८ बैशाख २०८१, शनिबार

विद्यार्थीहरु बरण्डामा पढ्दै, कार्यालय बाल क्लवको कोठामा

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
विद्यार्थीहरु बरण्डामा पढ्दै, कार्यालय बाल क्लवको कोठामा
0 Shares

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारकै वीचमा रहेको एउटा प्राथमिक विद्यालयको अवस्था नाजुक छ । वीरेन्द्रनगर नगरपालिका—६ को प्रगतिटोलको जुनतारा प्राविको भवन नहुँदा अवस्था नाजुक भएको हो ।

वीरेन्द्रनगर—६ को प्रगतिटोलको जुनतारा प्राविमा कोठा अभावपछि बरण्डामा पढ्दै कक्षा ३ का विद्यार्थीहरु ।

भवन अभावमा विद्यार्थीहरु बरण्डामा बसेर पढ्छन्भने कार्यालय कोठा बाल क्लव तथा आमा समूहको कोठामा रहेको छ । कक्षा ५ सम्मको स्वीकृति भएपनि कोठा अभावमा कक्षा ४ र ५ का विद्यार्थीहरुलाई अन्य विद्यालयमा पठाइएको छ । अहिले त्यहाँ कक्षा ३ सम्म मात्र पढाई हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक जुमनादेवी गौलीले १५० जना विद्यार्थीहरु अध्ययनरत विद्यालयमा सवैभन्दा ठूलो समस्या कक्षा कोठाको भएको बताउनुभयो । विद्यालयमा अहिले तीन वटा कोठामात्र छन् ।
कक्षा ३ लाई बरण्डामा राखेर पढाउने गरिएको छ । साँघुरो बरण्डामा कक्षा ३ मा २५ जना विद्यार्थी पढ्ने गरेका छन् । विद्यालयको कार्यालय भने अर्को टहरोमा छ । त्यो टहरोमा कार्यालय, बाल क्लवको कार्यालय र आमा समूहको कार्यालय रहेको छ । विद्यालयका प्रअ गौलीले विद्यार्थीहरु बरण्डामा पढ्ने र अफिस भने बाल क्लवको कोठालाई बनाएको बताउनुभयो । तीन वटा कोठा पनि अघिल्लो वर्ष बनाइएको हो । त्यहाँ शिशु कक्षा, कक्षा १ र कक्षा २ लाई पढाउने गरिएको छभने कक्षा ३ लाई बरण्डामा राखेर पढाउने गरिएको उहाँले जनाउनुभयो ।
सो विद्यालयमा दलित तथा त्यस वरपर ज्याला मजदुरी गर्ने अभिभावकहरुका छोराछोरीहरु पढ्ने गर्दछन् । प्रअ गौलीले गरीव, विपन्न र मजदुरका छोराछोरीहरु पढ्ने यस विद्यालय सदरमुकामभित्रै पनि ओझेलमा परेको बताउनुभयो । नजिकै निजी विद्यालय तथा मोन्टेश्वरीहरु भएपनि उक्त विद्यालयमा आउने बालबालिकाको संख्या धेरै रहेको उहाँले जनाउनुभयो । सो विद्यालयमा अहिले बालविकासमा ५२ जना, कक्षा १ मा ४८ जना, कक्षा २ मा ३५ जना र कक्षा ३ मा २५ जना विद्यार्थी अध्ययनरत छन् ।
सेविकादेखि प्रअसम्म सवै महिला
उक्त विद्यालयमा सेविकादेखि प्रधानाध्यापक गरी आठ जना कार्यरत छन् । उनीहरु सवै महिला हुन् । एक जना स्थायी, दुई जना बालविकास सहजकर्ता, तीन जना राहत, एक जना सहयोगी र एक जना सेविका सवै महिला भएको प्रअ गौलीले बताउनुभयो । सवै महिला हुँदा बालबालिकालाई मायालु वातावरणमा पढाउन सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो ।
भवन शिलान्यास
यसैवीच सो विद्यालयको दुई कोठे भवनको शिलान्यास गरिएको छ । विहीवार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले दुई कोठे भवनको शिलान्यास गर्नुभएको हो । सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालयको २० लाखको लागतमा दुई कोठे भवन बनाउन लागिएको छ । सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले बालबालिकाहरुको पढाई सुधार ल्याउन सुविधासम्पन्न भवन आवश्यक पर्ने हुँदा त्यसका लागि दुई कोठे भवन बनाउन २० लाख सहयोग गरिएको बताउनुभयो । उहाँले सो विद्यालयको भौतिक सुधार गर्न थप अन्य सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

नयाँ दुइ काेठे भवनकाे शिलान्यास गरिँदै ।

वडा नं. ६ का वडाअध्यक्ष जनकबहादुर रावलले विगतमा पनि वडाले सहयोग गर्दै आएको र यसपटक पनि विद्यालयको सेविकाको पारिश्रमिकका लागि एक लाख बजेट बिनियोजन भएको बताउनुभयो । पूर्व वडाअध्यक्ष मोतीप्रसाद कँडेलले आगामी जेठभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । विद्यालयलाई समाजसेवा हरिशचन्द्र चलाउने ५१ हजारको अक्षयकोषको स्थापना गर्नुभएको छभने यसै महिनादेखि एक छात्र र एक छात्रालाई स्टेशनरीका लागि मासिक एक हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap