१६ चैत्र २०८०, शुक्रबार

भारतबाट नक्सा ल्याएर वीरेन्द्रनगरको गुरुयोजना निर्माण

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
भारतबाट नक्सा ल्याएर वीरेन्द्रनगरको गुरुयोजना निर्माण
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको गुरुयोजना भारतबाट नक्सा ल्याएर निर्माण गरिएको पाइएको छ । वीरेन्द्रनगरको गुरुयोजना निर्माणकर्ता माधवभक्त माथेमाले वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकमा नेपालमा नक्सा नभएपछि भारतको कलकत्ताबाट ल्याएर वीरेन्द्रनगरको गुरुयोजना निर्माण गरिएको जनाउनुभएको हो । वीरेन्द्रनगरको गुरुयोजना २०२९ साल माघमा माधवभक्त माथेमाले निर्माण गर्नुभएको हो ।


उहाँले करिव दुई÷तीन वर्ष वीरेन्द्रनगरमा बसेर गुरुयोजना निर्माण गरेको बताउनुभयो । नेपालमा नक्सा नभएपछि भारतको कलकत्तामा पुगेर नक्सा ल्याइ वीरेन्द्रनगर पत्ता लगाउन सफल भएको स्मरण उहाँले गर्नुभयो । वीरेन्द्रनगरलाई पत्ता लगाउनै दुई महिना लागेको उहाँको भनाइ छ । वीरेन्द्रनगरको गुरुयोजना बनाउन निकै सकस भएको भन्दै उहाँले नेपालगन्जबाट किलाकाँटालगायतका सामानहरु ल्याएको बताउनुभयो ।
युनिसेफबाट तरकारीको वीऊ ल्याएर वीरेन्द्रनगरको इत्राम क्षेत्रमा बाँडिएको, वीरेन्द्रनगरका केही सम्पन्न व्यक्तिलाई सामान ओसारपसार गर्ने बयलगाढा बनाउन लगाएको, चिम्नी इट्टाभट्टा स्थापना गर्न लगाएको बताउँदै उहाँले भन्नुभयो, अनि यसरी वीरेन्द्रनगरमा बसेर योजना बनाइएको हो । वीरेन्द्रनगरको गुरुयोजना निर्माण गरेको ५० वर्ष भएको छ ।


गुरुयोजनामा राजमार्गदेखि माथिको क्षेत्रलाई आवास क्षेत्र र दक्षिणतर्फको भागलाई कृषि क्षेत्र निर्धारण गरिएको थियो । अहिले वीरेन्द्रनगरको अवस्था धेरै फेरिएको भन्दै यसलाई उचित व्यवस्थापन गर्न माथेमाले सुझाव दिनुभयो । आफूले त्यतिबेला २५ वर्षको अवधारणा लिएर क्षेत्रीय विकास केन्द्रको रुपमा योजना बनाएको बताउँदै उहाँले सवैभन्दा महत्वपूर्ण सडकलाई जोड दिएको उल्लेख गर्नुभयो । उहाँले उतिबेला नगर निर्माणको काम आवश्यक थियो तर अहिले नगर व्यवस्थापनको आवश्यकता बढेको बताउनुभयो ।
उहाँले वीरेन्द्रनगरभित्रको भूमिलाई सही व्यवस्थापन गर्नसमेत सुझाव दिनुभयो । भूमिको सही व्यवस्थापन भएपछि आवासको व्यवस्थापन गर्नु, बसोबासको अवस्थालाई मिलाउन र नगरेको योजनालाई निरन्तरता दिनपनि उहाँले सुझाउनुभयो । यसका साथै नगरले अव प्रदेश र संघको आश गर्ने भन्दा पनि आफै सक्षम हुनतर्फ र वीरेन्द्रनगरको आफ्नै पहिचान बढाउन पनि लाग्नुपर्ने सुझाव उहाँको छ । साथै वीरेन्द्रनगर भूकम्पको जोखिममा रहेको हुँदा यहाँ भवन निर्माण मापदण्डलाई कडाई गर्न जोड दिनुभयो ।
२५ वर्षको लागि सोचेर निर्माण गरिएको गुरुयोजनालाई ५० वर्षमा अव केही पुनः परिमार्जन गर्न पनि सकिने माथेमाले बताउनुभयो । गुरुयोजना अनुसार नगर बनाउनेलगायतका कामहरु गर्ने अधिकार नगरपालिका नै भएकोले त्यसतर्फ लाग्नसमेत उहाँले आग्रह गर्नुभयो ।
उक्त गुरुयोजना निर्माणकर्ताको उपस्थितिमा सुर्खेतका प्रवुद्ध व्यक्तित्वहरुले माथेमाले निर्माण गरेको गुरुयोजनालाई धन्यवाद दिदैं अव आगामी दिनमा गर्नुपर्ने कामहरुको सुझाव दिएका छन् । सुर्खेतका प्रतिनिधिसभा सदस्य हृदयराम थानीले विगतमा काम गर्दा माथेमा योजना अनुसार नै काम गरेको बताउँदै अहिले केही तलमाथि गर्न खोजिएको जनाउनुभयो । उहाँले विगतमा १२ वटा वडा रहेको नगरपालिकाको गुरुयोजना अहिले १६ वटा वडा भएकोले विस्तारिक नगरको योजना पुनःनिर्माण गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।
कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले विस्तारित नगरको योजना पनि माधवभक्त माथेमाबाटै गराउन आग्रह गर्नुभयो । उहाँले अव नयाँ सोच, नयाँ विकासको अवधारणाबाट नयाँ योजना बनाउनुपर्नेमा जोड दिनुभयो । वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान प्रमुख देवकुमार सुवेदीले नगरको उत्तरी जलाधार क्षेत्र र दक्षिणको कृषि क्षेत्र जोखिमपूर्ण भएकोले बस्ती विकास गर्दा भवन आचारसंहिता मापदण्ड पूर्ण पालना गर्नुपर्ने बताउनुभयोभने सुर्खेत उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष नारायण कोइरालाले नगरका सडकहरुको मापदण्ड के कति हो भनी प्रश्न गर्नुभयो ।


वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरको योजना बनाएर व्यवस्थित बनाउन सहयोग गरेकोमा माथेमालाई धन्यवाद दिनुभयो । उहाँले गुरुयोजना अनुसार नै नगरपालिकाले काम गरिरहेको दावी गर्दै योजना नभएको ठाउँमा भू उपयोग नीति ल्याएर काम गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, नगर विकास समितिका पूर्व अध्यक्ष जीतबहादुर राना, वीरेन्द्रनगर नगरपालिका पूर्व प्रमुख बालाराम शर्मा, पूर्व नगर उपप्रमुख शिवप्रसाद उपाध्याय, नागरिक समाजका पीताम्बर ढकाल, काँग्रेसका निवर्तमान सभापति कमलराज रेग्मी, एमाले अध्यक्ष अमृत विसी, सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीलगायतले गुरुयोजना कार्यान्वयन हुन नसकेको, कृषियोग्य खेतीहरु मासिँदै जान थालेको बताउनुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap