सुर्खेत ।
प्राकृतिक रुपमा मृत्यु भएर वातावरण दुषित बनाउने सिनो खाएर वातावरण सफा बनाइ प्रकृतिको कुचिकारको उपमा पाएका गिद्धहरुको संरक्षणमा कर्णाली प्रदेश सरकारले पहिलो पटक चासो देखाएको छ । नेपाल पन्छी संरक्षण संघ काठमाडौंले कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसँग गरेको एक कार्यक्रममा पहिलो पटक प्रदेश सरकारले गिद्ध संरक्षणका लागि चासो देखाउँदै बजेट छुट्याई विभिन्न कार्यक्रम गर्ने जनाएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कार्यक्रम र बजेट नै छुट्याएर गिद्ध संरक्षणको काम थाल्ने जनाएको छ । मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले यसअघि कर्णालीमा गिद्ध संरक्षणवारे कुनै काम नभएपनि आगामी वर्ष विशेष कार्यक्रम र बजेट नै छुट्याएर काम थालिने जनाउनुभयो । उहाँले आगामी वर्ष कम्तीमा २० लाख बढी रकम छुट्याएर गिद्ध संरक्षणका कामहरु गरिने बताउनुभयो । यसका साथै गिद्ध संरक्षणका लागि उनीहरुको बासस्थान रहेको रुख र गुँड संरक्षण गर्ने, गिद्ध रेष्टुरेन्टु संचालनको पहल थालिने, संरक्षणकर्ताहरुलाई प्रोत्साहन गर्ने, यसका वारेमा थप अध्ययन अनुसन्धान गर्ने र समुदायमा सचेतनाजस्ता कार्यक्रमहरु गर्न सकिने उहाँको भनाइ छ ।
यस्तै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णालीमा पनि विभिन्न प्रजातिका गिद्धहरुको बासस्थान रहेको बताउँदै यस अघि प्रदेशमा गिद्ध संरक्षणको कुनै काम नै नभएको जनाउनुभयो । उहाँले स्थानीय तहका पाठ्यक्रममा पनि गिद्ध संरक्षणको पाठहरु राख्नुपर्ने सुझाव दिदैं उहाँले आफूले पनि त्यसका लागि मन्त्रालयबाट गर्ने प्रयास थाल्ने बताउनुभयो । उहाँले कर्णालीका १० वटै जिल्लाका वन डिभिजन कार्यालयहरुले आगामी वर्षदेखि आफ्नो जिल्लाको अवस्था अनुसार संरक्षणका कामहरु गर्न निर्देशन दिने जानकारी दिनुभयो ।
उहाँले आफू मन्त्री पदमा भएपनि नभएपनि गिद्ध संरक्षणको काम र योजना बनाउन आग्रह गर्दै त्यसका लागि कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो । अवदेखि गिद्ध संरक्षणप्रति सवैले चासो राख्नपनि जोड दिनुभयो ।
गिद्ध संरक्षणको क्षेत्रमा काम गर्दै आएको नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले विगतमा डाइक्लोफेनिक सोडियमका कारण धेरै गिद्धहरु मरेको भन्दै पछिल्लो समय संरक्षणमा चासो दिएपछि संख्या पनि बढ्दै गएको बताउनुभयो । उहाँले २०६३ साल जेठ २३ गते नेपालमा डाइक्लोफेनिक सोडियम औषधि पशुपन्छीमा प्रयोग मुक्त गराइएपछि गिद्धको संख्या बढ्दै गएको जानकारी दिनुभयो ।
गिद्ध संरक्षण अभियन्ता जाजरकोटका बारेकोट निवासी गोविन्दबहादुर सिंहले कर्णालीमा विगतमा सरकारी तवरबाट गिद्ध संरक्षणमा कुनै पहल नभएको भन्दै अव भने कर्णाली प्रदेश सरकारले चासो देखाएकोमा सह्राना व्यक्त गर्नुभयो । साथै संरक्षणमा बजेट, योजना र प्रोत्साहन दिए यसमा धेरै अनुसन्धान गर्न सकिने उहाँको भनाइ छ ।
नेपालमा ७०९ गुँड
नेपालमा ७०९ वटा गिद्धका गुँडहरु रहेका छन् । जसमा ५१२ वटा गुँड सफल भएका छन् । संसारमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका गिद्धहरु पाइन्छन् । त्यसमा पनि ६ प्रजातिका रैथाने र तीन प्रजातिका बाहिरका रहेको परियोजना अधिकृत नेपालीले बताउनुभयो । नेपालमा पाइने सुन गिद्ध, हिमाली गिद्ध, राज गिद्ध, हाडफोर गिद्ध र सेतो गिद्ध लोपोन्मुख अवस्थामा छन् ।
कर्णालीमा २१२ गिद्ध
कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी २१२ वटा गिद्ध रहेको पाइएको छ । जाजरकोट, सुर्खेत, रुकुम पश्चिमलगायतका जिल्लामा गिद्धहरुको बास स्थान रहेको जनाइएको छ । कर्णालीमा २१२ वटा गिद्ध र ६३ वटा गुँड फेला परेको बताउनुभयो । गुँड रहेका रुखहरु काट्ने, विष हालेको सिनो खानाले गिद्धको संख्यामा कमी आएको छ । गिद्ध संरक्षणका अभियन्ता सिंहले नेपालमा पाइने नौ प्रजातिका मध्ये कर्णालीमा पाँच प्रजातिका पाइने जानकारी दिनुभयो । कर्णालीमा देखिएका गिद्ध पनि लोपोन्मुखको सूचिमा रहेका छन् ।