सुर्खेत ।
कर्णाली र लुम्बिनी प्रदेशको विकास निर्माण तथा जनजीविकाको सवालमा दुवै प्रदेशले आगामी दिनमा साझेदारी गर्ने प्रतिवद्धता जनाएका छन् । सुर्खेतमा आयोजित दुवै प्रदेशको संयुक्त वैठकपछि १९ बुँदे प्रतिवद्धतामा सम्झौता गर्दै दुई प्रदेशको विकास निर्माण र जनजीविकाकार्ला सहज गराउने साझेदारी गरेका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रवार सो प्रतिवद्धतापत्रमा संयुक्त हस्ताक्षरत गर्नुभएको छ । जस अनुसार राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन छिटो सम्पन्न गराउन दुवै प्रदेशका तर्फबाट संघीय सरकारलाई आव्हान गर्ने र स्थानीय स्तरका आयोजनाहरु स्थानीय तहसहमेतको समन्वयमा विवाद समाधान गर्न पहल गर्ने, कर्णाली र लुम्बिनी प्रदेश जोड्ने जमुनाह—हिल्सा सडक, सुर्खेत—तेलपानी—भुरीगाउँ सडक, राप्ती लोकमार्ग, कोहलपुर—सुर्खेत सडक बिस्तार तथा कोहलपुर—बबई तथा बबई—छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययनमा दुई प्रदेशले नेपाल सरकारसँग समन्वयका साथ साझेदारी र सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ ।
यसैगरी कोहलपुर—सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन बिस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने, लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने, भैरहवा—सुर्खेत हवाई सेवा संचालनका लागि नेपाल सरकारलाई आग्रह गर्ने, दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुनसक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने तथा विपद् व्यवस्थपनका लागि दुवै प्रदेशले साझेदारी, सहकार्य र समन्वयात्मक ढंगबाट काम गर्न पनि प्रतिवद्धता जनाइएको छ ।
साथै प्रदेश कानुन बमोजिम लगाइने करका सम्वन्धमा दुवै प्रदेशविच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधानबाट संकलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता काम गर्ने, लुम्बिनीमा आउने धार्मिक पर्यटकहरुलाई कर्णालीको साहसिक पर्यटकीय गन्तब्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माणको गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने, दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने, दुवै प्रदेशको सीमानामा रहेका नदीनालहरुमा जलविद्युत उत्पादन, प्रसारण लाइन बिस्तार, खानेपानी तथा सिंचाई संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने, प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारहरुको निर्माण दुवै प्रदेशको सहलगानी र साझेदारीमा गरिनेछ ।
यस्तै दुवै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्ने, सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणलाई संयुक्तरुपमा कार्यक्रम संचालन गर्ने, सुर्खेतको भेरीगंगा नगरापालिका—१ र बर्दियाको बाँसगढी नगरपालिका—१को सिमा विवाद प्रचलित कानुन र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारीर अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजारसम्म पु¥याउन र लुम्बिनीको खाद्यान्न लगायत अन्य कृषि उत्पादनलाई कर्णाली प्रदेशका बजार केन्द्रसम्म पहुँच बढाउन बजार पूर्वाधार तयार गरिने तथा दुवै प्रदेशको समृद्धि यात्रामा साझा सहकार्य, समन्वय र साझेदारी गर्ने प्रतिवद्धता दुवै मुख्यमन्त्रीहरुले गरेका छन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले दुवै प्रदेशले गरेको प्रतिवद्धतालाई पूर्ण बजेटका साथ कार्यान्वयन गर्ने दावी गर्नुभयो । उहाँले यी प्रतिवद्धताले लुम्बिनी र कर्णालीको विकास समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेशको अधिकार प्रयोग गर्दै अगाडि बढ्ने जनाउनुभयो । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको दक्षिण नाका जोडिएको लुम्बिनी प्रदेशसँग गरिएको प्रतिवद्धताले कर्णालीको समृद्धिमा टेवा पुग्ने जिकिर गर्नुभयो । उहाँले विशेषगरी सुर्खेत—तेलपानी—भुरीगाउँ सडक तथा १३२ केभीए विद्युत प्रसारण लाइन लगायत अन्य विकास आयोजनामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले गरेको सम्झौता अनुसार सहकार्य र साझेदारीमा काम गर्न सकिने उल्लेख गर्नुभयो । साथै अन्य विषयहरुमा दुवै प्रदेशविच समन्वयका साथ अगाडि बढेर निकास निकालिने उहाँको भनाइ छ ।