१६ चैत्र २०८०, शुक्रबार

काँग्रेस सुर्खेतकाे इतर पक्षद्वारा ४० प्रतिशत हिस्सा माग

कर्णाली प्रदेश मुख्य समाचार समाचार
काँग्रेस सुर्खेतकाे इतर पक्षद्वारा ४० प्रतिशत हिस्सा माग
0 Shares

सुर्खेत ।
नेपाली काँग्रेस सुर्खेतको संस्थापन इतर पक्ष (शेखर कोइराला समूह)ले आफूहरुलाई ४० प्रतिशत हिस्साको माग गर्ने निष्कर्ष निकालेको छ । शुक्रवार काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलामा संस्थापन पक्षले एकलौटी गर्न खोजेपछि अव ४० प्रतिशत हिस्सा माग गर्ने निष्कर्ष निकालेको हो ।

पार्टीभित्र अब भागवण्डाको राजनीति नगर्ने भनिएपनि संस्थापन इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको हुँदा अव पार्टीभित्र ६०—४० को भागवण्डा हुनुपर्ने समूहको निष्कर्ष छ । पार्टीमा मनोनित गर्ने सवालमा होस् वा भूमिका दिने सवालमा संस्थापन इतर समूहलाई भूमिका विहीन बनाइएको र आगामी स्थानीय तहको निर्वाचनमा पनि यस्तै सम्भावना हुनसक्ने जोखिम बढेकोले अव आफूहरुलाई ४० प्रतिशतको हिस्सा दिनुपर्ने युवा नेता नारायण कोइरालाले बताउनुभयो । आजसम्म आफूहरुले पर्खेर बसेको भन्दै उहाँले संस्थापन पक्षको गतिविधिले इतर पक्षलाई बेवास्ता गरेको जनाउनुभयो । उहाँले पार्टी एक्लै चुनावमा जान सक्षम भएपनि केन्द्रीय नेतृत्वले गठवन्धन गर्ने निर्णय गर्नुले कार्यकर्तामा निरासा छाएको बताउनुभयो ।
निवर्तमान सभापति कमलराज रेग्मीले पार्टी नेतृत्वले संस्थापन इतर पक्षलाई पनि समेट्नुपर्नेमा त्यो गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा संस्थापन पक्षलाई पनि बाइपास गर्न सक्ने जोखिम भएकोले त्यसो नगर्न नेतृत्वलाई चेतावानी दिनुभयो । पार्टीभित्र फरक मत भएपनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।
काँग्रेसका निवर्तमान सचिव भूपेन्द्र खत्रीले केन्द्रीय नेताकै कारण पार्टी कमजोर बन्न लागेको बताउनुभयो । उहाँले सिद्धान्तै नमिल्ने पार्टीसँग काँग्रेसले गठवन्धन गर्नु दुर्भाग्य भएको टिप्पणी गर्नुभयो । पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले काँग्रेस कमजोर बनेको उहाँको भनाइ छ ।
काँग्रेस प्रदेश कार्यसमिति सदस्य शम्भू पन्तले नेताहरुले पार्टी भन्दा पदलाई जोड दिएकोले गठवन्धन गर्न खोजेको बताउनुभयो । उहाँले गठवन्धन गर्न आवश्यकै थिएन भन्दै गठवन्धनका नाममा पार्टी सिध्याउने खेल भएको आरोप लगाउनुभयो । पार्टीभित्र सवैलाई न्यायोचित भूमिका र सहअस्तित्व बोध गर्दै आगामी स्थानीय तहलगायतका निर्वाचनमा क्षमताका आधारमा पार्टीले भूमिका दिनुपर्ने सुझाव उहाँको छ । साथै फरक मतलाई पनि सम्मान गर्न उहाँले आग्रह गर्नुभयो । सुर्खेत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारी, पार्टीका पूर्व उपसभापति टेकबहादुर सिंह, पूर्व कोषाध्यक्ष अनन्त पौडेललगायतले पार्टीको वर्तमान नेतृत्वले इतर पक्षलाई बेवास्ता गर्ने र भूमिका नदिए सशक्त भएर नेतृत्वका विरुद्ध लाग्ने चेतावनी दिनुभयो । उहाँहरुले फरक मत भएपनि सम्मान गर्नुपर्ने सुझाव दिदै पार्टीका हरेक निकायमा अब ४० प्रतिशत हिस्सा दिनुपर्ने माग गर्नुभएको छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap