१७ बैशाख २०८२, बुधबार

दलित महिलालाई उद्यमी बनाउने सीप

अर्थ कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
दलित महिलालाई उद्यमी बनाउने सीप
0 Shares

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका दलित महिलाहरुलाई उद्यमी बनाउने हेतुले दलित महिला संघ सुर्खेतले उद्यम विकास तालिम दिएको छ । गत आइतवारदेखि संचालन गरिएको तालिम मंगलवार समापन गरिएको छ ।


नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवद्र्धन परियोजना अन्तर्गत दलित महिला संघ सुर्खेतले बीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा गठन गरेका समूहमा आवद्ध महिलाहरुलाई तालिममा सहभागी गराई उद्यमी बनाउने, सामानको बजारीकरण गर्नेलगायतका सीपहरु सिकाएको छ । ३० जना दलित महिलाहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक उमाशंकर आचार्यले उद्यम कार्ययोजना, बजारीकरणलगायत आत्मनिर्भर बनाउने सीप प्रशिक्षण दिएको परियोजना संयोजक खगिसरा वलीले बताउनुभयो ।
संस्थाले १० वटा समूहमा आवद्ध महिलालाई म्याचिङ फण्ड २५ हजार र बीऊ पुँजीवापत ३५ हजार गरी ६० हजार नगद दिनेछ । यो रकमले उनीहरुले सानोतिनो व्यवसाय गरी उद्यमी भइ आत्मनिर्भर बन्न सहयोग पुग्ने संयोजक वलीले जनाउनुभयो । अघिल्लो वर्ष पनि १० वटा समूहलाई प्रति समूह ४२ हजार रुपियाँका दरले बीऊ पुँजी दिइएको थियो । उहाँका अनुसार ती रकमबाट दलित महिलाले कुखुरापालन, खुद्रा पसल संचालन गरेका छन् ।
तालिम समापनमा दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले आत्मनिर्भर नहुँदा नै दलित महिलाहरु सँधै पछाडि पारिएकोले उद्यम बनाउने सीप दिएर सक्षम बनाउन लागिरहेको बताउनुभयो । उहाँले बीऊ पुँजीबाट पनि सानोतिनो व्यवसाय संचालन गरी आत्मनिर्भर बन्ने प्रयासको थालनी भएको जानकारी दिदैं धेरै दलित महिलाहरुलाई आर्थिक रुपमा समक्ष बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले दलित महिलाहरु उद्यमी बन्नुका साथै विभेद विरुद्ध पनि सजग हुनुपर्ने सुझाव दिनुभयो । तालिममा सहभागी भेरीगंगाका भीमा विक र वीरेन्द्रनगरका गोमा बिकले आफ्नो समूहहरुले विगतमा पाएको बीऊ पुँजी सदुपयोग गरेको बताउनुभयो । उहाँहरुले तालिमले उद्यमी बन्ने प्रेरणा दिएको पनि जनाउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap