सुर्खेत ।
राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालले सुर्खेतका सुस्त श्रवण विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका—८ स्थित सिद्ध बहिरा बालकको स्कुलमा अध्ययनरत सुस्त श्रवण बालबालिकालाई बुधवार पोशाक वितरण गरिएको हो ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जवाहरलाल हमालले श्रवण विद्यार्थीहरुलाई नयाँ पोशाक दिएर शिक्षा दिवस मनाइएको बताउनुभयो । उहाँले कर्णालीको एकमात्र बहिरा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई यस पटक पोशाक वितरण गरिएको भन्दै आगामी दिनमा यस्तै रचनात्मक काम गरिने जनाउनुभयो ।
शिक्षा विकास निर्देशनालयका निर्देशक दिपा हमालले शिक्षामा तीन तहका सरकारले संयुक्त रुपमा समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सुस्त श्रवण विद्यार्थीहरुको शिक्षालाई थप प्रभावकारी बनाउन स्रोत साधनको पर्याप्तता हुनुपर्ने उल्लेख गर्नुभयो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष टिकाराम शर्माले कर्णालीको एक मात्र विशेष शिक्षाको विद्यालय भएकोले यसलाई मन्त्रालयले विशेष रुपमा हेर्न आग्रह गर्नुभयो । उहाँले स्रोत र साधनको अभावका विच विद्यालय संचालन भएको जानकारी दिदैं यसलाई पर्याप्त सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमा भट्टराईले भौतिक संरचनाहरु जीर्ण भएको हुँदा सहयोगको अपेक्षा गर्नुभयो । विद्यालयमा अध्ययनरत १०२ जना सुस्त श्रवण विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । कक्षा १० सम्म पढाई हुने सो विद्यालयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका १२ जिल्लाका सुस्त श्रवण बिद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् ।