१६ चैत्र २०८०, शुक्रबार

पुलले जोड्दैछ कर्णाली र सुदूरपश्चिम प्रदेश

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
पुलले जोड्दैछ कर्णाली र सुदूरपश्चिम प्रदेश
0 Shares

सुर्खेत ।

कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिको दुई वटा पुलको निर्माण कार्य धमाधम भइरहेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—१० घाटगाउँको चिप्लेघाट र पञ्चपुरी नगरपालिका—११ को कुइनेघाटदेखि कैलालीको मोहन्याल गाउँपालिका—७ सँग जोड्ने दुई वटा पुलको काम अहिले धमाधम भइरहेको हो ।

५५० मिटर लामो चिप्लेघाटको पुलको काम ७० प्रतिशत सकिएको छभने ३५० मिटर लामो कुइनेघाटको पुल करिव ९० प्रतिशत पुगेको छ । यी दुवै पुल यसै आर्थिक वर्षको असार मसान्तभित्र सक्ने लक्ष्य लिइएको छभने दुवै पुल अनक÷लुम्बिनी जेभीले निर्माण जिम्मा लिएको छ । जेभीका साइट इन्चार्ज दिनेशकुमार श्रेष्ठले तोकिएको अवधिभित्र पुल निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको बताउनुभयो । पुल निर्माण सकिए कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशवीचको सम्वन्ध सिधा जोडिनेछ भने दुरी पनि घट्ने छ । अहिले सुदूरपश्चिम प्रदेश जानका लागि सुर्खेतदेखि कोहलपुर हुँदै कर्णाली चिसापानी पुग्नुपर्दछ । पुल निर्माण भए चौकुनेदेखि चिसापानीको दुरी बढीमा ११ किमी हुनेछ ।
कुइनेघाट पुल २०७१÷०७२ मा सम्झौता भइ २०७६ मा सक्नुपर्ने थियो । साइट इन्चार्ज श्रेष्ठले पुलको डिजाइन पास हुनै दुई वर्ष लागेको र कोरोनाका कारण काममा पनि केही ढिलाइ भएको बताउनुभयो । तर अहिले काम धमाधम भइरहेकोले आगामी असारभित्र निर्माण सक्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । सो पुल ३२ करोडको लागतमा निर्माण भइरहेको छ ।
यस्तै चिप्लेघाटको पुल निर्माणको सम्झौता २०७४ मा भएको थियो । २०७८ मा सक्ने लक्ष्य रहेको सो पुलको लागत ६० करोड रहेको साइट इन्चार्ज श्रेष्ठले बताउनुभयो । उहाँले दुवै पुलको काम तीव्र गतिमा भइरहेको हुँदा तोकिएको अवधिभित्र निर्माण सम्पन्न गरी दुई प्रदेश जोडिने जिकिर गर्नुभयो । अहिले ती ठाउँ पुग्न कि झोलुँगे पुल तर्नुपर्दछ कि डुँगाबाट जानुपर्दछ ।

दुवै पुल निर्माण भए दुवै प्रदेशको सिधा सम्पर्क बढ्नुका साथै व्यापार र विकासको ढोका खोल्नेमा त्यस क्षेत्रका बासिन्दाहरु आशावादी छन् । सुर्खेतको चौकुने गाउँपालिका—१० घाटगाउँका रंगे कामी चिप्लेघाटको पुल बनेपछि कैलाली चिसापानी जान निकै छोटो हुने बताउनुभयो । उहाँले सुर्खेत सदरमुकाम वीरेन्द्रनगर आएर सामान खरिद गर्नुभन्दा कैलालीको कर्णाली चिसापानी पुग्न छोटो हुने उल्लेख गर्नुभयो । असारसम्म पुल बनिसकेपछि कैलाली र सुर्खेतका बासिन्दालाई एक अर्को जिल्लामा आउजाउ गर्न सहज हुने उहाँको भनाइ छ ।
कैलालीको मोहन्याल गाउँपालिका—७ पारि कुइनेका कलौरा माझीलाई पनि कुइने घाटको पुल बनिसकेपछि आउजाउ गर्न सहज हुने जनाउनुहुन्छ । उहाँले पहिले झोलुँगे पुल र त्यसअघि डुँगाबाट आउजाउ गरेको स्मरण गर्दै अव भने पुलले दुरी छोटो बनाउने बताउनुभयो । यता र उताका बासिन्दालाई कुइनेघाट र चिप्लेघाटको पुलले धेरै सजिलो बनाउने र विकास निर्माणको काम गर्न पनि सजिलो बनाउने उहाँको भनाइ छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ती दुवै पुलको निरीक्षण गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने विकासको ढोका भएको बताउनुभयो । उहाँले पुल निर्माणको गति बढिरहेको हुँदा तोकिएको समयभित्रै बन्न सके कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीसँग छोटो र सिधा सम्पर्क बढ्ने उल्लेख गर्नुभयो । उक्त पुलबाट सुर्खेतको पश्चिम क्षेत्रका साथै अछाम, दैलेख, कालीकोटलगायतका बासिन्दाहरु कैलाली चिसापानी हुँदै भारत जान पनि छोटो हुनेछ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap