४ जेष्ठ २०८२, शनिबार

सेवामुखी मात्र बन्दा हुलाकको काम ओझेलमा

कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
सेवामुखी मात्र बन्दा हुलाकको काम ओझेलमा
0 Shares

सुर्खेत ।

सर्वसाधारण तथा सरकारी चिठीपत्र ओसारपसार गर्ने, टिकट बेच्ने लगायतका कामलाई सेवामुखी मात्र बनाउँदा हुलाकको काम ओझेलमा परेको छ । हुलाकलाई सेवामुखीका साथै व्यवसायिक पनि बनाउन आवश्यक भएपनि त्यसतर्फ सरकारको चासो नदिँदा हुलाकको काम ओझेलमा परेको हो ।


१५० औं विश्व हुलाक दिवसको अवसरमा हुलाक निर्देशनालय सुर्खेतले बुधवार आयोजना गरेको कार्यक्रमका सहभागीहरुले हुलाकलाई व्यवसायिक बनाउँदै बजारमा प्रतिस्पर्धामा उत्रन सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले हुलाकले गर्ने कामको राम्रोसँग प्रचारप्रसार नै गर्न नसकिएको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा हुलाकलाई व्यवसायीकरण बनाउनुपर्नेमा जोड दिदैं अव प्रविधिको पनि उपयोग गर्नुपर्ने जनाउनुभयो । हुलाकले आफ्नो कामलाई सेवामुखी बनाएको हुँदा अव प्रतिस्पर्धी पनि बनाउनुपर्ने उहाँको भनाइ छ ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले सञ्चारको क्षेत्रमा धेरै विकास भएपनि हुलाकका महत्व नघटेको भन्दै अव हुलाकलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुरानै शैलीबाट हुलाकको कामको प्रचार नहुने हुँदा अव यसका कामलाई विद्यालय तहबाटै जानकारी दिइनुपर्ने बताउनुभयो ।
हुलाक निर्देशनाका सूचना अधिकारी एवं शाखा अधिकृत सुनिताकुमारी खत्रीले हुलाकको कामलाई व्यवसायीकरण बनाउन माग गरिएपनि केन्द्रबाट त्यसको थालनी हुनुपर्ने उल्लेख गर्नुभयो । हुलाकको सेवालाई प्रतिस्पर्धी बनाउन नीतिगत सुधार नै आवश्यक पर्ने उहाँको भनाइ छ । हुलाक निर्देशक रेखा गौतमले हुलाकको कामलाई विगतको तुलनामा अहिले अलि बढी जानकारी दिइएको बताउनुभयो । उहाँले हुलाक संघीय सरकार मातहत रहेकोले यसको क्षेत्र विगतमा भन्दा अहिले झन साँघुरिदैं लगेको उल्लेख गर्नुभयो ।
सो अवसरमा निर्देशनालयले केही दिन अघि आयोजना गरेको हुलाकको महत्व विषयवारे विद्यालय स्तरीय पत्रलेखन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको छ । प्रतियोगितामा प्रथम कुशल उपाध्याय, द्वितीय भवानी बस्नेत, तृतीय मेनुका रावल र सान्त्वना कैलाश तारामी र विपना रेग्मीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । हुलाक सेवा विश्वको पुरानो सेवा भएकोले अहिले नेपालमा यसको सेवालाई सुधार गर्दै प्रतिस्पर्धी बनाउन सकिए यसको महत्व अझ बढ्ने निर्देशनालयका नारायणप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । सोही अवसरमा ४० वर्ष सेवा गर्नुभएका यज्ञमणि ढकाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap