सुर्खेत ।
कर्णाली प्रदेशमा मङ्सिर महिनामा बढी आत्महत्या हुने गरेको पाइएको छ । प्रदेश प्रहरीको तथ्यांकले १२ महिनामध्ये मङ्सिर महिनामा सवैभन्दा धेरै आत्महत्या हुने गरेको उल्लेख छ । सामाजिक विकास मन्त्रालयले आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ मा कर्णालीमा कूल ३२४ जनाले आत्महत्या गरेकोमा मङ्सिर महिनामा सवैभन्दा धेरै ३७ जनाले आत्महत्या गरेको जनाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मंसिर महिनामा बढी आत्महत्या भएको छ । मंसिर महिनापछि कात्तिक महिनामा ३४ जनाले आत्महत्या गरेका छन् । चैतमा ३३ जना, फागुनमा ३० जना, वैशाख र असारमा २९÷२९ जना, जेठमा २७ जना, असोजमा २६ जना, भदौ र पुसमा २२ जना, साउनमा २१ जना र सवैभन्दा कम माघमा १३ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो । चाडपर्व सकिएपछि र विवाहको मौसमले गर्दा बढी आर्थिक बोझ, मानसिक तनावका कारण मङ्सिरमा आत्महत्या बढी हुने गरेको अनुमान छ ।
यसैगरी शनिवार र बुधवारको दिनमा बढी आत्महत्या हुने गरेको छ । सो आर्थिक वर्षमा सात बारमध्ये सवैभन्दा धेरै शनिवार र बुधवार समान ५२ जनाले आत्महत्या गरेका छन् । शनिवारपछि मङ्गलवार र आइतवार ४९÷४९ जनाले, सोमवार ४५ जनाले, शुक्रवार ३९ जनाले र विहीवार ३८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । पेशाका रुपमा कृषि पेशामा आवद्ध भएकाहरुले बढी आत्महत्या गरेका छन् । कृषि पेशामा आवद्ध भएका १८२ जनाले आत्महत्या गरेका छन् । त्यसपछि विद्यार्थीहरु ७२ जना, बेरोजगार ४७ जना र व्यापारी २१ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक खड्काले जनाउनुभयो ।
कर्णालीमा १० जिल्लामध्ये सवैभन्दा धेरै राजधानी सुर्खेत जिल्लामा आत्महत्या हुने गरेको छ । सुर्खेतमा ११२ जनाले आत्महत्या गरेका छन् । सुर्खेतपछि दैलेखमा ५९ जना, सल्यानमा ५४ जना, जाजरकोटमा ३० जना, जुम्ला र रुकुममा २६÷२६ जना, कालीकोटमा १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । हुम्ला र मुगुमा पाँच÷पाँच जना र सवैभन्दा कम डोल्पामा २ जनाले मात्र आत्महत्या गरेको पाइएको छ ।
साथै आत्महत्या गर्नेमा पुरुष र आत्महत्याको प्रयास गर्नेमा महिला बढी रहेका छन् । आव २०८०÷०८१ मा कूल ३२४ जनामा १४१ जना पुरुष र महिला ८८ जनाले आत्महत्या गरेका छन् । प्रहरी निरीक्षक खड्काले आत्महत्या गर्नेमा पुरुष नै बढी संलग्न भएपनि प्रयासमा महिला बढी रहेको पाइएको बताउनुभयो । पुरुषहरुले योजनाबद्धरुपमा आत्महत्याको निर्णय गर्ने र तत्काल घटना भइहाल्ने गरेकोमा महिलाहरु भने मानसिक कोमलताले गर्दा प्रयासमा बढी संलग्न हुने गरेको पाइएको उहाँले जनाउनुभयो ।
कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले मानसिक समस्याले गर्दा ९० प्रतिशत आत्महत्या हुने गरेकोमा उदासिपनलाई कम गराउन सके आत्महत्यामा पनि कमी ल्याउन सकिने बताउनुहुन्छ । उहाँले दिगो विकास लक्ष्य २०३० मा नेपालमा प्रति लाखमा आत्महत्या दर १६.५ बाट घटाएर ४.७ मा झार्नुपर्ने भएकोले त्यसका लागि साथी, विद्यालय, शिक्षक, समुदाय, सुरक्षाकर्मी र संचारकर्मीहरुको ऐक्यवद्धता अनिवार्य भएको जनाउनुभयो । सिएमसी नेपालका मनोविद लक्ष्मण नाथले आत्महत्या गर्ने व्यक्तिहरुले हठात निर्णय नगर्ने हुँदा लामो समयदेखि योजना बनाउने हुँदा बेलैमा उनीहरुलाई परामर्श दिन नसके बचाउन सकिने बताउनुभयो । प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले आत्महत्या रोकथामका लागि यस क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयोभने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले परम्परागत संस्कार र परामर्शको अभावको आत्महत्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आत्महत्या रोकथामका लागि सवै प्रयासहरु संयुक्त रुपमा गर्नुपर्नेमा जोड दिदैं सकारात्मक सन्देश प्रवाह गर्न सवैलाई आव्हान गर्नुभयो ।