सुर्खेत ।
घरासयी होस् या सामाजिक काममा महिला र पुरुषवीच विभेद नगर्ने प्रतिवद्धता गरिएको छ । दलित महिला संघ सुर्खेतद्वारा संचालित नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवद्र्धन परियोजनाले आयोजना गरेको महिला पुरुष समविकास तालिममा सहभागी महिला र पुरुषले लिंगका नाउँमा एक अर्कालाई विभेद नगर्ने प्रतिवद्धता गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका—१ का कालुराम सुनारले कुनै काम महिला र पुरुषले गर्ने भनेर नछुट्याइएको हुँदा समानरुपमा काम गर्ने बताउनुभयो । उहाँले महिला र पुरुषवीच समान भएर काम गरेर घरपरिवारका साथै समाजमा पनि सकारात्मक सन्देश जाने उल्लेख गर्नुभयो । तालिमबाट महिला पुरुषवीच कुनैपनि प्रकारको विभेद गर्न नहुने शिक्षा आफूले सिकेको र अव गाउँ समाजमा सोही अनुसार गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
वीरेन्द्रनगर —४ का तिलक बसेलले महिला र पुरुषविच कुनैपनि विभेद हुन नहुनेमा जोड दिदैं आफूले समाजमा सोही अनुसार सन्देश छर्ने बताउनुभयो । जहाँ विभेद हुन्छ, त्यहाँ पीडा हुन्छ भन्दै समान भए पीडा र अन्याय नहुने उहाँको भनाइ छ । वीरेन्द्रनगर—११ का पार्वती बादीले विगतमा धेरै पीडा भोगको स्मरण गर्दै महिलाको पीडा पुरुषहरुले पनि मनन् गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले महिला र पुरुषवीच समानता ल्याउन सके घर समाज समुन्नत हुने जनाउनुभयो । उहाँले पुरुषको तुलनामा महिला पछाडि परेको हुँदा महिलालाई आत्मनिर्भर बनाइ पुरुष बराबर ल्याउनुपर्ने उल्लेख गर्नुभयो । घर परिवार, समाज र देश सप्रन महिला र पुरुषवीचको विभेद अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।
उमाशंकर आचार्यले प्रशिक्षण दिनुभएको तालिममा वीरेन्द्रनगरका २० जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । तालिममा महिला र पुरुषले गर्ने काम, घरेलु तथा महिला हिंसाका कारण र न्यूनीकरणका उपाय, कानुनी कुरालगायतका विषयमा प्रशिक्षण दिइएको परियोजना संयोजक खगिसरा वलीले जानकारी दिनुभयो ।