१५ चैत्र २०८०, बिहीबार

काकाकुल रेक्चाबासी, एक घरलाई दुई ग्रागी पानी

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
काकाकुल रेक्चाबासी, एक घरलाई दुई ग्रागी पानी
0 Shares

सुर्खेत (रेक्चा, चौकुने) ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—५ रेक्चामा खानेपानीको चरम अभाव भएपछि सर्वसाधारणहरु बस्ती नै छोडेर बेसी तथा अन्यत्र बसाईं सरिरहेका छन् । पानीको कुनै मुहान नहुनु र भएको पनि गर्मी नलाग्दै सुकेपछि त्यहाँका बासिन्दाहरु वर्षेनी बसाई सरिरहेका हुन् ।


पाँच वर्ष अघिसम्म सो ठाउँमा करिव ११५ घरधुरी थिए । अहिले ती घरधुरी हटेर ८० मा झरेको छ । घरधुरी घट्नुको मुख्य कारण नै खानेपानीको अभाव हो । स्थानीय बासिन्दा जितन विसीले सो ठाउँमा चार÷पाँच वर्षको अवधिमा ३५ घरधुरी खानेपानीकै कारण बसाई सरेको बताउनुभयो । रेक्चामा रेक्चा, खाडगाडी, हाडकाँध, खेल र ढुंगालोटे बस्ती पर्दछ । यी बस्तीबाट वर्षेनी कुनै परिवार खानेपानीको अभावमा अन्यत्रै बसाई सरिरहेको उहाँले जनाउनुभयो ।
बस्तीमा खानेपानीको जोहो गर्न नजिकैकै १८ वटा इनार छन् । ती मध्ये १२ वटा इनार फागुनमै सुके । अव चार वटा इनारमा पानी छ । त्यो पनि देख्दा दुषित देखिन्छ । ५१ वर्षीय गजराज विसीले इनारको पानी जस्तो देखिएपनि खानैपर्ने बताउनुहुन्छ । पानीका लागि प्रति घर दुई गाग्री पालो लगाइएको छ । कुनैपनि घरले दैनिक दुई गाग्री भन्दा बढी पानी लान पाउँदैन । पानीको पालो रेखदेख गर्न चौकीदार राखिएको छ । सोही चौकीदारले प्रति घर दुई गाग्री पालो लगाउने गरेको विसीले बताउनुभयो । सो वापत चौकीदारलाई एक घर एक पाथी गहुँ दिने गरिन्छ ।
अहिले सो स्थानमा ब्राह्मण र क्षेत्री समुदायको मात्र बसोबास छ । अघिल्लो वर्षसम्म दलितहरु पनि सो स्थानमा बस्ने गरेका थिए । तर एक त पानीको संकट त्यसमा पनि विभेद हुन थालेपछि दलितहरु वर्षेनी सो ठाउँ छोडेर बसाई सरेको बताइन्छ । सो ठाउँमा बसाई सर्नेहरु गुट, बिजौरा, कैलाली तथा पञ्चपुरी तिर जाने गरेका छन् ।


पानीको चौकीदार जगत शाहीले दैनिक विहान ६ बजेदेखि १० बजेसम्म पानी वितरण गर्ने गरेको बताउनुभयो । पुसदेखि असार महिनासम्म चौकीदार राख्ने गरिएको छ । अरु बेला इनार भरिएर पानी धेरै हुने भएपछि चौकीदार राखिँदैन । तर पानीको अभाव हुन थालेपछि पालो लगाउन चौकीदार राख्ने गरिएको छ । विवाह, ब्रतवन्ध तथा मृत्यु संस्कार भएमा केही बढी गाग्री पानी दिने गरिएपनि अरु बेला दैनिक दुई गाग्रीभन्दा बढी पानी वितरण नगर्ने उहाँले बताउनुभयो ।
त्यही दुई गाग्री पानीले खाना पकाउने, खाने, मुख धुने, शौचालयमा प्रयोग गर्नुपर्ने हुन्छ । नुहाउन कपडा धुनका लागि करिव दुई घन्टा टाढाको खोलामा जानुपर्ने सोही स्थानका नन्दा जोशीले बताउनुभयो । उहाँको घरमा नौ जनाको परिवार छ । दुई गाग्री पानीले पुग्दैन । बढी पानी लिनका लागि करिव तीन—चार घन्टा लगाएर रानागैरा भन्ने ठाउँमा जानुपर्दछ । उहाँका अनुसार घरको एक जनालाई पानी ल्याउनै ठीक्क हुनेगर्दछ । पानी लिन जाँदा ओरालो र आउँदा दुई÷तीन घन्टा उकालो हिंड्नुपर्दछ ।
अघिल्लो वर्ष ती इनारहरुलाई व्यवस्थित गर्न कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ४५ लाख बजेट दिएको थियो । त्यो बजेटबाट जीर्ण तथा पुराना इनारहरु मर्मत गर्ने र पानी झिक्नका लागि सहज हुने उपकरणहरु जडान गरिएको वडा नं. ५ का वडा सदस्य समेत रहनुका तपेन्द्र विसीले बताउनुभयो । सोही बजेटबाट बस्तुभाऊलाई पानी खुवाउने इनारसमेत बनाइएको छ । १८ वटा इनार मर्मत गरिएपनि गर्मीको बेला धेरैजसो सुक्ने र एक÷दुई वटाको मात्रै पानी खान पाइने उहाँले जनाउनुभयो ।
पानीको चरम अभाव भएपछि प्रदेश सरकारको लगानीम चौकुने गाउँपालिकाको समन्वयमा एक करोड २६ लाखको लागतमा लिफ्ट खानेपानी आयोजना निर्माण गर्दैछ । तर त्यो आयोजना वत्ती नहुँदा अलपत्र छ । मुहानसम्म विद्यतुको ट्रान्सफर्मर पु¥याउने सडक नहुँदा खानेपानी आयोजना बन्न सकेको छैन । चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले रेक्चामा खानेपानीको अभावमा वर्षेनी सर्वसाधारणहरु बस्ती स्थानान्तरण गर्ने गरेको बताउँदै अहिले लिफ्ट खानेपानी आयोजना निर्माणको क्रममा रहेकोले बस्ती सर्ने क्रम रोकिनेमा आशावादी रहेको जनाउनुभयो । मुहानमा बाटो बनाउनका लागि बजेटको व्यवस्था गर्न पालिका लागेकोले बाटो बनेपछि विद्युतको ट्रान्सफर्मर पु¥याउने र पानी संचालन गर्न सकिने उहाँको भनाइ छ । यद्यपि आयोजना बन्नु अघिको अवस्था भने त्यहाँका बासिन्दाले खानेपानीको चरम अभाव भोग्नुपरेको उपाध्यक्ष बान्तोलाले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap