१२ बैशाख २०८१, बुधबार

कानुन कार्यान्वयन गर्नसके दलित महिलाको अधिकार सुनिश्चित

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कानुन कार्यान्वयन गर्नसके दलित महिलाको अधिकार सुनिश्चित
0 Shares

सुर्खेत ।

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले विद्यमान कानुनहरु प्रभावकारीरुपमा कार्यान्वयन गरी दलित महिलाहरुको अधिकार सुनिश्चित गर्न सुझाव दिनुभएको छ । दलित महिला संघले आयोजना गरेको न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको प्रदेशस्तरीय सम्मेलनको सोमवार सुर्खेतमा उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले कानुन कार्यान्वयन नहुँदा विभेद, अपमान बढेको हुँदा कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।


समुदायमा दलित र त्यसमा पनि दलित महिलाहरु दोहोरो तेहोरो पीडामा परेको भन्दै उहाँले उनीहरुलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन ढिला गर्न नहुने बताउनुभयो । शदियौँदेखि दलित र दलित महिलाहरु आर्थिक, राजनीतिक, सांस्कृतिक अधिकारबाट बञ्चित हुँदै आएको हुँदा विद्यमान कानुन कार्यान्वयन गरी विभेद अपमान हटाउनुपर्ने उहाँको भनाइ छ । संविधानमा कानुन भएपनि व्यवहारमा कार्यान्वयन नहुँदा दलित महिलाहरुको अवस्थामा सुधार आउन नसकेको प्रदेश प्रमुख परियारले बताउनुभयो ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास तथा ऊर्जा राज्यमन्त्री उर्मिला विश्वकर्माले अधिकार प्राप्तिका लागि दलित एकता अपरिहार्य भएको बताउनुभयो । विगतमा दलित सशक्तिकरण विधेयक दर्ता भएपनि निष्क्रिय भएकोले अव पुनः दर्ता गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । दलित महिलाले न्याय पाउन नसकेको, आर्थिक अधिकार पनि प्राप्त गर्न नसकेकोले उनीहरुलाई मूल प्रवाहमा ल्याउने गरी नीति निर्माण गर्न आफ्नो पहल हुने राज्यमन्त्री विश्वकर्माले बताउनुभयो ।
दलित महिला संघका संस्थापक अध्यक्ष दुर्गा सोबले संघीयता अघि पनि अपमानित भएका दलित महिलाहरु संघीयता पछिको अवस्थामा पनि कुनै सुधार आउन नसकेको दावी गर्नुभयो । छुवाछूत, विभेद, अपमान कायमै भएकोले संघीयताले पनि दलित महिलालाई कुनै अधिकार दिन नसकेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले छुवाछूत गर्नेहरुलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने, राज्यबाट प्राप्त हुने सेवा सुविधा रोक्का गर्नुपर्ने नीति बनाउन आग्रह गर्नुभयो । अहिलेको विद्यमान कानुनले काम नगर्दा दलित र दलित महिलामाथिको हिंसा नरोकिएको उहाँको भनाइ छ ।
कर्णाली प्रदेशसभा सदस्यहरु जानकी सिंह, गमता विक, कल्याणी खड्काले न्याय, समानता र सम्मानका लागि अझै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । साथै प्रभावकारी कानुन कार्यान्वयन गर्नुपर्ने पनि उहाँहरुको संयुक्त सुझाव थियो ।


दलित महिला संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश प्रमुख लोकनाथ बास्तोला, गैसस महासंघका केन्द्रीय सदस्य घनश्याम केसी, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, नेकपा एमालेका उपसचिव बलबहादुर नेपाली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष मोहनसिंह बडुवाल, नेपाल दलित संघका अध्यक्ष भीमबहादुर परियारलगायतले बोल्नुभएको थियो । कर्णालीका १० जिल्लाका दलित अधिकारकर्मी, कार्यपालिका सदस्य, दलित महिला वडा सदस्यहरुलगायत गरी करिव दुई सय जनाको सहभागिता रहेको सम्मेलन मंगलवारसम्म संचालन हुने दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले बताउनुभयो । उहाँका अनुसार दुई दिने सम्मेलनमा स्थानीय तहमा बनेका कानुनहरु, कर्णालीमा दलित महिलाहरुले भोगेका समस्या र आगामी दिनमा गर्नुपर्ने कामलगायतका वारेमा छलफल हुनेछ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap