सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका—४ का महिलाहरुले हरितालिका तीजक वन वातावरण जोगाउने सन्देश दिएर मनाएका छन् । महिलाहरुको पीडा, बेदना भन्दा पनि वन वातावरण महत्वपूर्ण भएकोले यसको संरक्षण गर्नुपर्नेजस्ता चेतनमुलक गीतहरु गाएर उनीहरुले सन्देश दिएका छन् ।
भैरम सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर—४ ले तीजको अवसर पारेर शुक्रवार वन वातावरणसम्वन्धी जनचेतनामूलक तीज गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सहभागी नौ वटा महिला टोली सवैले वन वातावरण जोगाउनुपर्ने, जथाभावी बन फँडानी गर्न नहुने, वृक्षारोपण गर्नुपर्ने जस्ता सन्देश दिइएको थियो ।
महिलाहरुले एक रुख काट्दा १० वटा विरुवा रोप्न सुझाव दिएका थिए । भूक्षय आउने, खडेरी चर्कने, समयमा पानी नपर्ने जलबायु परिवर्तनको असर भएको भन्दै वन र वातावरण जोगाउन सके मानिससहित पशुपंक्षीको लागि पनि हित हुने सन्देश गीतमा थियो । भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले वडा नं. ४ भित्रका टोल विकास समितिलाई वन र वातावरणप्रति सचेत गराउन जनचेतनामूलक तीज गीत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । तीजमा मौलिकता सँगै जनचेतनापनि जगाउन आवश्यक पर्ने हुँदा तीज जस्ता चाडपर्वमा सामाजिक संघसंस्थाहरुले यस्तै रचनात्मक कार्यक्रम गर्नुपर्ने उहाँले औंल्याउनुभयो । गीतमा दिइएका सन्देशसँगै आफ्ना आनीबानी र व्यवहार परिवर्तन गर्न पनि उहाँले सुझाव दिनुभयो ।
प्रतियोगिताका निर्णायक किरण पन्तले गीतका माध्यमबाट वन र वातावरणप्रति महिलाहरु सचेत बनेको पाइएको बताउनुभयो । पुरानो परम्पराका साथै नयाँ चेतनाको विकास भइरहेकोले वन र वातावरणका साथै अन्य रचनात्मक विषयमा पनि कार्यक्रमहरुको आयोजना गरिनुपर्ने उहाँको भनाइ छ । नौ वटा महिला टिम रहेको प्रतियोगितामा मंगल टोल विकास संस्था प्रथम, शहीद स्मृति टोल विकास संस्था द्वितीय, गैरीटोल विकास संस्था तृतीय तथा शीतल टोल विकास संस्था र सूर्यमुखी टोल विकास संस्थाले सान्त्वना स्थान हासिल गरेका छन् । विजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । भैरम सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष इन्द्रा चालिसेले प्रतियोगितामा सहभागी महिलाहरुलाई धन्यवाद दिदैं आगामी दिनमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिने जानकारी दिनुभयो ।