१३ बैशाख २०८१, बिहीबार

अन्ततः सुर्खेत विमानस्थल विस्तार कार्य खारेज

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
अन्ततः सुर्खेत विमानस्थल विस्तार कार्य खारेज
0 Shares

सुर्खेत ।
प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अन्ततः खारेज भएको छ । प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीय प्रभावितहरुवीच गत आइतवार भएको सर्वपक्षीय छलफलमा सुर्खेत विमानस्थलको विस्तार प्रक्रिया सधैंका लागि खारेज गर्ने सहमति भएको हो ।

हाल एक हजार २५५ मिटर लम्बाइ रहेको सुर्खेत विमानस्थलको धावनमार्ग तीन सय मीटर थप गर्ने प्रयास भइरहेको थियो । धावनमार्ग छोटो हुँदा ठूला विमानस्थलहरु आउन नसक्दा भाडा महँगो भएको र हवाई यातायात अनियमित भएको भन्दै तीन सय मीटर थप गरी धावनमार्ग एक हजार ५५५ मिटर बनाउने प्रक्रिया अगाडि बढेको थियो । धावनमार्ग विस्तार गर्दा विद्यालयसहित सयौं घरहरु हटाउनुपर्ने र मुआव्जामा मात्रै अर्बौं लाग्ने भएपछि अव धावनमार्ग विस्तारको प्रक्रिया सधैंका लागि खारेज गर्ने निर्णय भएको विमानस्थल प्रभावित नागरिक सरोकार समितिका संयोजक टिकाराम आचार्यले बताउनुभयो ।
उहाँले सुर्खेत विमानस्थल विस्तार प्रक्रिया आर्थिक र प्राविधिक रुपले दीर्घकालीन नदेखिएकोले अब विस्तारको काम सधैंका लागि खारेज गर्ने सहमति भएको जानकारी दिनुभयो । बरु प्राविधिक रुपले उपयुक्त स्थल खोज्नका लागि सवैको पहल आवश्यक रहेको उहाँको भनाइ छ ।
नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको उत्तरतर्फ १२.४३ विगाह जमिन अधिग्रहण गरेर विमानस्थल विस्तार गर्ने योजना ल्याएको थियो । ठूला जहाज आउन नसकेपछि विमानस्थल विस्तार गर्ने प्रक्रिया अगाडि बढाइएको थियो । विमानस्थल विस्तार भएको खण्डमा जग्गा अधिग्रहण गर्दा करिब दुई सय घरहरु प्रभावित हुनेथियो ।
विमानस्थल प्रभावित नागरिक सरोकार समितिका संयोजक टिकाराम आचार्यले विमानस्थल विस्तार, प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा र विद्यालय तथा सामुदायिक भवन निर्माणका लागि साढे नौ अर्ब रूपियाँ खर्च हुने भन्दै विस्तार प्रक्रिया अत्यधिक महँगो हुने भएकोले सवैको सहमतिमा विस्तारको काम खारेज गर्ने सहमति भएको बताउनुभयो ।
२०२३ सालमा निर्माण गरिएको विमानस्थल यसअघि पटक–पटक विस्तार भएको छ । सात वर्ष अघि मात्रै विस्तार गरेर २५० मीटर विस्तार गरिएको थियो । धावनमार्ग साँघुरो हुँदा ठूला जहाजहरुले सेवा नदिँदा कर्णालीवासीले महंगो शुल्कमा काठमाडौं–सुर्खेत आउजाउ गर्नु परिरहेको छ ।
आइतवारको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अव प्रादेशिक विमानस्थलका लागि नयाँ विकल्प खोज्ने बताउनुभएको छ । उहाँले कर्णालीको राजधानी र संघीय राजधानीवीच सिधा सम्पर्कका लागि यहाँ प्रादेशिक विमानस्थलको आवश्यकता भएकोले अव नयाँ विकल्प खोज्न सुरु गर्नुपर्ने सुझाव दिनुभयो । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार प्रक्रिया खारेज गर्न सवै सहमति भएकोले नयाँ स्थानको खोजी गर्न सवै लाग्नुपर्ने उहाँको भनाइ छ ।

विमानस्थल विस्तारको प्रक्रिया खारेज भएपछि प्रभावित क्षेत्रमा जग्गा कारोबार गर्न पाइने भएको छ । एक बर्षअघि सरकारले लगत संकलनका लागि भन्दै विमानस्थल फिनिसिङ लाइनदेखि उत्तर तर्फ छ सय मिटर, दक्षिण तर्फ चार सय मिटर, पूर्व तर्फ २५ मिटर र पश्चिमतर्फ दुई सय मिटर क्षेत्रफलमा लगत कारोबार रोक्का गरेको थियो । अघिल्लो आर्थिक बर्षमा विमानस्थ विस्तारका लागि केन्द्र सरकारले ५१ लाख र प्रदेश सरकारले ५० लाख बजेट छुट्याएका थिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap