सुर्खेत ।
सुर्खेत जिल्लामा कार्यरत सरकारी, गैरसरकारी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आर्थिक वर्ष २०८०÷०८१ मा गरेका काम प्रगतिहरुको समीक्षा सार्वजनिक गर्न सुरु गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा आइतवारदेखि ती कार्यालयहरुले आ—आफ्नो प्रगति समीक्षा सार्वजनिक गर्न सुरु गरेका हुन् ।
पहिलो दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरुको प्रगति समीक्षा सार्वजनिक गरिएको छ । गैरसरकारी संस्था महासंघ, इन्सेक, आईएनएफ, विश्व खाद्य कार्यक्रम, किर्डाक, केयर नेपाल, प्लान इन्टरनेशनललगायतका विकास साझेदार संस्थाहरुले आफ्नो प्रगति सार्वजनिक गरेको निमित्त स्थानीय विकास अधिकारी रामबहादुर बुढाले बताउनुभयो ।
आगामी विहीवारसम्म समीक्षा गरिने कार्यक्रममा जिल्लाभित्रका ८७ वटा कार्यालयहरुलाई पत्राचार गरिएको छ । सोमवार पनि विकास साझेदार कार्यालयहरुले प्रगति सार्वजनिक गर्नेछन्भने मंगलवार जिल्ला तथा प्रदेशमा रहेका संस्थान तथा प्रदेशस्तरीय कार्यालयहरु, बुधवार संघीय कार्यालय र आयोजनाहरु तथा अन्तिम दिन विहीवार स्थानीय पालिकहरुले आ—आफ्ना प्रगतिहरु सार्वजनिक गर्ने जानकारी निमित्त स्थानीय विकास अधिकारी बुढाले दिनुभयो ।
समीक्षा कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले गर्नुभएको थियो । समीक्षामा सहभागी राष्ट्रिय सभा सांसद नरबहादुर विष्ट, कर्णाली प्रदेशसभा सदस्य खड्क पोखरेललगायतले विकास साझेदार संघसंस्थाहरुलाई सदरमुकाम र वरिपरिका पालिकाहरुमा कार्यक्रम केन्द्रीत नगर्न सुझाव दिदैं दुर्गम पालिकाहरुलाई प्राथमिकता दिन आग्रह गरेका थिए । सवै संघसंस्थाहरु सुगम र नजिकमा मात्रै केन्द्रीत हुने र दुर्गममा नहुँदा समग्र जिल्लाको विकासमा बाधा पुग्ने भएकोले अवदेखि दुर्गमका पालिकामा पनि कार्यक्रम संचालन गर्न उहाँहरुले सुझाव दिनुभएको थियो । पहिलो दिन विकास साझेदार संस्थाहरुले सार्वजनिक गरेको कार्यक्रममाथि छलफल गर्दै उनीहरुलाई जिल्लाका सुगमभन्दा दुर्गम स्थानहरुमा कार्यक्रम संचालन गर्न सुझाव दिइएको निमित्ति स्थानीय विकास अधिकारी बुढाले बताउनुभयो । जिल्लामा कार्यरत सरकारी, गैरसरकारी तथा विकास साझेदार संघसंस्थाहरु कति रहेछन्, उनीहरुले वर्ष दिनमा के कस्ता काम गरेछन्, कति प्रगति भएछ र विगतमा के कस्ता चुनौतीहरु भोग्नुप¥यो तथा आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने उद्देश्यले समीक्षा कार्यक्रम राखिएको निमित्त स्थानीय विकास अधिकारी रामबहादुर बुढाले बताउनुभयो । यस वर्ष विविध कारणले ढिलाई भएको तर आगामी वर्षदेखि साउनभित्र समीक्षा कार्यक्रम गरिसक्ने पनि उहाँले जनाउनुभयो ।