सुर्खेत ।
क्षयरोग, कुष्ठरोग र फिस्टुलाको क्षेत्रमा लामो समयदेखि उपचारात्मक, प्रचारात्मक काम गर्दै आएको आईएनएफ नेपालको ७२ औं बार्षिकोत्सव मनाइएको छ । आइतवार आईएनएफ नेपाल सुर्खेत साइनिङ अस्पताल सुर्खेतमा एक कार्यक्रम गरी ७२ औं बार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्यको क्षेत्रमा आईएनएफले निकै लामो सेवा यात्रा गरेकोमा सह्राना व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्यमा पनि विशेषगरी क्षयरोग, कुष्ठरोग, अपांगता भएका व्यक्तिहरु र फिस्टुलाका विरामीहरुलाई धेरै निको बनाउन आईएनएफले धेरै योगदान स्मरण गर्नुभयो । जसका कारण अहिले क्षयरोग, कुष्ठरोग, फिस्टुलाको उपचार सहज भएको, अपांगता भएका व्यक्तिहरुको उपचारका साथ सहायता सामग्री पाउन सहज भएको उहाँको भनाइ छ ।
आईएनएफ नेपाल साइनिङ अस्पतालका संयोजक ललितबहादुर सारुले उपचार सेवामा विगतमा कुनै भेदभाव नभएको र आगामी दिनमा पनि भेदभाव नहुने प्रतिवद्धता जनाउनुभयो । उहाँले सुर्खेतमा आईएनएफले क्षयरोग, कुष्ठरोग, फिस्टुलालगायत अन्य विकासका काममा पनि सहकार्य गर्दै आएको बताउँदै जसका कारण धेरैले सेवा पाएको उल्लेख गर्नुभयो । ७२ वर्षसम्मको यात्रा सवैको सहयोगले गर्दा भएकोले आगामी दिनमा पनि स्वास्थ्यको क्षेत्रमा अझै धेरै यात्रा तय गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा सहभागी प्रदेश अस्पतालका मेडिकल रेकर्डर विनोद बस्नेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का वडा सदस्य यामनारायण आचार्य, पास्टर सलोमन गुरुङ, पूर्व कर्मचारी ज्ञानबहादुर गुरुङ, गणेश गिरीलगायतले आईएफएले पु¥याएको योगदानको चर्चा गर्नुभयो । सो अवसरमा फिस्टला केन्द्रका प्रमुख कान्तप्रसाद सुवेदीले गत वर्ष आईएनएफ सुर्खेतले गरेको कामको प्रगति सार्वजनिक गर्नुभयो ।
गत वर्ष कुष्ठरोग उपचारमा १० हजार आठ सय लक्ष्य रहेकोमा १३ हजार ९१० जनाले सेवा लिएका छन् । यस्तै ल्याव सेवाको लक्ष्यमा ५ हजार ८८० रहेकोमा १२ हजार २३२ जनाले सेवा लिएको, फिजियोथेरापीको लक्ष्य ४ सय रहेकोमा ९६४ ले लिएको, अपांगता भएका व्यक्तिहरुलाई प्रदान गर्ने सहायता सामग्री लक्ष्यमा १४४ रहेकोमा १८४ जनाले लिएको, ४० जनाले सीपमूलक तालिम लिएको, ३२ वटा अपांगता मैत्री संरचना निर्माणमा सहयोग गरेको सो अवसरमा जानकारी दिइएको थियो ।
यसैवीच बार्षिकोत्सवको अवसर पारेर आईएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतमा उपचाररत १५ जना विरामीलाई न्यानो कपडा प्रदान गरिएको आईएनएफ सुर्खेतका फोकलपर्सन उदयनाथ योगीले बताउनुभयो ।