सुर्खेत ।
विहीवार दैलेखको गुराँस गाउँपालिका—१ सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर बृषबहादुर शाहीको मृत्यु भयो । ढिलोगरी सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु भएको हो । बेलैमा उपचार गर्न नमान्दा ढिलो गरी अस्पताल ल्याइएको थियो । चेकजाँचका क्रममा क्षयरोग लागेको देखिएको थियो । क्यान्सरको आशंका गरी थप उपचार गर्न भन्दा राउटेले नमानेपछि बस्ती ल्याउँदै गर्दा शाहीको मृत्यु भयो ।
गत वर्ष मात्रै आठ जना राउटेको मृत्यु भयो । २०८० जेठ २३ गते कर्णबहादुर शाही, असोज ८ गते तुलसी शाही र सिस्नेरी शाही, कात्तिक १९ गते महिनबहादुर शाही, मङ्सिर २७ गते सिमल शाही, पुुस ९ गते भद्रबहादुर शाही, माघ २७ गते बालकुमारी शाही, माघ २८ गते भैरव शाहीको मृत्यु भएको राउटे समुदायमा काम गर्दै आएको दैलेखको सोसेक संस्थाका राउटे परियोजनाले जनाएको छ । परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले २०७५ साल यता मात्रै ४३ जना राउटेको मृत्यु भएको बताउनुभयो । राउटे धेरैजसो बस्ने गरेको दैलेखको गुराँस गाउँपालिकामा २०७५ असारदेखि राउटे परियोजना लागू गरिएपछि राख्न थालिएको तथ्यांक अनुसार हालसम्म ४३ जनाको मृत्यु भएको हो ।
६ वर्षको अवधिमा मृत्यु भएको ४३ जना राउटेमा धेरैजसो पुरुष राउटे छन् । त्यसमा पनि धेरैजसो अकालमा मृत्यु भएका छन् । कोही विरामीले, कोही शिकार खेल्ने क्रममा त कोही रक्सीले राउटेको मृत्यु भएको छ । यस्तै पोषिलो खानेकुराको अभावले राउटे बच्चा बालबालिकाको मृत्यु हुने गरेको जोडी शिक्षक खत्रीले बताउनुभयो । विरामी भएको खण्डमा उपचार गर्न मनाउन पनि उनीहरुलाई निकै कठिन छ । बरु मृत्यु सहजै स्वीकार्ने राउटेलाई उपचार गर्न मनाउन साह्रै कठिन हुने गरेको उहाँले जनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘औषधि खान र सुई लगाउन त राउटे मान्दै मान्दैनन् ।’
बिहीवार मृत्यु भएका राउटे किशोर बृषबहादुर शाही विरामी हुँदा बारम्बार उपचार गर्न आग्रह गरिएको खत्रीले बताउनुभयो । बारम्बार उपचार गर्न आग्रह गर्दा पनि राउटेहरुले बरु मर्छौं तर उपचार गर्दैनौं भन्दै बसेको र बल्लतल्ल उपचार गर्न मानेपनि ढिलो भएको हुँदा शाहीको मृत्यु भएको जोडी शिक्षक खत्रीले जनाउनुभयो ।
यसैवीच २०७५ यता राउटे ९४ ठाउँमा बसाईँ सरेका छन् । राउटे समुदायका कुनै सदस्यको मृत्यु भएमा तत्काल उनीहरु बसाईँ सर्ने गर्दछन् । जोडी शिक्षक खत्रीले ६ वर्षको अवधिमा राउटेहरु ९४ ठाउँमा बसाई सरेको जानकारी दिनुभयो । राउटेहरु अहिले दैलेखको गुराँस गाउँपालिका—१ सिमसालमा बस्दै आएका छन् । राउटेहरु धेरैजसो सुर्खेत, दैलेख, अछाम, जाजरकोट, दाङका जंगलहरुमा घुम्दै बस्ने गर्दछन् । परिवारका कुनै सदस्यको मृत्यु हुनुका साथै पानी र बस्ती नजिक भएको ठाउँ समेत उनीहरुको रोजाइ बन्छ । राउटेहरु जति ठाउँमा बसाई सर्छन् आफूहरु पनि उनीहरुसँग जानुपर्ने जोडी शिक्षक खत्रीले बताउनुभयो । आफूहरु राउटे बस्ती नजिकको गाउँमा भाडामा बस्ने गरेको उहाँको भनाइ छ ।
परियोजनामा चार जना कर्मचारी छन् । दुई जना स्वास्थ्यकर्मीसहित आफूहरु दुई जना जोडी शिक्षक रहेको उहाँको भनाइ छ । अहिले राउटेको संख्या १३४ मा झरेको छ । वृषबहादुर शाहीको मृत्यु भएपछि राउटेको संख्या १३४ मा झरेको हो । उनीहरुलाई संघीय सरकार तथा कर्णाली प्रदेश सरकारले लोपोन्मुख समुदाय भएको भन्दै सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । नागरिकता नबनाउने उनीहरुलाई दैलेको गुराँस गाउँपालिकाले परिचयपत्र बनाएर सामाजिक सुरक्षा भत्ता दिदैं आएको छ ।