२९ भाद्र २०८१, शनिबार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा वीरेन्द्रनगरको उल्लेख्य सुधार

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा वीरेन्द्रनगरको उल्लेख्य सुधार
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थामा उल्लेख्य सुधार गरेको पाइएको छ । विगत पाँच वर्षको अवधिमा नगरपालिकाले विपद न्यूनीकरण र व्यवस्थापनमा सुधार गर्दै उत्तम श्रेणी हासिल गर्न सफल भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन अनुक्रमणिका स्वमूल्यांकन नतिजा २०२४ मा वीरेन्द्रनगर नगरपालिकाले १६० अंकभारमा १५१ अंक अर्थात ९४ प्रतिशत नतिजा प्राप्त गरी उत्तम श्रेणी हासिल गर्न सफल भएको छ । जबकि २०२० मा नगरपालिकाले केवल ६३ अंक प्राप्त गरेको थियो ।


वीरेन्द्रनगर नगरपालिकाका योजना शाखाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले वीरेन्द्रनगर नगरपालिकाको अनुक्रमणिकाको स्वमूल्यांकन नतिजामा चार वर्ष यता उल्लेख्य सुधार हुँदै आएको जानकारी दिनुभयो । २०२० मा वीरेन्द्रनगरले ६३ अंक, २०२१ मा १०५ अंक, २०२२ मा १३१ अंक, २०२३ मा १४८ अंक प्राप्त गरेको थियो । अहिले अघिल्लो वर्षको भन्दा दुई अंक सुधार गरी ९४ प्रतिशत अर्थात १५१ अंक प्राप्त गरी उत्तम श्रेणीमा पर्न सफल भएको उहाँले बताउनुभयो ।
मन्त्रालयले नगरपालिकाले वर्षभरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा गरेका कामहरुको मूल्यांकन गरी अंक दिने गर्दछ । जसमा वीरेन्द्रनगरले संस्थागत क्षमता अभिबृद्धिमा शत प्रतिशत, पारिस्थतिकीय प्रणालीको संरक्षण गरी तिनले गर्ने सुरक्षात्मक कार्यको अभिवृद्धिमा पनि शतप्रतिशत, सुरक्षित बस्ती र उत्थानशील शहरको अबलम्बनमा शतप्रतिशत, वर्तमान तथा भावी जोखिम परिदृश्यको पहिचान, बुझाइ तथा प्रयोगमा पनि शतप्रतिशत तथा आघातपछिको पुनर्लाभ तथा अझ सुरक्षित, राम्रो र बलियो निर्माणमा पनि शतप्रतिशत अंक प्राप्त गरेको छ । ती सवै गतिविधिहरुको नतिजाको स्वमूल्यांकनमा वीरेन्द्रनगर नगरपालिकाले ९४ प्रतिशत नतिजा प्राप्त गरी उत्तम श्रेणीमा पर्नुले विपद जोखिमको न्यूनीकरण तथा व्यवस्थापनमा सुधार हुँदै गएको पाइएको योजना शाखाका बरिष्ठ अधिकृत पौडेलले बताउनुभयो ।
यसैगरी विपद् पूर्वतयारी तथा प्रभावकारी प्रतिकार्यम ८२ प्रतिशत, पूर्वाधार उत्थानशीलतामा बृद्धिमा ९५ प्रतिशत, उत्थानशीलताको लागि सामाजिक क्षमता अभिवृद्धिमा ९३ प्रतिशत, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र उत्थानशीलताको लागि वित्तीय क्षमता अभिवृद्धिमा ९५ प्रतिशत अंक वीरेन्द्रनगरले हासिल गरेको छ ।
अनुक्रमणिकाले नगरपालिकाको सम्बन्धित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्दाको प्रगति र चुनौतीहरुको अनुगमन तथा समीक्षा गर्न, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रणाली र क्षमताहरुमा नगरपालिकाको सवल पक्षहरु पत्ता लगाउन सहयोग पुग्ने छ । यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रणाली र क्षमताहरुमा रहेका कमीकमजोरीहरु पहिचान गर्न, पहिचान गरिएका कमजोरीहरुमा आधारित रहँदै सोको सम्वोधन गर्न कार्ययोजना निर्माण गर्न, नगरपालिका तहका योजना तथा कार्यक्रमहरमा यी अनुक्रमणिकालाई आत्मसात गर्दै स्वमूल्यांकन प्रणालीलाई निरन्तरता दिन सहयोग पुग्ने उहाँको भनाइ छ ।
यता नगरपालिकाले उत्तम श्रेणीमा ल्याएपछि नगर प्रमुख मोहनमाया ढकालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सवैको सहयोगले उल्लेख्य सुधार गर्न सफल भएको बताउनुभयो । उहाँले आगामी वर्ष उपलव्धीमा अझ सुधार गर्नेतर्फ अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्दै गर्नुपर्ने काम अझै बाँकी रहेको जनाउनुभयो ।
९५ जनालाई राहत
यसैगरी वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा नगरभित्र भएका विपद्का घटनाबाट प्रभावित ९५ जनालाई राहत वितरण गरेको छ । नगरपालिकाले ९५ जनालाई जनही पाँच हजार रुपियाँका दरले चार लाख ९० हजार रुपियाँ राहत प्रदान गरेको हो ।

नगरपालिकाका अनुसार आगलागीबाट ६८ जना, बाढीबाट ४४ जना, डुबानबाट दुई जना र महामारी तथा जंगली जनावरको आक्रमणमा एक÷एक प्रभावित भएकालाई राहत रकम प्रदान गरिएको योजना शाखाका बरिष्ठ अधिकृत पौडेलले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap