सुर्खेत ।
आईएनएफ नेपालले संचालन गरेको सुनिता परियोजनाले विश्व हस्पिस तथा प्यालियाटिभ हेरचाह दिवसको अवसरमा सोमवार वीरेन्द्रनगरस्थित मानव सेवा आश्रममा आश्रित बालगोपालहरुलाई दिवा भोजन तथा सचेतना कार्यक्रम गरी मनाएको छ ।
सो क्रममा आश्रममा कार्यरत कर्मचारीहरुलाई हस्पिस अर्थात अन्तिम अवस्थाका विरामीहरुलाई गरिने हेरचाह, मनोविमर्शलगायतका वारेमा जानकारी गराइएको थियो । सुनिता परियोजनाका संयोजक बरदानराज कार्कीले अन्तिम अवस्थामा रहेका बिरामीलाई हेरचाह र सहयोग गर्ने प्रशामक सेवावारे जानकारी दिइएको बताउनुभयो । उहाँले समुदायस्तरमै पुगी जीवनको अन्तिम अवस्थामा रहेका विरामीहरुको अवस्थावारे जानकारी गराइने, हेरचाह कसरी गर्नेलगायतका परामर्श सेवा दिदैं आएको बताउनुभयो ।
उहाँले प्यालियाटिभ हेरचाहको दशक लामो यात्राबारे चर्चा गर्दै र ग्रामीण समुदायमा बिरामीहरूको जीवनस्तर सुधार्न यस सेवाको महत्व बढ्दै गएको जनाउनुभयो । उहाँका अनुसार आश्रममा आश्रित ७६ जनालाई दिवा भोजनसमेत गराइएको थियो । सो अवसरमा वीरेन्द्रनगर नगरपालिकका नगर स्वास्थ्य संयोजक भूपेन्द्रदेव गिरी, साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका प्रवन्धक ललितबहादुर सारुले अन्तिम अवस्थाका बिरामीहरुका लागि गरिने सेवा प्रभावकारी भएको भन्दै स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा गरिएको कार्यक्रमको सह्राना व्यक्त गर्नुभयो ।