सुर्खेत ।
कर्णाली प्रदेशमा निजी क्षेत्रको नेतृत्व गर्दै आएको सुर्खेतको निजी क्षेत्रले जिल्ला र प्रदेशसँग सरोकार राख्ने विकासमा साझेदारी गर्ने नीति लिएको छ । सुर्खेत उद्योग बाणिज्य संघको ४१ औं बार्षिक साधारणसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संघले जिल्ला र प्रदेशको विकासमा समन्वय, पहल र सहयोगमा साझदोरी गर्ने नीति लिएको हो ।
प्रादेशिक स्तरको औद्योगिक क्षेत्र स्थापना, सुर्खेतमा स्थापना गर्न लागिएका सूर्यतारा सिमेन्ट, चौकुने सिमेन्ट र लखरपाटा सिमेन्ट उद्योग संचालन, दैलेखको पेट्रोलियम खानी उत्खनन्, अन्वेषण, प्रसोधन र उत्पादनका काममा आवश्यक पहल, प्रयास र सहयोग गर्ने जनाइएको छ । यस्तै कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा नियमित हवाई उडानका लागि निजी एयरलाइन्स कम्पनीसँग छलफल गर्ने, एक जिल्ला एक उद्योगको अवधारणा अनुसार उद्योगको विकास गर्ने, १३२ केभीए राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तार, वीरेन्द्रनगरको सुब्वाकुनादेखि बाँगेसिमलसम्मको चार लेनको सडकलाई छ लेनको बनाउन, सुर्खेतलाई स्मार्ट सिटीका रुपमा विकसित गर्न आवश्यक भौतिक, पूर्वाधार एवं संरचना निर्माणमा पनि स्थानीय तथा प्रदेश सरकारसँग सँगसँगै अघि बढ्ने संघका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो ।
यसैगरी सुर्खेत—मालारानी, सल्यान हुँदै दाङ तथा सुर्खेत तेलपानी हुँदै बर्दियाको भुरीगाउँ सडक निर्माण, सुर्खेत—कोहलपुर सडक दुई लेन तथा सुर्खेतदेखि रारा जोड्ने सडक कालोपत्रे तथा स्तरोन्नति, कर्णालीका सवै जिल्ला जिल्लाहरुमा सडक संजाल तथा नियमित हवाई सेवा, प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको मुख्य चोकहरुमा आकाशे पुल निर्माण र सिसी क्यामरा जडान गर्ने काममा पनि निजी क्षेत्रले साझेदारी गर्ने जानकारी उहाँले दिनुभयो ।
५० देखि एक सय जनालाई रोजगारी सिर्जना गर्ने प्रकृतिका उद्योगहरुको जग्गा, रजिष्ट्रेशन, उद्योग दर्ता नवीकरण, आन्तरिक तथा बाहृय लगानी आकर्षित गर्न जग्गा खरिदमा राख्ने राजश्व छुट, सुर्खेतमा व्यवसायिक कम्प्लेक्स निर्माण, कर्णालीमा सम्भावना रहेका साना तथा मझौला किसिमका जलविद्युत आयोजनाहरु, रारा, शे—फोक्सुण्डो जस्ता पर्यटकीय क्षेत्रमा होटल संचालन गर्न चाहनेहरुलाई विशेष सहुलियत, जडिबुटी खेती गर्न चाहनो किसानलाई प्रोत्साहन, विभिन्न जिल्लामा हर्वल पार्कको स्थापना तथा बहुमूल्य खानी खनिजको अध्ययन, अनुसन्धान, अन्वेषण र उत्खनन्मा निजी क्षेत्रले तीन तहका सरकारसँग साझेदारी गर्न सकिने जानकारी अध्यक्ष कँडेलले दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा लगानी भित्र्याउन प्रदेश सरकारले आफ्नो तर्फबाट गर्न सक्ने सहयोगहरु गर्न पछि नपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई पनि सँगसँगै लैजान सकिए विकास तथा आर्थिक समृद्धिमा योगदान गर्न सकिने उल्लेख गर्दै त्यसका लागि आफू सदैव तयार रहेको बताउनुभयो । कर्णालीमा लगानी गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको हुँदा त्यसमा लगानी भित्र्याउने वातावरण तयार गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णालमिा जल, जंगल, जमिन, जडिबुटी र पर्यटनको क्षेत्रमा लगानी भित्र्याउन सकिने अवस्था रहेको बताउनुभयो । उहाँले त्यसका लागि प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीले उद्योगी व्यवसायीहरुको पक्षमा धेरै काम भइरहेको जानकारी दिदैँ निजी क्षेत्रलाई पनि अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो। उहाँले प्राकृतिक लगायत अन्य दुर्घटनामा क्षति भोग्नुपरेका सात जना व्यवसायीहरुलाई जनही २५ हजारका दरले सहयोग प्रदान गरिएको, यसै आर्थिक वर्षदेखि सुर्खेतमा निर्माण गरिएको जडिबुटी प्रशोधन केन्द्र संचालनमा आउने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीलगायतले उद्योगी, व्यवसायीमैत्री वातावरण तयार गरिदिन आग्रह गर्नुभएको थियो । अहिले निजी क्षेत्र बैंकलगायतका कारणबाट प्रताडित भएको भन्दै उहाँले निजी क्षेत्रलाई सबल बनाउन सकिए तीन तहका सरकारले चाहेको आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो । सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।