहरु सहभागी भएर चार जना स्थानीयको १७ रोपनी जग्गा भाडा लिएका छन् । सो जग्गामा उहाँहरुले तरकारी खेती गर्नुभएको छ । सिजन अनुसारको तरकारी खेती गरेपछि विगतमा आफै किनेर खाने गरेकोमा अहिले उल्टै बजारमा बेचेर आम्दानी गर्न सफल भएका छन् । बजार पनि नजिकै छ । विक्रीलाई समस्या छैन । वार्षिक २५ हजार भाडामा लिएको जग्गामा उत्पादन गरेको तरकारीले ती महिलाहरुको जीवनस्तर केही हदसम्म सुधार भएको छ ।
पहिलो वर्ष सामान्य उत्पादन भएपनि गतवर्ष भने राम्रो उत्पादन भएको रुपादेवी धामीले बताउनुभयो । यद्यपि सिंचाईको अभाव भएकोले त्यसका लागि पहल गरिदिन सरोकारवालाई उहाँले सुझाव दिनुभयो । तरकारी खेतीमा संलग्न महिलाहरु सवै विपन्न समुदायका छन् । उनीहरुलाई सहयोगी हातहरुको समूह (सहास) नेपालले संकाटासन्न र सीमान्तकृत समुदायको लागि जलवायु उत्थानशील परियोजनाबाट जलवायु उत्थानशील व्यवसायमा संलग्न गराइएको हो । उनीहरुलाई तरकारी खेतीका लागि आवश्यक पर्ने प्रविधि, ज्ञान, औषधि तथा टनेल निर्माण तथा अन्य गैर कृषि क्षेत्रमा सहयोग गरिएको छ ।
परियोजना संयोजक रोशनी घिमिरेले अति विपन्न महिलालाई जीविकोपार्जनमा संलग्न गराउन जलवायु उत्थानशील तथा तरकारी खेतीमा संलग्न गराइएको बताउनुभयो । केहीले जग्गा भाडामा लिएर भएपनि विपन्न महिलाहरु तरकारी खेतीमा संलग्न भइ आफ्नो जीवनस्तरमा सुधार गर्दै आएको र केहीको गैर कृषि जस्तै साना खुद्रा पसल संचालन गरेर जीविकोपार्जनमा संलग्न रहेको उल्लेख गर्नुभयो । परियोजनाले सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा गरी २७ वटा समूहमा काम गर्दै आएको छ ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले नगरपालिकाले विपन्न समुदायलाई छनोट गरी आयआर्जनमा संलग्न गराउन दिएको सुझाव अनुसार परियोजना गएको र सफल पनि भएको आफूले पाएको बताउनुभयो । उहाँले विपन्न महिलाहरुले तरकारी खेती गरेर स्वरोजगार बनेकोमा खुसी व्यक्त गर्दै यसैगरी आयआर्जनमा संलग्न भए गरिवी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । छिन्चुमा बाहिरबाट आउने तरकारीहरु अव स्थानीय कृषकहरुले उत्पादन गरेका स्वदेशी तरकारीले विस्थापित गराउनुपर्ने भन्दै उहाँले त्यसका लागि स्थानीय तह र विकास साझेदार संस्थाविच समन्वय गरी कार्यक्रमहरु संचालन गर्नुपर्ने सुझाव दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap