सुर्खेत ।
पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका—११ चिप्लेका किसान टोपेन्द्र रानाले भैंसी पालेर दुध मात्र होइन गोबर मल बसेर सिजनमै झण्डै साढे दुई लाख आम्दानी गर्नुहुन्छ । दुधका लागि पालिएका भैंसीको मल बेचेर उहाँले यो अतिरिक्त आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले अहिले ३१ वटा भैंसी छन् ।
रानाले दुधबाट मासिक एक लाख जति कमाई गर्नुहुन्छ । दुधसँगै भैंसीको गोबर मल पनि बेचेर थप आम्दानी गर्न सफल भएको उहाँले बताउनुहुन्छ । मल पनि विक्री हुन थालेपछि भैंसी पालन व्यवसायलाई विस्ता गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार वर्षमा ४० ट्याक्टर भन्दा बढी गोबर मल उत्पादन हुने गरेको छ । गोबर मल प्रति ट्याक्टर सात हजार रुपियाँमा विक्री हुने गरेको छ । स्थानीय गाउँलेले नै मल किन्न गरेको उहाँले बताउनुभयो । दुई महिनाको अवधिमाव १० ट्याक्टर गोबर मल बेचेर ७० हजार थप आम्दानी भइसकेको छ । गोबर मलको माग धेरै भएको बताउँदै उहाँले आफूले प्रयोग गरेपछि बचेको मल मात्र विक्री गर्ने गरिएको जानकारी दिनुभयो ।
बैदेशिक रोजगारीका लागि तीन वर्षसम्म कुबेत बस्नुभएका उहाँ कोरोना कालमा मोबाइलमा युट्युव हेरेर घर फर्किएर भैँसीपालन गर्नुभएको हो । आफूले गोबर मल बेच्न थालेको तीन÷चार महिना भएको भन्दै भैंसी पालनबाट दुध, गोबर मल पनि बिक्री हुन थालेपछि आम्दानीमा पनि बृद्धि हुन थालेको उहाँको भनाइ छ । राम्रो कमाई हुन थालेपछि कमाउनका लागि विदेश जानु नपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भैंसीका लागि खुवाउने घाँस पनि लगाउनुभएको छ । आफूलाई चाहिने भन्दा बढी घाँस पनि बेच्ने गरेको जानकारी टोपेन्द्रले दिनुभयो । यहीं भैंसीको दुध, गोबर मल, घाँसबाट आम्दानी हुन थालेपछि अव विदेश तिर नजाने उहाँले बताउनुभयो । दुध र मलबाट गजबको आम्दानी हुन थालेपछि चिप्ले गाउँका किसानहरु घरघरमा भैँसी पालेका छन् । प्रत्येक किसानसँग कम्तीमा पाँचदेखि बढीमा भैंसी पालेका छन् ।
टोपेन्द्रले गाउँभरी वर्षमा करिव दुई सय ट्याक्टर मल उत्पादन हुने गरेको अनुमान गर्नुभयो । भैंसीको मल उत्पादनका लागि निकै राम्रो भएकोले अहिले गोबरको खोजी पनि बढिरहेको छ । उहाँले ड्र्यागन खेती गर्ने किसान, कृषि कलेजहरुले गोबर मल खरिद गर्ने गरेको बताउनुभयो । भैंसीको गोबर मलको प्रयोग हुन थालेपछि अहिले गाउँतिर रासायनिक मलको प्रयोगमा पनि कमी आउन थालेको छ । उहाँले भन्नुभयो, ‘घरघरमा भैंसी छन्, उनीहरुले भैंसीको गोबर प्रयोग गर्छन्, अरुले किनेर भएपनि प्रयोग गर्ने हुँदा रासायनिक मलको प्रयोगमा कमी आउन थालेको छ ।’
लेकबेशी नगरपालिका–१० साटाफाँटका किसान हुमप्रसाद लामिछाने भैंसी पालेर आम्दानीको स्रोत बढेको बताउनुभयो । गोबर मल पनि बेचेर आम्दानी भएकोमा अचम्म मान्दै उहाँले गरे सफल हुन सकिने रहेछ भन्नुभयो । गोबर मलको प्रयोगले माटो पनि नविग्रने, अन्न वाली पनि सप्रने भएकोले अव गाउँभरी गोबर मलको प्रयोग बढ्न थालेको उहाँको भनाइ छ । भेरीगंगाका कृषि प्राविधिक हस्त विकले किसानहरुले गोबर मल बेचेर एकातिर आम्दानी बढाउन सफल भएको, अर्कोतिर वातावरण पनि राम्रो गराउन सफल भएको बताउनुभयो । गोबर मलको प्रयोगले खेतबारीको माटोबाट उब्जनी बढ्ने निश्चित रहेको भन्दै उहाँले सवै किसानहरुमा अहिले गोबर मलको प्रयोग गर्नुपर्छ भन्ने चेतनासमेत बढेको उल्लेख गर्नुभयो ।
गोबर मल मात्र नभइ पिसाव पनि औषधिको रुपमा विक्री हुने गरेको उहाँको भनाइ छ । विगतमा रासायनिक मलको अत्यधिक प्रयोग हुने स्थानहरुमा अहिले गोबर मल प्रयोग गर्न थालिएको छ । गोबर मलको प्रयोग बढ्नुले वातावरण संरक्षणमा टेवा पुग्नुका साथै रासायनिक मलको प्रयोगलाई समेत घटाएको अनुभव उहाँले गर्नुभयो ।
यसरी किसानहरुलाई भैंसी पालन गरेर अतिरिक्त आम्दानी गर्न सिकाएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमले हो । जीवन धान्नलाई मात्रै एउटा भैंसी पाल्ने किसानहरुलाई प्राविधिक सहयोग तथा सहलगानी गरेर कार्यक्रमले व्यवसायिक बनाउन सिकाएको हो । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका संचार अधिकृत रत्नबहादुर बुढाले कृषि क्षेत्र विकास कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गर्न थालेपछि आफूहरुले व्यवसायिक रुपमा भैँसी पाल्न थालेको बताउनुभयो । उहाँका अनुसार किसानलाई भकारो निर्माण, दुध बोक्ने सामान र घाँस काट्ने मेसिन, औषधि, प्राविधिक तालिम, नश्ल सुधार तथा बीमा लगायतका काममा सहयोग गरिएको छ । यस्तै कूल लगानीको आधा आधा रकम पनि कार्यक्रमबाट साझेदारी गरिएको छ ।
कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका प्रमुख वासुदेव काफ्लेले व्यवसायिक भैँसीपालनबाट किसानहरु आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले कार्यक्रमले दुध मूल्य शृंखलाबाट पनि किसानहरुले प्रभावकारी काम गरेको भन्दै जसबाट कृषकहरुले आम्दानी गरी जीवनस्तरमा सुधार ल्याएको पाइएको दावी गर्नुभयो । उहाँले गोबर मलको प्रयोगले कर्णालीमा प्राङ्गारिक खेतीतर्फ आकर्षित हुन सघाएको जनाउनुभयो ।