२९ भाद्र २०८१, शनिबार

भेरी नदीको पानी वीरेन्द्रनगर आउने बाटो खुल्यो

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
भेरी नदीको पानी वीरेन्द्रनगर आउने बाटो खुल्यो
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबासीको लागि निकै महत्वकांक्षी मानिएको भेरी पम्पिङ खानेपानी उपआयोजनाको पहिलो चरणको काम अव सुरु हुने भएको छ । भेरी नदीको पानीलाई पम्पिङ गरी लिफ्टको सहायताले वीरेन्द्रनगरमा ल्याइ उपभोक्ताहरुलाई वितरण गर्न विश्व बैंकको सहयोगमा सो उपआयोजना सुरु भएको छ ।


बुधवार एक कार्यक्रम गरी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका प्रमुख संजीवकुमार साह र काम गर्ने चिनीया कम्पनी जि—ज्याङ टिम्स इन्टरनेशनल इक्नोमिक एण्ड टेक्निकल को अप्रेशन कम्पनी लि.का प्रतिनिधि सुशीलकुमार श्रेष्ठ संयुक्तरुपमा त्रिपक्षीय हस्ताक्षर गर्नुभएको छ । त्रिपक्षीय हस्ताक्षर भएपछि अव आयोजनाको पहिलो चरणको काम सुरु हुने बताइएको छ ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका प्रमुख संजीवकुमार साहले गत वर्षको असोजमा कामका लागि ठेक्का आव्हान गरिएकोमा सात वटा कम्पनीले ठेक्का हालेको र त्यसमा दुईटा कम्पनी अयोग्य भएपछि पाँच वटा प्रतिस्पर्धामा रहेका थिए । पाँच वटा कम्पनी मध्ये चिनीयाँ कम्पनी जि—ज्याङ टिम्स इन्टरनेशनल इक्नोमिक एण्ड टेक्निकल को अप्रेशन कम्पनी लि. २४.०८ प्रतिशत घटेर तीन अर्ब पाँच करोड आठ लाखमा सो कामको ठेक्का प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो । पहिलो चरणमा भेरी नदीबाट पानी ल्याउन पाँच किमी फलामे पाइप जोडी वीरेन्द्रनगर—१० को अमृत डाँडामा ९० लाख लिटरको पानी जम्मा गरिनेछ । यसका साथै २९ किमी पाइप विछ्याइनेछ । निर्माण व्यवसायीसँग हस्ताक्षर भएपछि अव भेरी पम्पिङ उपआयोजनाको काम सुरु भएको उहाँको भनाइ छ ।
यसैगरी आयोजनाको परामर्शदाता एमएसडी कम्पनीका विज्ञ सुरेश महाजुले भेरी नदीबाट ५६० लिटर प्रति सेकेण्ड पानी लिफ्ट गरिने जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिकाका कूल १६ वटा वडामध्ये १३ नम्बर वडासम्म भेरी नदीको पानी वितरण गरिने र बाँकी तीन वटा वडामा अन्य स्रोतबाट वितरण गरिने लक्ष्य रहेको उहाँले बताउनुभयो । उपआयोजनाको पहिलो चरणको कामको अवधि तीन वर्ष रहेको छ । पहिलो चरण सकिएपछि दोस्रो चरणको सुरु गरिनेछ ।
उपआयोजनाको निर्माणको ठेक्का प्राप्त गरेको चिनीयाँ कम्पनी जि—ज्याङ टिम्स इन्टरनेशनल इक्नोमिक एण्ड टेक्निकल को अप्रेशन कम्पनी लि.का प्रतिनिधि सुशीलकुमार श्रेष्ठले काममा कुनै अवरोध नभए तोकिएको समयभित्रै सवै काम सम्पन्न गर्ने लक्ष्य लिइएको जनाउनुभयो । कामका लागि आफूहरुलाई छनोट गरेकोमा धन्यवाद दिदैं उहाँले काममा कुनै अवरोध आए सहजीकरण गरेर काम गर्ने वातावरण बनाइदिन माग गर्नुभयो ।
उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका संयोजक एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सन् २०५० सम्म वीरेन्द्रनगरको जनसंख्यालाई लक्षित गरी भेरीको पानी लिफ्ट गरेर ल्याउन लागिएको बताउनुभयो । पम्पिङ गरेर ल्याउन लागिएको नेपालकै सवैभन्दा ठूलो आयोजना भएको दावी गर्दै उहाँले यस आयोजनाले खानेपानीको दीर्घकालीन समस्या समाधान गर्नेमा विश्वस्त रहेको जनाउनुभयो । आयोजना निर्माणको काममा कुनै अवरोध आए समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै उहाँले ढुक्क भएर समयै काम सक्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
उक्त आयोजनाका लागि नेपाल सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र बाँकी सात प्रतिशत वीरेन्द्रनगर नगरपालिकको लगानी रहेको छ । अहिले ६ दिनमा एक पटक पानी आउने चर्को अभाव भोगिरहेको बेला यो आयोजना सम्पन्न भएमा खानेपानीको समस्या समाधान हुने सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताउनुभयो । त्रिपक्षीय हस्ताक्षर भएपछि आयोजनाको कामको सुरुवात भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap