सुर्खेत ।
कर्णालीको स्वास्थ्य अवस्थाको सूचकांकलाई हेर्दा सन् २०३० को दिगो विकास लक्ष्य भेटाउन चुनौती देखिएको छ । दिगो विकास लक्ष्य भेटाउन ६ वर्षको अवधि बाँकी रहेकोमा कर्णालीको स्वास्थ्यको सूचकांकको अवस्था हेर्दा कमजोर छ ।
कर्णालीको सामाजिक विकास मन्त्रालयले नै दिगो विकास लक्ष्य भेटाउने स्वास्थ्यको क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको जनाएको छ । नवजात शिुको मृत्यु दर, पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु दर, पुड्कोपना, कम तौललगायतका सूचकमा कर्णालीको अवस्था राष्ट्रिय सूचकको भन्दा कम छ । ६ वर्षको अवधिमा यी सूचकमा धेरै काम गर्नुपर्ने देखिएपछि त्यो पूरा गर्न असम्भवः प्राय छ । सन् २०२२ को स्वास्थ्यको तथ्यांकमा नवजात शिशुको मृत्यु दर कर्णालीमा प्रति हजार जीवित जन्ममा २६ जना छन् । राष्ट्रिय दर २१ हो । सन् २०३० मा १२ जनामा झार्ने लक्ष्य छ ।
यसैगरी पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु दरमा पनि कर्णाली निकै पछाडि छ । यसमा प्रति हजारमा कर्णालीमा ४६ जनाको मृत्यु हुने गरेको छ । जबकि राष्ट्रिय तथ्यांकमा ३३ छ । दिगो विकास लक्ष्यको अवधिमा २० जनामा झार्ने लक्ष्य छ । यस सूचकमा पुग्न निकै कठिनाइ हुने देखिएको छ । यस्तै पाँच वर्ष मुनिका बालबालिकाहरमा हुने पुड्कोपनाको सूचकमा पनि धेरै सुधार गर्नुपर्नेछ । यसमा राष्ट्रिय प्रतिशत २५ रहेकोमा कर्णालीको अवस्था ३५.८ प्रतिशत छ । सन् २०३० सम्म १५ प्रतिशतमा झार्नुपर्नेछ ।
यसैगरी पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने कम तौलको प्रतिशतमा पनि कर्णाली कमजोर छ । राष्ट्रिय औसत प्रतिशत १९ रहेकोमा कर्णालीमा १७.७ प्रतिशत छ । सन् २०३० मा यो प्रतिशत नौ प्रतिशतमा झार्नुपर्नेछ । मातृ मृत्यु दर पनि यहाँ बढी छ । मातृ मृत्यु दर प्रति लाख जीवित जन्ममा राष्ट्रिय औसतमा १५१ जना रहेकोमा कर्णालीको १७२ जना छन् । सन् २०३०मा यो संख्या ७० जनामा झार्नुपर्ने रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संस्थागत प्रसुतिको प्रतिशत पनि उस्तै छ । राष्ट्रिय औसतमा ७९.३ प्रतिशत रहेकोमा कर्णालीको ७२.५ प्रतिशत छ । दिगो विकास लक्ष्य अनुसार सन् २०३० मा ९० प्रतिशत पु¥याउनुपर्नेछ । कर्णालीमा अझै पनि घरमै सुत्केरी हुने चलन कायमै छ । सडकको सुविधा नहुँदा एम्बुलेन्सहरु चल्न नसक्नु, दक्ष जनशक्तिको अभावमा संस्थागत प्रसुतिमा सुधार ल्याउन धेरै काम गर्नुपर्ने छभने स्वास्थ्य वीमा पनि कर्णाली निकै कमजोर छ । हालसम्म कर्णालीमा २९ प्रतिशतले मात्रै स्वास्थ्य वीमा गरेका छन् । २०३० सम्म शतप्रतिशत पु¥याउनुपर्ने छ ।
स्वास्थ्यको अवस्थालाई हेर्दा दिगो विकास लक्ष्यको अवधिसम्म पुग्नका लागि धेरै काम गर्नुपर्ने स्वास्थ्य सम्वद्ध अधिकारीहरु बताउँछन् । प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले स्वास्थ्य क्षेत्रको आधा भन्दा बढी सूचकमा कर्णाली पछाडि रहेकोले धेरै काम गर्नुपर्ने बताउनुहुन्छ । उहाँले दिगो विकास लक्ष्यको अबको ६ वर्षको अवधिमा सरकारी तथा गैरसकारी निकायले कामको गतिलाई बढाई स्वास्थ्यको अवस्थामा सुधार ल्याउनुपर्ने जनाउनुभयो । उहाँले कर्णालीको मातृ मृत्यु दरमा विगतको तुलनामा सुधार आएको दावी गर्दै अन्य सूचकहरुलाई पनि यस्तै सुधार गर्दै ल्याउनुपर्ने सुझाव दिनुभयो ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दिगो विकास लक्ष्य भेटाउन कर्णालीको अवस्था हेर्दा धेरै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । उहाँले बाल मृत्यु दर, मातृ मृत्यु दरमा कमी आएपनि अन्यमा सुधार गर्नुपर्ने धेरै रहेको उल्लेख गर्नुभयो । कर्णालीमा डाक्टर आउन नचाहने, अन्य जनशक्तिको अभाव, भौगोलिक कठिनाई जस्ता कारणले यहाँको स्वास्थ्य क्षेत्र जटिल बनेपनि विगतको तुलनामा क्रमशः सुधार आइरहेको उहाँको भनाइ छ । आयुर्वेदलाई पनि अगाडि बढाउने, पोषणलाई अभियानका साथ संचालन गर्न सकिने स्वास्थ्यमा छिटै सुधार आउने सुझाव उहाँले दिनुभयो ।