सुर्खेत ।
सुर्खेत—दैलेख सडक खण्डको छेडा नजिक पर्ने कटकुवा दहीच्यूरा र खिरका लागि प्रख्यात छ । सोही ठाउँमा ५७ वर्षीय लिला देवकोटाले झण्डै २० वर्षदेखि कटकुवाबाट हिड्ने यात्रु तथा बटुवाहरुलाई खिर र दहीच्युरा खुवाउँदै आउनुभएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखि करिव सात किमी उत्तरमा वीरेन्द्रनगर नगरपालिका—८ मा पर्ने कटकुवामा खिर र दहीच्युरा नखाने कमै होलान् ।
गाडीमा जाने हुन् या पैदल हिंड्नेहरु सो ठाउँमा बसेर खिर र दहीच्युरा खाएर थकान मेट्ने गर्दछन् । २०६१ सालदेखि सडक किनारको जंगलमा सानो झुपडीबाट देवकोटा दम्पत्तिले खिर र दहीच्युरा बेच्नुभएको छ । अन्तरिक पर्यटकीय स्थान भएकोले पनि कटकुवाको खिर र दहीच्युरा प्रख्यात छ । देवकोटाले यहाँको खिर र दहीच्युरा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुख्यमन्त्री यामलाल कँडेलसहित प्रदेश राजधानीका उच्च सरकारी तथा गैरसरकारी संस्थाका ठूला पदाधिकारीहरुले खाएको बताउनुभयो ।
कटकुवामा विक्री गरिने खिर र दहीच्युरा सवै स्थानीय उत्पादन हुन् । नजिकै रहेको वीरेन्द्रनगर—१४ गढी पशुपालनको पकेट क्षेत्र हो । खिरका लागि ल्याइने दुध, चामल, दही आफ्नो घर गढीबाटै ल्याएको देवकोटाले बताउनुभयो । २० वर्षदेखि यही झुपडीबाटै दहीच्युरा र खिर बाहेक अरु नबेचेको उहाँको दावी छ । हिउँद मौसमा दुध, चिया र खिर अत्यधिक खपत हुन्छ । खिर र दही च्युरा बेचेर कमाएको पैसाले सात सन्तानको पढाई खर्च धानियो । गढीमा दुई वटा घर र वीरेन्द्रनगरमा खडेरी खरिद गरेको जानकारी उहाँले दिनुभयो ।
दहीच्युरा र खिरबाट दैनिक कमाई राम्रै हुने गरेको छ । दैनिक २० देखि २५ लिटर दुध खपत हुन्छ । खिर र दही च्युरा बेचेर पहिले दैनिक १८ हजार रुपियाँसम्म कमाई हुने गरेको बताउँदै अहिले भने घटेर नौ÷१० हजारमा झरेको उहाँको भनाइ छ । तैपनि यही दही च्युरा र खिर बेचेर आफूहरुलाई छुट्टै प्रकारको आनन्द मिलेको लिलाले बताउनुभयो ।
लिलालाई श्रीमान हेमप्रसाद देवकोटाले पनि भरपुर साथ दिनुभएको छ । कटकुवाको दहीच्युरा र खिर भन्नासाथ सवैले एक पटक खानुपर्छ भन्ने भावनाको विकास भएको र आन्तरिक पर्यटनको पनि विकास भएकोमा खुसी लागेको उहाँले बताउनुभयो । ५७ वर्षीय हेमप्रसादले सडक किनारमा बसेर दहीच्युरा र खिरबाट सवै खर्च कटाएर मासिक ४० देखि ५० हजार रुपियाँ आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । २०६१ साल अगाडि होटल संचालन गर्दा तत्कालीन द्वन्द्वका कारण भागेर सदरमुकाम वीरेन्द्रनगर गएको पछि आफ्नै घरमा सानोतिनो केही गर्नुपर्छ भनेर आइ यही सडक किनारमै झुत्रो त्रिपाल हालेर दही च्युरा र खिर बेच्न सुरु गरेको स्मरण उहाँले गर्नुभयो ।
२० वर्षदेखि दहीच्युरा र खिर बेचेर आफूहरु प्रख्यात पनि भएको अनुभव उहाँले गर्नुभयो । दहीच्युरा र खिर खान भारतदेखि आउने गरेको भन्दै उहाँले कटकुवामा सार्वजनिक विदाको दिन निकै भीडभाड हुने गरेको हेमप्रसादले बताउनुभयो । दहीच्युरा र खिरमा कुनै मिसावट नहुने गरेको ग्राहकहरु पनि बताउँछन् । नेपालगन्जका व्यवसायी दिपक खड्काले कटकुवाको दहीच्युरा र खिर निकै चर्चित भएको बताउनुभयो । उहाँले वीरेन्द्रनगरबाट कटकुवामा आउनासाथ खिर र दहीच्युरा नखाइ मनलाई सन्तोष नहुने उल्लेख गर्नुभयो । आपूmहरुले दहीच्युरा र खिर बेच्न थालेपछि नजिकै अर्का एक जनाले पनि सोही पसल संचालन गर्नुभएको छ । तर देवकोटाकै पसलमा बढी भीड लाग्ने गरेको छ ।