सुर्खेत ।
गत भदौ १२ गते वीरेन्द्रनगर नगरपालिका—४ स्थित भैरम सामुदायिक वन उपभोक्ता समूहको जंगलमा चोरी शिकारीले थापेको पासोमा परी भाले रतुवाको मृत्यु भयो । खोलाको किनारमा शिकारीले थापेको इन्टरनेटको तारको पासोमा परी करिव २० केजीको भाले रतुवाको मृत्यु भयो ।
त्यसअघि पनि सोही वन क्षेत्रभित्र तीन वटा रतुवा चोरी शिकारीको पासोमा परेका थिए । वर्ष दिनमा आधा दर्जन बढी रतुवाहरु सो वन क्षेत्रमा शिकारीले थापेका पासोमा परी मर्ने गरेका छन् ।
पासोमा परी मरेका रतुवालाई नजिकै रहेको प्रहरी र डिभिजन वन कार्यालयको रोहबरमा गाड्ने गरिएको छभने जीवित फेला परेका वन्यजन्तुलाई डिभिजन वनले नै उद्धार गरी पुनः छोड्ने गरेको छ । वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रभित्र रतुवा, जरायो, बँदेल अत्यधिक रहेको छ । बेला बेलामा चोरी शिकारीहरुले थापेको पासोमा परी केहीको मृत्यु हुने गरेको छभने शिकारीहरुले अवैध वन्दुक पनि पड्काउने गरेका छन् । भैरम सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष यामकुमारी चालिसेले बर्षमा चार÷पाँच वटा रतुवा शिकारीले थापेको पासोमा परी मृत्यु हुने गरेको बताउनुभयो । चोरी शिकारीले पासो कहाँ कसरी थाप्छन् भन्ने थाहा नै नहुँदा हुँदा पासोमा जनावर परेपछि मात्रै पत्ता लाग्ने उहाँको भनाइ छ । उहाँले अहिलेसम्म पासोमा परेका बन्तुहरु सवैको मृत्यु भएको जानकारी दिनुभयो । वन समूहले बेला बेलामा गस्ती गर्ने गरेको भन्दै पासोको जालो पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।
यता गत आर्थिक वर्ष २०८०÷०८१ मा डिभिजन वन कार्यालय सुर्खेतले १८ वन्यजन्तुको उद्दार गरेको छ । कार्यालयका फरेष्टर इच्छा भण्डारीले उद्धार गरिएकामध्ये करिव आधाको मृत्यु भएको बताउनुभयो । जरायो तीन वटा, बँदेल चार वटा, मयुर, कछुवा, भार्से एक÷एक वटा र रतुवा आठ वटा गरी १८ वटा वन्यजन्तुको उद्दार गरिएको थियो । ती मध्ये आधारको मृत्यु भएको जानकारी फरेष्टर भण्डारीले दिनुभयो ।
कार्यालयका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले उत्तरी जलाधार क्षेत्रको जंगलमा रतुवा, बँदेलजस्ता बन्यजन्तु भएकोले चोरी शिकारीको पासोमा पर्ने गरेको बताउनुभयो । उहाँले बेलाबेलामा सामुदायिक वनलगायत सरोकारवाला पक्षहरुले गस्तीसमेत गर्नुपर्ने सुझाव दिदैं चोरी शिकारीको पासोबाट बन्यजन्तुहरुलाई बचाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उता गत भदौको दोस्रो साता वीरेन्द्रनगर सवडिभिजन कार्यालयले वीरेन्द्रनगर—४ को अस्थायी प्रहरी विट शहीदपार्कलाई पत्र लेखी उत्तरी जलाधार क्षेत्रमा चोरीशिकारीले पासो थाप्ने र अवैध शिकार गर्ने गिरोह सक्रिय रहेको पाइएको भन्दै छानविन गर्न भनेको छ । सो पत्रमा भैरम सामुदायिक वन क्षेत्रको पूर्वमा बाँसपानी खोला, पश्चिममा आँपघारी खोला, उत्तरमा गोठीकाँडा जाने बाटो र दक्षिणमा शहीद पार्क जाने गोरेटो बाटो क्षेत्रमा पासोमा परी बन्जयन्तुहरुको मृत्यु भएको पाइएको हुँदा उक्त क्षेत्रमा गस्ती बढाउन, पासो थाप्ने क्रियाकलापमा संलग्नहरुलाई खोजी गरी बास्तविकता पत्ता लगाउन सवडिभिजन कार्यालयले जनाएको छ ।