१७ बैशाख २०८२, बुधबार

काँक्रेविहारमा बनभोज तथा रमाइलो गर्न बन्देज

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
काँक्रेविहारमा बनभोज तथा रमाइलो गर्न बन्देज
0 Shares

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—९ मा रहेको पर्यटकीय, पुरातात्विक एवम् ऐतिहासिकस्थल काँक्रेविहार संरक्षण क्षेत्रभित्र वनभोज खान तथा रमाइलो गर्न बन्देज लगाइएको छ । डिभिजन वन कार्यालय सुर्खेतले मङ्गलवार एक सूचना जारी गरी संरक्षण क्षेत्रभित्र रहेका बन्यजन्तुहरुको असुरक्षा बढ्ने, दुर्गन्ध फैलिएको तथा होहल्ला बढ्ने भएकोले अवदेखि बनभोज खान तथा रमाइलो गर्न पूर्णरुपमा बन्देज लगाएको हो ।


काँक्रेविहारमा बनभोज तथा पार्टी गर्ने चलन थियो । उक्त सूचनामा काँक्रेविहार संरक्षित क्षेत्रभित्र हुने बनभोज, पार्टीले होहल्ला जस्ता गतिविधिले बन्यजन्तु त्रसित हुने तथा जैविक विविधतामा नकारात्मक प्रभाव पर्ने भएकोले त्यस्ता गतिविधिहरु गर्न पूर्णरुपमा बन्देज लगाइएको जनाइएको छ । यदि सूचनालाई अटेर गरी त्यस्ता गतिविधिहरु गरेमा बन ऐन २०७६ बमोजिम कारबाही गर्ने चेतावनी पनि डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले विगतदेखि नै काँक्रेविहार क्षेत्रमा वनभोज, पार्टीजस्ता होहल्ला हुने गतिविधिहरुमाथि रोक लगाउन आवाज उठेको र अहिले स्थानीय तह तथा वडा कार्यालयसँग समन्वय गरी रोक लगाइएको बताउनुभयो । काँक्रेविहार संरक्षित क्षेत्र नेपालकै पहिलो संरक्षित वन हो । संरक्षित वन क्षेत्रभित्र वनभोजजस्ता जैविक विविधतामा असर पुग्ने कुनैपनि गतिविधिहरु गर्न पाइदैंन भन्दै उहाँले त्यसै अनुसार वीरेन्द्रनगर नगरपालिका र वडा नं. ९ सँग समन्वय गरी वनभोज र पार्टीजस्ता गतिविधिमाथि बन्देज लगाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
काँक्रेविहारमा वनभोज खान बन्देज लगाउने भन्दै गत साउन महिनामा बनभोज स्थलमा वृक्षारोपण गरिएको थियो । विभिन्न जडिबुटी तथा घाँस प्रजातिका विरुवाहरु रोपिएको थियो । डिभिजनल वन अधिकृत श्रेष्ठले काँक्रेविहार क्षेत्रमा बनभोजमा रोक आगामी वर्षसम्म पनि रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबदेखि काँक्रेविहार संरक्षण क्षेत्रभित्र वनभोज तथा पार्टी गर्न, होहल्ला गर्न तथा जैविक विविधतामाथि नकारात्मक प्रभाव पर्ने कुनैपनि गतविधिहरु गर्न पाइनेछैन ।’ १७६.७७ हेक्टर क्षेत्रफल रहेको काँक्रेविहारलाई नेपाल सरकारले विस २०५९ वैशाख ३० गते नेपालकै पहिलो संरक्षित क्षेत्र घोषणा गरेको थियो ।
काँक्रेविहार रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष ऋषि गिरीले पनि स्थानीयको माग, वडा तथा नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालयले काँक्रेविहारमा बनभोज तथा होहल्ला हुने गतिविधिहरुमा रोक लगाउने निर्णय गरेको बताउनुभयो । उहाँले उक्त कदमले त्यहाँ रहेका वन्यजन्तुहरुको सुरक्षा हुने, फोहोर तथा दुर्गन्ध नहुने र जसले गर्दा पर्यटकीय क्षेत्र र ऐतिहासिक स्थलको गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभयो । वनभोज खान दिँदा सिसा बोत्तल, प्लाष्टिकजन्य बस्तुहरुको डँगुर हुने, ठूला ठूला आवाजले वन्यजन्तुहरु त्रसित भएर भाग्ने भएको र पर्यटकीय स्थलको महत्व घटेको आवाज उठेको थियो । काँक्रेविहार क्षेत्रमा दसैँ तिहारपछि बनभोज खान जानेहरुको ठूलो भीड लाग्ने गरेको छ । यो अवधिमा दैनिक ४० देखि ५० समूहसम्म बनभोज खान आउने गरेको वडाअध्यक्ष गिरीले बताउनुभयो ।
यता डिभिजन वन कार्यालयको उक्त सूचनापछि स्थानीय बासिन्दाहरु पक्ष र विपक्षमा उत्रिएका छन् । कतिपयले काँक्रेविहारमा वनभोज पार्टीजस्ता गतिविधिहर रोक लगाएकोमा राम्रो भनेका छन्भने कतिपयले विरोध जनाएका छन् । स्थानीय लोकजंग भोटेले सामाजिक संजालमा बनभोजमा रोक लगाउनुभन्दा पहिला काँक्रेविहारको पर्खाल र मुल गेट निर्माण गर्न आग्रह गर्नुभएको छ । उक्त सूचनाको कार्यान्वयन हुन नसक्ने भन्दै उहाँले वन्यजन्तुहरुको सुरक्षा गर्न तारबार गर्नुपर्ने उहाँको भनाइ छ । यस्तै अर्का स्थानीय केशव कोइरालाले काँक्रेविहार संरक्षण क्षेत्रको संरक्षणका लागि बनभोजमा रोक लगाउने निर्णयले वन्यजन्तुको संरक्षण र सरसफाई बढ्ने भन्दै स्वागत गर्नुभएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap